लेखनाथ, ७ असार / लेखनाथ नगरपालिका वडा नं. २ को आवास नगर टोललाई लेखनाथकै पहिलो बालश्रम मुक्त टोल घोषणा गरिएको छ । नगरपालिकाले शनिवार एक कार्यक्रमको आयोजना गरी आवासनगर टोलाई बालश्रम मुक्त घोषणा गरेको हो ।
टोलसँग आवद्ध रहेका सवै घरका बालबालिका विद्यालय गएका, सम्पूर्ण बालबालिकाको जन्मदर्ता गरिएको, उनिहरुको सहभागिताका लागि बालक्लव गठन भएको तथा बालबालिकाको समस्या समाधानका लागि बाल संरक्षण समिति गठन लगायत आवश्यक सूचक पुरा गरेकाले टोललाई बालश्रम मुक्त टोल घोषणा गरिएको हो । आवास नगरमा झण्डै ७५ बालबालिका रहेका छन् ।
टोलमा गठन भएको बाल संरक्षण समितिले आफ्ना सदस्यका लागि आचार संहिता समेत निर्माण गरेको छ । आचार संहितामा आफ्ना बालबालिकालाई पनि श्रम पठाउन नपाईने तथा घर भाडामा दिदा समेत बालश्रम राख्न नपाईने शर्तलाई कडाई गरिएको छ ।
टोल विकास संस्थाका अध्यक्ष पार्वती गुरुङ्गलाई बालश्रम विरुद्धको अभियानको प्रतिक हरियो झण्डा हस्तान्तरण गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीले कार्यक्रमको उद्घाटन गरेका थिए । गिरीले बालश्रमिकलाई कामबाट हटाउँदा वयस्कका लागि रोजगारीको सिर्जना हुने उल्लेख गर्दै, अभियानलाई नगरका अन्य वडामा समेत विस्तार गर्नु पर्नेमा जोड दिएका थिए । गिरीले आफ्ना घरमा बालश्रमिक नराखी सभ्य नागरिकको पहिचान वनाउन समेत आग्रह गरे ।
लेखनाथ नगरपालिकाका बालबालिका सम्वन्धी कार्यक्रमका फोकल पर्सन नवराज सापकोटाले नगरका १५ वटै वडामा अभियान संचालन गरिने उल्लेख गर्दै, बालश्रम राख्नेलाई कानूनी दायरामा ल्याउने कार्यमा सहयोग गर्न आग्रह गरे । उनले नगरभित्र झण्डै एक सय ६५ बालबालिका श्रममा रहेको तथ्यांक उल्लेख गर्दै सन् २०१८ भित्र बालश्रम मुक्त नगर वनाउने अभियानमा सहयोग गर्न अपिल गरेका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रमथ उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले नगरपालिकासँग बाल सरक्षण र बालश्रमको कार्यक्रममा संघले सहकार्य गर्दै अघि वढेको उल्लेख गरे । नगरपालिकाका लेखा अधिकृत चन्द्रकान्त पौडेलले आवास नगर टोललाई नगरकै उत्कृष्ट टोल वनाउने तर्फ टोलवासी अग्रसर भएको वताए ।
वरिष्ठ उद्घोषक नेत्रपाणी वास्तोलाले बालश्रम विरुद्धको हरियो झण्डा गाड्ने अभियानको शुरुवात आवास नगरटोलले प्राप्त गर्नु गर्वको विषय भएको उल्लेख गरे ।
टोल विकास संस्थाका अध्यक्ष पार्वती गुरुङ्गको अध्यक्षतामा भएको टिम अर्गनाइजिङ्ग लोकल इन्स्टिच्यूसन टोलीका सहजकर्ता गिता क्षेत्री, बाल संरक्षण समितिका अध्यक्ष डम्मवर पौडेल, सदस्य अमृता वास्तोला लगायतले पहिलो बालश्रम मुक्त टोल भएकोमा बधाई दिएका हुन ।
