‘सुन र फलामको भाऊ नी एउटै हुन्छ र ?’-नरेन्द्र कँडेल, एजुकेशन डाईरेक्टर द ब्रिटिश कलेज

Share:

द ब्रिटिश कलेज स्थापनाकै छोटो समयमा विद्यार्थीहरुको रोजाईको कलेज बनिसकेको छ । बेलायती स्ट्याण्डर्ड र शैलीमा नेपालमै अध्यापन गराईने भएकोले पनि यो कलेज विद्यार्थीहरुको रोजाईमा परेको हो । काठमाण्डौको थापाथलीमा रहेको यो कलेजमा अध्ययनका लागि काठमाण्डौसंगै देशका अन्य ठुला शहरका विद्यार्थीहरु पनि उत्तिकै आकर्षित छन् । द ब्रिटिश कलेजका एजुकेशन डाईरेक्टर नरेन्द्र कँडेलसंग बिग एफएमकर्मी रेम बिकले गरेको कुराकानी :

द ब्रिटिश कलेज कस्तो खालको कलेज हो ?ब्रिटिशकै स्ट्याण्डर्डमा नेपालमै स्थापना भएको कलेजको ब्रिटिश कलेज । ब्रिटिशकै यूनिभर्सिटीका कोर्षहरु यहाँ पढाई हुन्छन् । खासगरि यो कलेज ब्रिटिशमा पढेर आएकाहरुले स्थापना गरेका हुन् । काठमाण्डौको थापाथलीमा रहेको कलेजमा अहिले करिब २ सयको हाराहारिमा विद्यार्थीहरु अध्ययनरत छन् ।द ब्रिटिश कलेजमा पढ्नु र ब्रिटिशमै बसेर पढ्नुमा भिन्नता त होला नी ?

पढाईको गुणस्तरमा कुनै भिन्नता छैन । बेलायतबाटै हामीले प्रोफेसरहरु ल्याएका छौँ । र, यहाँको कलेजमा अध्ययन गरेर पाएको सर्टिफिकेटले बेलायती यूनिभर्सिटीकै बराबरी मान्यता पाउँछ । त्यहाँ दिने परिक्षाको सिस्टम र हाम्रो कलेजमा दिने परिक्षाको सिस्टम एउटै हो । अझै भन्दा परिक्षाका लागि सोधिने प्रश्नहरु नै एउटै हुन् । सुविधाको हिसाबले पनि विद्यार्थीहरुले बेलायती स्ट्याण्डर्डकै दिईरहेको छ । टेक्नोलोजी, मटेरियल, अनलाईन स्टडी जस्ता कुराहरु विद्यार्थीहरुलाई बेलायती स्ट्याण्डर्डमै हामीले उपलब्ध गराउँदै आएका छौँ । भिन्नताको कुरा गर्दा बेलायतमा बसेर पढ्दा विद्यार्थीहरुलाई गाह«ो हुन सक्छ भने नेपालमै त्यहि स्तरको अध्ययन गर्न पाउँदा अझै बढि सजिलो ।

ब्रिटिश कलेजले नेपाली विद्यार्थीलाई अन्तराष्ट्रिय मार्केटमा रोजगारी पाउन योग्य बनाउँछ त ?

हामीले नेपालमा यो कलेजको अवधारणा ल्याउनुको मुल उद्देश्य नै त्यहि हो । जस्तो की नेपालका यूनिभर्सिटीबाट सर्टिफिकेट प्राप्त जनशक्तिले विदेशमा त्यहि सर्टिफिकेट देखाएकै भरमा स्तर अनुसारको रोजगारी पाउन सकिरहेका छैनन् । त्यसो नहोस् भन्नकै लागि हामीले ब्रिटिश कलेजलाई बेलायती यूनिभर्सिटीसरह नै नेपाल भित्राएका हौँ । हामीले दिने सर्टिफिकेट बेलायती स्ट्याण्डर्डकै हुन्छ । र, विश्वका कुनैपनि मुलुकमा हामीले उत्पादन गरेका जनशक्तिले सर्टिफिकेट र यूनिभर्सिटी स्ट्याण्डर्डकै कारणले रोजगारीमा तलमाथि हुने भन्ने हुँदैन । यसको हामीले पूर्ण रुपमा जिम्मा समेत लिने गरेका छौँ । विद्यार्थीहरुलाई विभिन्न पक्षहरुमा दक्ष बनाउन पनि हाम्रो भुमिका रहन्छ । जसका कारणले देशमा मात्र नभै विदेशमा समेत रोजगारी प्राप्त गर्नका लागि उनीहरुलाई सजिलो हुन्छ ।

ब्रिटिश कलेजको पढाईको शैली कस्तो हुन्छ र, विद्यार्थीहरुले कस्ता विषय पढ्न पाउँछन् ?

अहिले ब्रिटिश कलेजमा बेलायतकै सिए कोर्षको पढाई भैराखेको छ । जस्तै अरु कुरा गर्ने हो भने म्यानेजमेन्ट विषयमा पनि विश्वका पछिल्ला टेक्नोलोजीको प्रयोग गर्दै अध्ययन गर्ने व्यवस्था हामीले मिलाएका छौँ । बिजनेश म्यानेजमेन्ट, आईटी कोर्षहरु पढाई भैराखेको छ । बेलायतकै सिलेबस, पाठ्यक्रम र मटेरियलहरुबाटै हामीले यहाँका विद्यार्थीहरुलाई पढाउँदै आएका छौँ । सबै कुराहरु यद्यपी प्राध्यापकहरु समेत उतैबाट पढेर आएका अथवा त्यहिँका नागरिक भएका कारण अध्यापन शैली पनि बेलायतको भन्दा फरक छैन ।

बेलायती शिक्षाको आकर्षण नेपालमा कस्तो छ ?

बुझेकाहरु बढि आकर्षित छन् । पढ्नकै लागि विदेश अझै त्यो पनि बेलायत जानुपर्छ भनेर पहिला जति धेरै विद्यार्थीहरु बाहिर जान्थे अहिले उनीहरुजस्तै विद्यार्थीहरु नेपालमै स्थापना भएको ब्रिटिश कलेजप्रति आकर्षित भएका छन् । अझै त्यो माथि बेलायतमा भन्दा अझै सस्तो मूल्यमा नेपालमै पढ्न पाउने भएपछि विद्यार्थी संगसंगै अभिभावकहरु पनि यो कलेजप्रति आकर्षित भएका छन् । बेलायतमै गएर पढ्दा एक वर्षमा कलेज फि मात्रै नेपाली करिब १६ लाख तिर्नुपर्छ भने नेपालकै ब्रिटिश कलेजमा पढ्दा १२ लाख रुपैँयामा ४ वर्षे डिग्री नै सकाउन सकिन्छ । त्यसैमाथि आफ्नै परिवारसंग, साथीभाईसंग आफ्नै देशमा अन्तराष्ट्रियस्तरको अध्ययन गर्न पाउँदा विद्यार्थीहरुको आकर्षण झन् बढिरहेको छ ।

ब्रिटिश कलेज धनीहरुका लागि मात्रै हो ?

त्यस्तो होईन । कुरा कसरी बुझ्नुप¥यो भने सुन र फलामलाई दाँज्न मिल्दैन । सुन किन्नलाई सुन कै भाऊ तिर्नुपर्छ भने फलाम किन्नलाई फलामकै भाऊ तिर्नुपर्छ । मेरो मतलब गुणस्तरिय शिक्षाको लागि अलिक बढि खर्च त लाग्ने नै भयो । त्यसबाट आउने आउटपुट पनि त त्यस्तै छ नी । अर्को कुरा जेहेन्दार विद्यार्थीहरुका लागि हामीले केहि छात्रवृत्ति योजना पनि बनाएका छौँ । उत्कृष्ट र दक्ष विद्यार्थीहरुका लागि केहि सिटहरु हामीले राखेका छौँ । कम पैसा भएकाहरुका लागि पनि हामीले केहि योगदान भने गरेका छौँ । यद्यपी सुन र फलामको भाऊ भने बुझ्नुपर्छ ।

उपत्यका बाहिरका विद्यार्थीहरुका लागि ब्रिटिश कलेजको योजना के छ त ?

ब्याचलर डिग्री लेभलका पढाईहरु हामीले नेपालका अन्य शहरमा विस्तार गर्ने योजनामा छैनौँ । यसका लागि विद्यार्थीहरु काठमाण्डौमै आउनुपर्ने हुन्छ । बरु हामीले अन्य देशहरुमा ब्रिटिश कलेज स्थापना गर्ने योजना बनाएका छौँ । यद्यपी ब्याचलर डिग्रीभन्दा तल्लो तहका पढाईका लागि हामीले देशका विभिन्न शहरहरुमा पनि शाखा विस्तार गर्ने योजना भने बनाएका छौँ । यसका लागि होमवर्क भैराखेको छ । अध्ययन गरिराखेका छौँ । पोखरा पनि एउटा टार्गेटेड सिटि हो । यद्यपी यसका लागि पनि हामीले हतार गरिहाल्ने अवस्थामा भने छैनौँ ।

प्रस्तुती : रेम बिक

कमेन्ट गर्नुहोस्
Share: