अख्तियारद्वारा कास्की मालपोत कार्यालयमा छापा

Share:

पोखरा, २५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले जिल्ला मालपोत कार्यालय कास्कीमा छापा मारेको छ । आर्थिक चलखेल बढी हुने अड्डा मानिने मालपोतमा अख्तियारले छापा मारेपछि सम्बन्धित कार्यालयका कर्मचारी त्रसित बनेका छन् । आयोगको क्षेत्रीय कार्यालय पोखराबाट खटिएको ८ सदस्यीय टोलीले बुधबार दिउँसो कार्यालयमा छापा मारेको हो ।

टोलीले कार्यालयका विभिन्न चार कोठाहरुमा अनुमगन गरी कागजपत्रलगायत रकमबारे सोधपुछ गरेको स्रोतले जनाएको छ । कार्यालयका प्रमुख मुकुन्द भुषालले उजुरीका आधारमा सम्बन्धित कार्यालयमा छापा मारिएको स्वीकारे । उनले बेला-बेलामा आवश्यक अनुगमन विभिन्न कार्यालयमा हुने गरेको बताए । कार्यालयमा प्रमुख भुषालको नियुक्तीसँगै अख्तियारले काम कारबाही तीव्र पारेको छ । यस क्षेत्रका विभिन्न सरकारी कार्यालयमा अकस्मात छापा मारिदा कर्मचारी अलि बढी सचेत बनेको पाइएको छ ।

गत १६ असारमा पोखरा आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखलोकमान सिह कार्कीले पोखरास्थित क्षेत्रीय कार्यालयमा परेका उजुरीमध्ये सयबढीको फस्र्छौट गरेका थिए । कार्कीले कार्यालयमा परेका उजुरीमध्ये छानबिन गरी तामेली, विभागीय कारबाही, निर्देशन र सुझाव दिने निर्णय गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: