पोखराका सबै ट्याक्सी मिटरमा चल्नुपर्ने, सात दिनको समय

Share:

पोखरा, असार २६ –पोखरामा सञ्चालित ट्याक्सीहरु अबदेखि अनिवार्य रुपमा मिटरमा चल्नुपर्ने भएको छ । पोखराको यातायात व्यवस्थालाई सुधार गर्न विहीबार बसेको सरकारी कार्यालयका प्रमुखहरुको बैठकले अब पोखराभित्र चल्ने सबै ट्याक्सीले अनिवार्य मिटर जडान गर्नुपर्ने निर्णय गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रीय क्षेत्रीय प्रशासक अर्जुनबहादुर कार्कीको संयोजकत्वमा बसेको बैठकले मिटर जडान नभएका ट्याक्सीको मिटर समायोजन गर्न सात दिनको समय दिएको छ ।

मिटर जडान भएका ट्याक्सीले मिटर चलाएर मात्र यात्रु बोक्नुपर्ने, मिटर जडान नभएका ट्याक्सीको संचालनमा पूर्णतया रोक लगाउने र विना मिटरका ट्याक्सी सञ्चालनमा आएको पाएमा कानुन बमोजिम सजाय गरिने निर्णय गरिएको यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख देविराम भण्डारीले जानकारी दिनुभयो ।

नगरभित्र सञ्चालित ट्याक्सी चालकले यात्रुहरुबाट मनपरी शुल्क असुल्दै आएको अत्यधिक गुनासो पछि, पोखराका सरकारी कार्यालयका अधिकारीहरुले चालकको मनपरी रोक्न र यात्रुलाई ठगिनबाट बचाउनका लागि यस्तो निर्णय गरेको बताएका छन् ।

सरकारी अधिकारीहरुको यो निर्णयसँगै अब पोखरामा ट्याक्सी चालकहरुको मनोमानीमा कमि आउने अपेक्षा गरिएको छ । अहिले पोखराका सबै ट्याक्सीले मनोमानी रुपमा भाडामा बार्गेनिङ गरी यात्रु चढाउँदै आएका छन् ।

पोखरामा सञ्चालित ३ हजारभन्दा बढी ट्याक्सीमध्ये करिब एक हजार ट्याक्सीले मात्रै मिटर जडान गरेका छन् । तर मिटर जडान गरेका ट्याक्सीले समेत मिटरमा यात्रु बोक्दैनन् ।

कमेन्ट गर्नुहोस्
Share: