कोलम्बियालाई हराउँदै ब्राजिल सेमिफाइनलमा

Share:

काठमाडौं, असार २१ – कोलम्बियालाई २–१ ले हराउँदै आयोजक ब्राजिल विश्वकपको फुटबलको सेमिफाइनलमा पुगेको छ ।

ब्राजिललाई जिताउन थिएगो शिल्भा र डेविड लुईजले गोल गरे भने कोलम्बियाका लागि जेम्स रोड्रिगेजले पेनाल्टीमा एक मात्र गोल फर्काए । शनिबार बिहान सकिएको खेलमा सुरुदेखि नै ब्राजिल हावी रहेको थियो । कप्तान थिएगो सिल्भाले सातौं मिनेटमै गोल गरेर ब्राजिललाई अग्रता दिलाए । नेयमारको कर्नर किकमा प्राप्त बललाई सिल्भाले बायाँ खुट्टाले बलको दिशा दिँदा उनलाई कुनै पनि विपक्षी खेलाडीले मार्क गरेका थिएनन् ।

सातौं मिनेटमै गोल खाएपछि कोलम्बिया दबाबमा पर्‍यो । दुई पटक गोल गर्ने मौका पाए पनि कोलम्बिया सफल हुन सकेन् । गोल खाएपछि कोलम्बियाको काम ब्राजिलको पछि पछि दौडने जस्तो मात्रै देखियो । सातौं मिनेटमा गोल गरेर अग्रता लिएपनि ब्राजिलले पनि दोस्रो गोलका लागि थप ६१ मिनेट कुर्नुपर्‍यो । डेविड लुईजले ६८ औं मिनेटमा फ्रि किकमा शानदार गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।

लगातार चार खेल जितेर आएको कोलम्बियाले पनि घर फर्कनु अघि एक गोल फर्कायो । ब्राजिलका कीपर जुलियो सिजरले फल गरेपछि प्राप्त पेनाल्टीलाई जेम्स रोड्रिगेजले ८० औं मिनेटमा गोल गरे । तर यो गोलले मात्रै उसको घर फिर्ती रोकिएन । र, उसले बाँकी समयमा गोल गर्न सकेन् ।ब्राजिलले मंगलबार राती अब जर्मनीसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: