साहित्यकारले उतारे अर्मलाबासीको बिपत र समस्या

Share:

पोखरा २१ असार / अर्मलाबासीले भने –“हाम्रो पिडाको आवाज कसैले सुनेन”

दुध बगे जस्तै गरि बग्यो तल कालि खोला
पहिले जस्तो अर्मलामा यो अब कैले होला
हाम्रो ज्यानै जान लाग्दा कसैले केही गरेन
बास बस्नें ठाउँ नहुँदा राज्यको साथ भैदिएन

कविताको यो अंश पाठ गर्ने बित्तिकै अर्मलाकी राधिका पौडेलको भक्कानो फुट्यो । आँखाबाट आँशु खसे । पौडेलले कविता बाचन गर्दागर्दा आँफुले भोकेका दुःख र पिडा आँशुमा पोखिए । कार्यक्रममा उपस्थित सम्पूर्ण भावबिह्वल भए र अर्मलाबासीमा परेको विपतको बेवास्था भएकोप्रति खिन्नता महशुस मात्र गरेनन् अर्मलाबासीलाई राहत दिन माग पनि गरे ।

गजल सन्ध्या पोखरा र नबनित साहित्य सागरको आयोजना तथा अर्मला गाबिस र अर्मला दैविक प्रकोप सरोकार तथा निर्माण राहत समितिको स्थानीय आयोजनामा शनिबार अर्मलामा भएको अक्षरयात्रा साहित्यिक अभियानमा अर्मलामाबासीमा परेको विपत र पिडाहरुलाई रचनामा पोखे । अर्मलाको जमिनमा पर्दै गएको भ्वाङका कारण अर्मलाबासीले भोग्नुपरेको जोखिम र बिस्तापित हुनुपर्दाको पिडा अनि खेतियोग्य जमिन बाँझै हुँदा खानलाउनकै धौधौ हुने अवस्थालाई साहित्यकारहरुले आफ्ना रचनामा उतारे । तत्काल जोखिम क्षेत्रको बिकल्प दिन स्थानीयले माग गरे । कसैले शब्दहरुबाट आफ्ना पिडा र मागहरु राखे भने कसैले कबिताबाट आफ्ना पिडा सुनाऐ ।

प्रकृतिको दोहनले गयो गैरी खेत
लालाबाला जहानको सारङ्गी भो पेट
आठ मैना बिती सक्यो बिचल्लीको घेरा
नाङ्गो आकाश भ्वाङ भित्र हुने भयो डेरा

यो शब्द अर्मलाका ताराप्रसाद तिमिल्सिनाको आफ्नै पिडाको आवाज हो । अर्मलास्थित ठूलीखेतमा रहेको उनको ५ रोपनी खेतमा मात्रै करिब १० वटा ठूला भ्वाङ परेका छन् । राम्रो उत्पादन हुने खेत अहिले बाँझै छ । उनी भन्छन्–“राम्रो धान फल्ने खेतमा भ्वाङ पर्दा अहिले पुरै बाँझै छ । अब मलाई आफ्नै खेतको भात खान गाह्रो पर्नेछ । मेरो त खेत मात्र गएको छ । यहाँ कतिको घरबास उठेको छ । कति बिचल्ली छन् । हाम्रो पिडा कसले सुन्ला र हजुर ।” अक्षरयात्रामा उपस्थित अर्मलाबासीले आफ्ना आवाजलाई सम्वन्धित निकायलाई सुनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा अर्मलाबासीले आँफूहरुले पाएको पिडालाई लिएर धेरै संघसंस्थाले पैसा कमाउने बाटो गरेको तर आँफुहूले कुनै राहत पाउन नसकेको गुनासो पोखेका थिए । उनीहरुले पोखरादेखि गएका साहित्यकारहरुलाई भने–“हाम्रो पिडाका आवाज कसैले सुनेन्, तपाइहरुले साहित्यका मार्फत झक्झक्याउने काम गरिदिनुहोला ।” साहित्यकारहरु आफ्नो रचनामा सरकारप्रति तिखो ब्यंग्य प्रहार गरे अर्मलाबासीलाई दुख्दा सरकार हाँस्न नहुने भन्दै राहतका कार्यक्रम ल्याउन माग गरे । स्थानीयको दुःखमा दुःख साटे । रचनामा अर्मलाबासीकै आवाजलाई बोले । कवि शरण आँशुले सरकारलाई ब्यंग्य गर्दै अर्मलाबासीलाई यसरी सान्त्वना दिएका थिए ।

भूगोल उम्लियो र घरखेत भासियो
अनि ठूलीबेसीको
डोको उठ्यो ्र
यो पाउँदुरे सरकारले
डोको रोएको सुनेन ्र
म त्यै दुखको डोको हूँ–
अर्मला !
तिमीले जीवनको आधि बाटोमा
बिसाइराखेको !

