मिस मगर नेपाल–२०१४ हुने

Share:

पोखरा, ७ असार / नेपाल मगर सङ्घ कास्कीको आयोजना तथा रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा मिस मगर नेपाल–२०१४ हुने भएको छ ।शनिबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा मिस मगर नेपालको तयारीबारे जानकारी गराइएको थियो ।

‘जातीय भाषा, संस्कृतिको उत्थान ः प्रतिभाको प्रस्फुटन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मगर समुदायका युवतीहरूको नेतृत्व विकास, व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र सामाजिक क्रियाकलापमा अग्रसर गराउने उद्देश्यले मिस मगर नेपाल–२०१४ को आयोजना गरिएको कार्यक्रम संयोजक एवं नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

मिस मगर नेपाल प्रतियोगिताका माध्यमबाट मगर समुदायभित्र दक्ष जनशक्ति उत्पादन गर्ने र मगर भाषा, संस्कृति, रीतिरिवाज एवं मगर परम्पराको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य राखिएको जनाउँदै संयोजक रानामगरले समाजमा रहेका विकृति र विसंगतिलाई जरैदेखि हटाउन र सामाजिक सचेतना अभिवृद्धिमा समेत टेवा पुग्ने दाबी गर्नुभयो ।

यसअघि पनि नेपाल मगर सङ्घ कास्कीले मिस मगर पोखराको दुई संस्करण आयोजना गरिसकेको जानकारी दिँदै संयोजक रानामगरले यसपटक भने देशभरका मगर युवतीहरूले भाग लिन पाउने गरी प्रतिस्पर्धालाई फराकिलो बनाइएको बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको जनाउँदै उहाँले प्रतियोगितामा यसअघि सम्पन्न मिस मगर पोखराका सहभागीहरूले समेत भाग लिन पाउने बताउनुभयो । मिस मगर नेपाल–२०१४ का कोरियोग्राफर एवं सञ्चारकर्मी सुरज थापामगरले एसएलसी उत्तीर्ण र १६ वर्षदेखि २४ वर्षसम्मका मगर युवतीहरूले प्रतियोगितामा भाग लिनसक्ने जानकारी दिनुभयो । सो प्रतियोगितामा भाग लिनका लागि शनिबारबाटै आवेदन खुला गरिएको जानकारी दिँदै रिबर्थ इभेण्ट म्यानेजमेण्टका प्रबन्ध निर्देशक समेत रहनुभएका कोरियोग्राफर थापामगरले नेपालका प्रमुख शहरहरूमा अडिसन राउण्ड सञ्चालन हुने जानकारी पनि दिनुभयो ।

सो अवसरमा व्यवस्थापक रिबर्थ इभेण्ट म्यानेजमेण्टका अध्यक्ष अरुण दर्लामीमगरले आफूहरूले यसअघि मिस मगर पोखराका दुई संस्करणसहित मिस मगर तनहुँ र मिस मगर लुम्बिनी समेत सम्पन्न गरिसकेको जानकारी दिनुभयो । दर्लामीमगरका अनुसार प्रतियोगिताको उपाधि बिजेताले पियाजिओ स्कुटर र विभिन्न आकर्षक उपहार, फस्ट रनर अपले ल्यापटप र विभिन्न आकर्षक उपहार तथा सेकेण्ड रनर अपले एण्ड्रोइड ट्याबलेट मोबाइल र विभिन्न आकर्षक उपहार पुरस्कार पाउनेछन् । प्रतियोगिताको ग्रयाण्ड फिनाले भने आगामी भदौ ७ गते पोखरा सभागृहमा हुनेछ ।

नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष एवं कार्यक्रम संयोजक पूर्णबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रिबर्थ इभेण्ट म्यानेजमेण्टका फाइनान्स डाइरेक्टर शिव थापामगरले गर्नुभएको थियो भने नेपाल मगर सङ्घ कास्कीका सह–उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: