इतिहास रच्दै विमल युरोपियन क्लब एन्डरलेक्टसँग अनुबन्धित

Share:

काठमाडौँ, २५ जेठ / नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तिमगरले बेल्जियमको क्लब एन्डरलेकमा एक वर्षको व्यावसायिक अनुबन्धन पाएका छन्। दुई महिना एन्डरलेकमा विशेष प्रशिक्षण तथा थुपैं अभ्यास खेल खेलेर गतसाता नेपाल फर्किएका विमललाई आइतबार उनका एजेन्ट रेने कोस्टरले टेलिफोनबाट अनुबन्धनबारे जानकारी गराएका थिए। एन्फाको विज्ञप्तीमा भनिएको छ, विमललाई पुनः २६ जुलाई, २०१४ देखि ३१ मे २०१५ सम्म आफ्नो एकेडेमीमा रही प्रशिक्षण गर्न आमन्त्रण गरेको छ ।’

अनुबन्धनबारे जानकारी गराए पनि पारिश्रमिक र अन्य सुविधाबारे भने विस्तृतमा कुराकानी भइनसकेको विमलले बताए। उनले भने, ‘मलाई अहिले पारिश्रमिकभन्दा पनि युरोपमा खेल्ने मौका ठूलो हो । त्यसैले म अनुबन्धन पाएकोमै खुसी छु । पारिश्रमिक र सुविधा पक्कै पनि युरोपको क्लबले राम्रै देला ।’

यसैसाता नेपाल खेलकुद पत्रकार मञ्चद्धारा पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी पुरस्कार पाएका विमल नवलपरासीका हुन्। गत भदौमा काठमाडौंमा सम्पन्न आठौं साफ च्याम्पियनसिप दौरान विमललाई बंगलादेशका तत्कालिन सहायक प्रशिक्षक डच नागरिक कोस्टरले पहिचान गरी एन्डरलेकमा प्रशिक्षण तथा ट्रायलको अवसर मिलाएका थिए। एन्डरलेकअघि उनले कोस्टरकै पहलमा नेदरल्यान्ड्सको एफसी ट्वेन्टेमा दुई साता विशेष प्रशिक्षण तथा ट्रायल दिएर फर्केका थिए । एन्डरलेकको युवा एकेडेमीअन्तर्गत यु–१७ टोलीका लागि अनुबन्धित विमलले ट्रायलदौरान युरोपकै प्रतिष्ठित फ्युचर कपमा एक गोल गर्नुका साथै अर्को गोललाई अवसर मिलाएर एन्डरलेकको सेमिफाइनल यात्रामा आधार बनाएका थिए । स्वेदश फर्किएपछि उनले अब युरोपमा खेल्न सक्ने विश्वास व्यक्त गरेका थिए । युरोपका ठूला क्लबहरुले भविष्यको टोली तयार गर्ने र युवा खेलाडीलाई एक्सपोजर दिने उदेश्यले गर्ने प्रतियोगितामा म्यानचेस्टर युनाइटेड, लिभरपुल, एसी मिलान, रियाल मड्रिड, बायर्न म्युनिख, बार्सिलोनालगायतका सबै महारथिको सहभागिता रहन्छ ।

‘मलाई कोस्टरले फोन गरेर क्लबले एक वर्षको सम्झौता गर्ने निर्णय गरेको जानकारी गराउनुभएको छ,’ विमलले भने, ‘मैले त्यहाँ दुई महिने अभ्यासमा राम्रो गरेको थिएँ । मेरो प्रदर्शनबाट क्लबका प्रशिक्षक र पदाधिकारी सबै खुसी थिए । मलाई नेपाल फर्कने बेला पनि उनीहरुले स्थायी सम्झौता गर्ने संकेत गरेका थिए ।’

विमलले आफ्नो भिसा भने तीन/तीन महिनामा रिन्यू गर्नु पर्नेछ । त्यसका लागि नेपाल आउने र र्फकने हवाई भाडा क्लबले व्यहोर्ने छ । साथै नेपाली राष्ट्रिय टिमलाई आवश्यक पर्दा महत्वपूर्ण खेलहरुको लागि उपलव्ध गराउने एन्फाले जनाएको छ । एन्डरलेक्टमा रहँदा विमलले एकेडेमीमा प्रशिक्षण लिनुका साथै मैत्रिपूर्ण तथा जुलाईमा हुने अन्तराष्ट्रिय युवा प्रतियोगितामा सहभागिता जनाउनेछन् । फिफाको खेलाडी ट्र्रान्फर रेगुलेशनका अनुसार १८ वर्षभन्दा कम उमेरका खेलाडीले अफिसियल खेल भन्ने खेल्न पाउँदैनन् ।

जुलाई २० मा बेल्जियम जाने योजनामा रहेका विमलले एन्डरलेकसँगको सम्बन्धले नेपाली फुटबललाई अवसरको नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे । भने, ‘च्याम्पियन्स लिग खेल्ने क्लबबाट खेल्न पाए धेरै अनुभव हुन्छ र धेरै सिक्न पाइन्छ। यसले नेपाली खेलाडीमा पनि क्षमता छ भन्ने प्रमाणित गर्छ। अरु धेरै खेलाडीका लागि पनि अवसरको ढोका खोल्छ।’ कोस्टरप्रति अनुग्रहित नेपाली यु–१६ राष्ट्रिय टोलीका कप्तानले अगाडि भने, ‘उहाँले मेरो करियरलाई नयाँ उचाई दिन ठूलो योगदान गर्नुभएको छ। म उहाँप्रति आभार प्रकट गर्छु। यसैगरी यो अवसरमा म मेरो परिवार, एन्फा एकेडेमी, यहाँका प्रशिक्षकहरु, मेरो राष्ट्रिय टिमका दाईहरु, यु–१६ टोलीका साथीहरु, एन्फा र सम्पूर्ण समर्थकलाई धन्यवाद दिन चाहन्छु। एन्डरलेकमा गएर म अझै राम्रो गर्ने प्रयास गर्नेछु। ममाथि क्लब, प्रशिक्षक र समर्थकले गरेको विश्वास खेर जान दिन्न ।’

उमेर समूहमा उत्कृष्ट प्रदर्शनसँगै विमलले १५ वर्षको उमेरमा पाकिस्तानविरुद्धको मैत्रिपूर्ण खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । नेपाल १-० गोलले पछि परेको अवस्थामा विमलले गोल गर्दै घरेलु टोलीलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

नेपाल र एन्डरलेक्टबीच मैत्रिपूर्ण फुटबल:

यसैबीच, नेपाल र एन्डरलेक्टको यू १६ टोलीबीच मैत्रिपूर्ण फुटबल हुने एन्फाले जनाएको छ । आगामी सेप्टेम्बरमा थाइल्याण्डको वैंककमा हुने एएफसी यू १६ च्याम्पियनसिपको तयारीका क्रममा नेपाली टोलीले बेल्जियममा ट्रेनिङ गर्नेछ । एन्डरलेक्टले १५ दिने ट्रेनिङ क्याम्पका लागि आमन्त्रण गरेको र उक्त अवधिमा मैत्रिपूर्ण खेल हुने एन्फाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: