पशु प्राबिधिकको आन्दोलनले पशुपालक किसान मर्कामा

Share:

गोकुल बानियाँ, पोखरा १३ असार । पशु प्राबिधिकहरु सेवा ठप्प पारी आन्दोलनमा उत्रिएपछि पशुपालक कृषकहरु मारमा परेका छन् । देशब्यापी आन्दोलनको क्रममा कास्कीका सरकारी तथा निजि पशु प्राबिधिकरुले काम नगर्दा दैनिक साढे दुई सय भन्दा बढी सेवाग्राही प्रत्यक्ष मारमा परेका हुन् ।

जिल्ला पशुसेवा कार्यालय कास्की र त्यस माताहातका १४ सेवा केन्द्रबाट प्रदान गरिने सेवा ठप्प रहको जिल्ला पशुसेवा कार्यालय कास्कीले जनाएको छ । पशु प्राबिधिकहरुको संस्था नेपाल पारा भेटेनरी एण्ड लाईभस्ट्रक एसोसिएसनले बिभिन्न माग राखी असार ७ गतेदेखि देशभर पशुस्वास्थ्य सम्बन्धि भेटेनरी सेवा ठप्प पारेको छ ।

एक गाबिस एक भेटेनरी प्राबिधिकको ब्यबस्था गनुपर्ने, कृषी क्षेत्रको बजेट बृद्धि गर्नुपर्ने, भेटेनरी पाराप्रोफेशनलहरुको पेशागत हकहित र अधिकार सुनिश्चित गर्नुपर्ने पशुस्वास्थ्य तथा पशुसेवा ऐन, पशुबधशाला तथा मासु जाच ऐनको परिमार्जन मस्यौदा तथा भेटेनरी ऐनको नयाँ मस्यौदा अघि बढाउन एसोसिएसनले माग गरेको छ ।

लगातार एक साता सम्म पशुस्वास्थ्य सेवा नपाउदा पशुपालक कृषकहरु आक्रोसित बनेका छन् । उनिहरुले पशुप्राबिधिकको माग जायज भएकाले तत्काल सम्बोधन गरी पशुधनको क्षति हुनबाट जोगाउन सरकारलाई आग्रह गरेका छन् । कास्कीमा जिल्ला पशुसेवा कार्यालयबाट दैनिक ५० र गाउगाउमा रहेका अन्य सेवा केन्द्रबाट झण्डै दुई सय कृषकले सेवा लिदै आएका थिए ।

कास्कीका सरकारी स्तरका एक सय ५० र निजि क्षेत्रका २ सय १० पशुप्राबिधिकहरु काम ठप्प पारी आन्दोलनमा उत्रिएको नेपाल पारा भेटेनरी एण्ड लाईभस्ट्रक एसोसिएसनका केन्द्रिय सदस्य नवराज अधिकारीले जानकारी दिए ।

पशुसम्बन्धि बिभिन्न समस्या लिएर शुक्रवार जिल्ला पशुसेवा कार्यालयमा आएका सेवाग्राही कृषकले पशु प्राबिधिकहरुको आन्दोलनले आफुहरुलाई सास्ती भएको बताए । सेवाग्राही कृष्ण बहादुर जिसी, यम प्रसाद अधिकारी, हरिमाया अधिकारी लगायतले समयमै सेवा नपाउदा पशुधनको क्षति हुने अबस्था आएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिएका छन् ।

पशुप्राबिधिकको आन्दोलनको कारण समयमै बिरामी पशुको उपचार गर्न नपाएको, पशुको कृतिम गर्भाधान गर्न नसकिएको लगायतका गुनासो गरेका थिए । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले उपभोक्ता मारमा परेकाले छिटो नितिगन निर्णय गरी आन्दोलन फिर्ता गराउन सरकारलाई आग्रह गरे । गुणस्तरिय र सर्बसुलभ सेवाको लागि सरकार जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

पोखरा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष शोभाकान्त ढकाल, बृहत्तर गौपालन समिति लेखनाथका चुडामणी बराल, आदर्श गाईफारमका राम प्रसाद पौडेल लगायतले पशुप्राबिधिकहरुको जायज मागलाई तत्काल सम्बोधन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: