२० असार, काठमाडौं । बलियो चिरप्रतिद्वन्द्वी फ्रान्सलाई पराजित गर्दै जर्मनी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार चार पटक विश्वकपको सेमिफाइनल पुग्ने राष्ट्र बन्ने क्रममा जर्मनीले शुक्रबार मध्यरातमा भएको पहिलो क्वाटरफाइनल भिडन्तमा फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
तीन पटकको च्याम्पियन जर्मनी लगातार चौथो पटक सेमिफाइनल पुगेपनि उसले उपाधि नजितेको २४ वर्ष भइसकेको छ । उसले पछिल्लो पटक सन् १९९० मा उपाधि उचालेको थियो । १९९८ को च्याम्पियन फ्रान्स भने चार वर्षअघि समूह चरणबाटै बाहिरिएको थियो ।
माराकानामा भएको खेलमा सुरुवाटै फ्रान्सलाई दबावमा राखेको जर्मनीले १३ औं मिनेटमा अग्रता लियो । टोनी क्रुजको फ्रि किकमा म्याट हमल्सले हेड गोल गरे । पहिलो हापमा जर्मनीको बल पोजिसन राम्रो भएपनि फ्रान्सको लङ पास उत्कृष्ट थियो ।
फ्रान्सका म्याथु वलबेनाको डाइभ बचाएका जर्मन गोलरक्षक नुयरले करिम बेज्जिमाको प्रहार रोके । दोस्रो हाफमा निकै सुधारिएको प्रदर्शन गरेको फ्रान्सले गोल गर्ने राम्रा अबसरहरु पनि सृजना गरेको थियो । तर, उसका धेरै प्रयासमा नुयर बाधक बने ।
जर्मनी आन्द्रे शुर्लरको प्रहार फ्रान्सका गोलरक्षकले रोके । खेलको अन्त्यतिर करिम बेन्जिमाको प्रहार रोक्दै नुयरले जर्मनीको जित सूनिश्चित पारे ।
