सामुदायिक विद्यालयको नतिजा खस्कनुमा सबै पक्षको कमजोरी

Share:

रञ्जन अधिकारी, पोखरा ४ असार/ मुलुकभर २०७० को एसएलसी परीक्षामा नौ हजार एक सय ८७ विद्यालय सहभागी भएकामा छ हजार ४५ सामुदायिक विद्यालय थिए । नतिजा शुन्य रहेका तीन सय ३१ विद्यालयमध्ये दुई सय ८१ सामुदायिक विद्यालय छन् । पश्चिमाञ्चलका २५ मध्ये कास्कीका दुई सामुदायिक विद्यालय निल भए । मुलुकभर सामुदायिक विद्यालयतर्फका करीब २८ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । जसमध्ये कास्कीमा सामुदायिक विद्यालय तर्फका ४३.९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । चार हजार पाँच सय १८ विद्यार्थी सहभागी भएकामा एक हजार नौ सय ८६ जना मात्रै उत्तीर्ण भएका हुन् । नतिजाले नै स्पष्ट देखाउँछ, नीजि भन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरु बढी अनुत्तीर्ण छन् र उत्तीर्ण भएकामध्ये पनि अधिकांशको नतिजा सन्तोषजनक छैन ।

यसरी सामुदायिक विद्यालयको नतिजा खस्कनुमा शिक्षक, विद्यार्थी, संचालक पक्ष सहित अभिभावक सबै पक्षको कमजोरी रहेकोमा जोड दिईएको छ । जनप्रिय बहुमुखी क्याम्पस, पोखराले कास्कीका सामुदायिक मावि तथा उच्च माविका प्राचार्य, प्रशासन प्रमुखको सहभागितामा बुधबार आयोजना गरेको गुणस्तरीय शिक्षाका लागि विद्यालय, शिक्षकले गर्नुपर्ने प्रयास विषयक अन्र्तक्रियामा सहभागीहरुले सबै पक्ष जिम्मेवार भएर अध्ययन अध्यापन गरेमा सामुदायिक विद्यालयको नतिजामा पनि सुधार आउने बताए ।

क्वालिटी एजुकेशन भन्दै गाउँगाउँका विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने ट्रेन्ड नै चलेको भन्दै उनीहरुले पर्याप्त स्रोतसाधन, विद्यार्थीको रुची, आवश्यक जानकारी विना अंग्रेजी माध्यममा पठनपाठन गरेपनि शैक्षिक स्तरमा सुधार नआउने धारणा राखे । ‘यसबाट झन् नेपाली भाषा खस्किएको छ । अंग्रेजीमा राम्रो त गर्न सकिएकै छैन ।’ उनीहरुले भने । बालमैत्री वातावरण मात्र नभई शिक्षक मैत्री वातावरण समेत हुनुपर्नेमा जोड दिँदै वक्ताहरुले व्यवस्थापन, शिक्षक र विद्यार्थीबीच तालमेल मिलेन भने जागिर खानेले जागिर मात्र खाएर बस्ने उल्लेख गरे ।

‘गाउँतिर विद्यार्थी संख्या घट्दो छ । गरीबका छोराछोरी पढ्ने शहरकै सरकारी विद्यालयहरुमा पनि शिक्षकहरु पढाउँदैनन् ।’ उनिहरुको भनाई थियो ‘जनप्रिय क्याम्पसमा पढाउनेहरु गरीबका छोराछोरी पढ्ने पिएन क्याम्पसमा किन पढाउँदैनन् ? बालमन्दिरमा पढाउनेहरु कन्या माविमा किन पढाउने जाँगर देखाउँदैनन् ? दोष हाम्रो पनि हो ।’ यसतर्फ ध्यान नदिए सामुदायिक विद्यालयको हालत खत्तम नै हुने चिन्ता व्यक्त गर्दै उनीहरुले ६० वर्ष उमेर कटेका शिक्षकहरुलाई स्वतः अवकाश दिने नीति राज्यले ल्याउनुपर्नेमा पनि ध्यानाकर्षण गराए । चित्राकुमारी गुरुङ, शंकर ज्ञवाली, नारायणप्रसाद पौडेल, श्रीराम तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिना, दामोदर बास्तोला, प्रेमप्रसाद पराजुली, दामोदर तिमिल्सिना रेशम गिरी लगायतले आफ्ना धारणा राखेका हुन् ।

जनप्रिय बहुमुखी क्याम्पसले गत २०६९ फागुन १२ गते विश्वबैंकको सहयोगमा विश्व विद्यालय अनुदान आयोग अन्तर्गत गुणमापन तथा प्रत्यायन महाशाबाट क्यूएए सिर्टिफिकेट प्राप्त गरेकोमा सो सर्टिफिकेट प्राप्त गर्नका लागि आवश्यक मापदण्ड बारेमा पनि कार्यक्रममा जानकारी गराईएको थियो । स्रोत व्यक्ति उपप्राध्यापक देवीलाल शर्मा तिमिल्सिनाले सर्टिफिकेट पाउनका लागि संस्था संचालनको नियम, पाठ्यक्रम, शिक्षण विधि, अनुसन्धान तथा परामर्श, भौतिक पूर्वाधार, विद्यार्थीप्रतिको दृष्टिकोण, सूचना प्रवाह, सार्वजनिक सूचना लगायतका विषयमा विद्यालयले ध्यान दिनुपर्ने जानकारी गराए । नेपालमा १२ विद्यालयले यो सर्टिफिकेट प्राप्त गरेकोमा पश्चिमाञ्चलका तीन मध्ये कास्कीबाट जनप्रिय बहुमुखी क्याम्पस मात्रै हो ।

यस्तै, विभिन्न विद्यालयका ३६ जना विद्यालय प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा अर्का स्रोत व्यक्ति उपप्राध्यापक पितृराज बास्तोलाले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि सम्बन्धमा सहजीकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जनप्रिय बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष दामोदर चालिसेले विद्यालयका संचालक समितिका पदाधिकारीहरु नै छोराछोरीलाई आफ्नो विद्यालयमा नपढाउनु दुःखद् पक्ष रहेको भन्दै गुणस्तरीय शिक्षाका लागि सबैमा ईच्छाशक्ति हुनुपर्ने बताए । ‘संचालक हुन खोज्छन् तर आफ्नै विद्यालयको पढाईबाट आफै सन्तुष्ट नभएर छोराछोरी पढाउँदैनन् ।’ उनले प्रश्न गरे –‘अरुका छोराछोरीलाई दिने शिक्षा सम्बन्धमा उनीहरु कति उत्तरदायि रहलान् ?’ सबै पक्ष समन्वय गर्दै अघि बढेर सामुदायिक विद्यालयमा पनि राम्रो शिक्षा दिन सकिने उनले सुझाव दिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका क्याम्पस प्रमुख बिरञ्जी गौतमले जनप्रिय बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर शिक्षा प्रदान गरिरहेकाले नै सामुदायिक क्याम्पस भएर पनि सबै तहका विद्यार्थीको रोजाई बन्ने गरेको बताए । क्यूएए सर्टिफाईड कलेज बन्नु त्यसैको प्रमाण भएको उनको भनाई छ । ‘शैक्षिक प्रणालीले गुणस्तर खस्किरहेको छ । विद्यार्थीहरुलाई दोष लगाएर शिक्षक, विद्यालय उम्कने परिपाटी छ ।’ उनले भने ‘बोर्डिङ स्कूलबाटै सामुदायिक विद्यालयबारे भ्रम फैलाईन्छ । सामुदायिक विद्यालयमा पनि शिक्षकहरु जिम्मेवार छैनन् । त्यसैले नतिजा खस्कँदो छ ।’ उनले भने ।

प्रा.डा. विष्णुप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रममा सहायक क्याम्पस प्रमुख राजेन्द्र पौडेलले क्याम्पसको गतिविधिबारे जानकारी गराएका थिए भने कार्यक्रमको संचालन उपप्राध्यापक कृष्णप्रसाद त्रिपाठीले गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: