हुम तमु, पोखरा, २६ असार / पोखरा रामबजारस्थित श्री कृष्ण मन्दिर स्थापनाको पच्चिस वर्ष प्रवेशको सन्दर्भमा श्री कृष्ण मन्दिर आमा समुहले विहीवार देखि आमाहरुलाई तीन दिवशीय उद्घोषण तालिम शुरु गरेको छ । तालिमको वरिष्ठ समाजसेवी महेश गुरुङले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
तालिमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले तालिमले क्षमता अभिवृद्धिका साथै सकरात्मक सोंचको विकास गर्ने बताउनुहुदै तालिमलाई प्रशिक्षाथीहरुले अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले समाजमा स्वस्थ्य प्रतिस्पर्धा जरुरी रहेको बताउनुहुदै तालिमले स्वावलम्बीका साथै व्यवहारिक बनाउने दावी गर्नु भयो ।
कालिका उच्चमाविका पुर्व प्रधानाध्यापक समेत रहनु भएका गुरुङले कालिका उच्च मावि र श्रीकृष्ण मन्दिर रामबजार क्षेत्रमै रहेकाले कालिका उच्चमावि स्वर्ण महोत्सव र श्रीकृष्ण मन्दिरको रजत महोत्सवमा दुई संस्थाले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
श्रीकृष्ण मन्दिर आमा समुहकी कार्यवाहक अध्यक्ष मिना भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा श्रीकृष्ण मन्दिर सञ्चालक समितिका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर थापाले मन्दिरको रजत महोत्सवको अवसरमा आमा समुहले आयोजना गरेको उद्घोषण तालिमको सफलताको शुभकामना व्यक्त गर्नुहुदै महोत्सवलाई भव्य बनाउन आमाको थप जिम्मेवारी आएको बताउनुभयो ।
रामबजर टोल विकास संस्थाका अध्यक्ष सम्मरबहादुर श्रेष्ठले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुहुदै सभ्य समाज निर्माणका लागि आमाहरुको महत्वपुर्ण भुमिका रहने बताउनु हुदै तालिमले आमाहरुको बोल्ने कलामा विकास हुने विश्वासका साथ आमाहरुले समाजलाई थप ज्ञान प्रदान गर्ने बताउनुभयो ।
केही समय अघि युकेबाट पोखरा आउनु भएका कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी महेश गुरुङलाई श्रीकृष्ण मन्दिरका संरक्षक गणेशकुमार प्रधान र आमा समुहकी कार्यवाहक अध्यक्ष मिना भण्डारीले मायाको चिनो, खादा र फूलसहित स्वागत एवं सम्मान गरिएको कार्यक्रमको सञ्चालन आम समुहका सचिव कमला गुरुङले गर्नुभएको थियो ।
असार २८ गते सम्म सञ्चालन हुने उद्घोषण तालिमको प्रशिक्षक नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुष्मा पौडेल रहनु भएको छ । तालिममा ३० जना आमाहरुको सहभागिता रहेको छ । २०४६ सालमा स्थापना गरिएको मन्दिरको रजत महोत्सवको अवसरमा भदौसम्म विविध रचनात्मक क्रियाकलापहरु गरिने सञ्चालक समितिका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिनुभयो ।