कविहरुले आफ्ना पिडाहरुलाई रचनामा उतार्दा र दुःख साटासाट गर्दा अर्मलाबासीले थोरै भएपनि राहतको महशुस गरे । अर्मलाको जमिनमा भ्वाङ पर्दै जाँदा अहिले अर्मलाको स्वरुप नै बदलिएको छ । स्थानीयले अर्मला अहिलेको आफ्नो परिचय नभएको बताउँछन् । आफ्ना तस्बीरहरु खिचेर लैजाने तर आँफूहरुले केही नपाउने बताएका स्थानीयको आवाज साहित्यकार अमृत सुबेदी गुराँसले आफ्नो रचनामा यसरी पोखे ।

ए मान्छेहरु हो यो हाम्रो परिचय होइन्
लय बिग्रेको जिन्दगीको तस्बीर कहाँ टाँस्छौ
के फाइदा तिमीलाई हाम्रो विपत बेचेर
ए मान्छेहरुको हो तिमीहरु जे देखिरहेका छौ
कदापी यो हाम्रो परिचय थिएन्

अर्मलामा शनिबार दिनभर साहित्यिक रचना र अर्मलाकै पिडाहरु सुनिए । कार्यक्रममा कबि तथा गजलकार प्रकाट पंगेनी “शिब”ले आफ्नो कबितामा अर्मलासँगैको बाटुलेचौरको कथा सुनाए । अक्षरयात्राका परिकल्पनाकार मध्यका एक पंगेनीले अर्मलाबासीका पक्षमा शब्दहरु खर्चिए । कबि मन क्षेत्रीले अर्मलाको जमिनमा जस्तै आफ्नै जिन्दगीमा भ्वाङ परेका ब्यथाहरु साटे । स्थानीयबासी कबि सुन्दर मानन्धरले “म र ठूलीबेशी” कविता सुनाउँदा सुन्नेहरुका अनुहारमा भुकम्प आएजस्तो देखिन्थ्यो र कवितासँगै पिडाहरु छचल्किन्थे । पत्रकार तथा कबि सौगात संघर्षले अर्मलाको पिडामाथि कसैले खेलवाड गर्न नहुने भावना र स्थानीयको ब्यथा ओकलेका थिए ।

यसरी शनिबार पोखरा तथा अर्मलाका दुइ दर्जन कविहरुले कविता वाचन गरका थिए । कार्यक्रममा अर्मलाका गाबिस सचिब राजेन्द्र आचार्यले अर्मलाबासीले दैविक प्रकोपको ठूलो दुःख सहनुपरेको बताए । अर्मलाबासी ठूलो जोखिममा रहेको भन्दै बिकल्प खोजिरहेको भनाइ राखे । अर्मला दैविक प्रकोप सरोकार तथा निर्माण राहत समितिका अध्यक्ष लिलाधर आचार्यले अर्मलाबासीको पिडाप्रति सरकार उदासिन बनेको गुनासो गरे । उनले सर्बसाधरण संकटमा पर्दा नहेर्ने सरकार आँफूहरुलाइृ नचाहिने बताए । तत्काल क्षतीपूर्ति तथा उचित बिकल्प नभए फेरी पनि अर्मलाबासी र देशले नै ठूलो मूल्य चुकाउनु पर्ने भनाइ राखे । गजल सन्ध्या पोखराका अध्यक्ष उदिपराज ढुङ्गाना र नबनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले अर्मलाबासीको पिडा र मागको आवाजलाई बाहिर ल्याउन र सम्वन्धित निकायको ध्यानाकर्षण गराउन अर्मलामा कार्यक्रम गरिएको बताए । अक्षरयात्रा साहित्यिक अभियान प्रत्येक महिनाको तेस्रो शनिबार पश्चिमाञ्चलका विभिन्न जिल्लामा हुँदै आएको छ । अक्षरयात्राका यात्रीहरुले जुन ठाउँमा गयो त्यही ठाउँको घटना र विषय आफ्ना साहित्यिक रचनामा उतारी तद्स्थानमै सुनाउने गरेका छन् ।

तस्बीरः संगीता राना मगर

कमेन्ट गर्नुहोस्
Share: