माधव पनेरु, पोखरा, २७ जेठ/ एकीकृत नेकपा माओवादी भित्रको विवाद तल्ला कमिटिहरुमा समेत देखिन थालेको छ । जिल्ला सम्मेलनबाट आएका नेताले अन्य जिम्मेवार नेताहरुमाथि नराम्रो व्यवहार गरेका भन्दै असन्तुष्ट बाबुराम भट्टराई पक्षको बैग्लै बैठक बसेको छ ।
कास्कीका नवनिर्वाचित अध्यक्ष दिपक कोईरालाले आफ्नै तेताहरुलाई पनि अन्य पार्टीका मान्छे जस्तो व्यवहार गरेको भन्दै पूर्व सहइन्चार्ज रामजी बराल, लालमोहन तिवारी, गंगा पोखरेल लगायत २० जना भन्दा बढी नेता कार्यकर्ताहरुले अध्यक्षको कार्यशैलीको तिव्र विरोध गरेका छन् ।
कास्कीमा ३८ सदस्यीय रहेको जिल्ला कमिटिका अधिकांश सदस्यहरुले अध्यक्षले बोलाएको बैठक बहिस्कार गरेका छन् । एमाओवादीको कास्कीमा अध्यक्ष प्रचण्ड पक्षको वर्चस्व रहेपनि उनी पक्षकै नेताहरु समेत विरोधमा उत्रिएका छन् ।
बैठक बोलाउदा पनि सचिवको सट्टा तल्ला स्तरका कार्यकर्तालाई खबर गर्न लगाएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । जिल्लाका नेता रामजी बरालले अध्यक्षलाई नै टेलिफोन मार्फत हप्काएका थिए ।
