दुई पटकको च्याम्पियन अर्जेन्टिना २४ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अबेर भएको खेलमा बलियो प्रतिद्वन्द्वी बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
सन् १९९० मा अर्जेन्टिना उपविजेता भएको थियो । पछिल्ला दुई संस्करणमा अर्जेन्टिना क्वाटरफाइनलबाटै बाहिरिएको थियो । गोन्जालो हिगुएनको निर्णायक गोल मदतले अर्जेन्टिनाले शनिबार बेल्जियमलाई १–० ले हरायो र विश्वकप २०१४ को सेमिफाइनलमा प्रवेश ग¥यो । यसपल्टको विश्वकपमा अर्जेन्टिनाको यो लगातार एक गोल अन्तरको पाँचौं जित हो ।
अब अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्यान्ड्स र कोस्टारिकाबीचको खेल विजेतासँग खेल्नेछ ।खेलको एक मात्र गोल हिगुएनले आठौं मिनेटमा गरे । एन्जेलो डि मारियाको डिफ्लेक्ट भएको पासमा भली प्रहार गर्दै हिगुएनले गोल गरेका हुन् । यसपल्टको विश्वकपमा उनको यो पहिलो गोल हो । खराव लयमा रहेका हिगुएन पछिल्लो समय आलोचनाको शिकार भइरहेका थिए । पछिल्ला छ खेलमा उनले अर्जेन्टिनाका लागि गोल गर्न सकेका थिएनन ।
समग्रमा उनको अन्तर्राष्ट्रिय गोल संख्या २७ पुगेका छ । स्टाडियो नासिनालमा भएको खेलको अन्त्यतिर बेल्जियमले लगातार आक्रामण बुने पनि गोल गर्न भने सकेन् । यससँगै प्रतियोगितामा ‘स्वर्णिम पुस्ता’ का खलाडीले भरिएको बेल्जियमको चुनौती समाप्त भएको छ । बेल्जियमको यससगै लगातार २१ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।
लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले भने अपराजित यात्रालाई २४ खेल पु¥याएको छ । खेलको अन्त्यतिर इन्ज्युरी समयमा मेसी गोल गर्ने राम्रो अवसरमा चुकेका थिए । अर्जेन्टिना विश्वकप २०१४ को सेमिफाइनल पुग्ने दोस्रो दक्षिण अमेरिकी टिम भएको छ । यसअघि आयोजक ब्राजिल र जर्मनी अन्तिम चारमा पुगिसकेका छन् ।
