बिग एफएमलाई पश्चिमाञ्चलकै नम्बर १ बनायौंः अध्यक्ष महेश भण्डारी

Share:

(अध्यक्ष, बिग एफएम पोखरा)

पश्चिामाञ्चलकै नम्बर १ एफ एम बिग एफ एम १०१.२ मेगाहर्जका संचालक मात्रै नभै उनी संचारकर्मी पनि हुन् । आफ्नो अनुभव र क्षमता नभै कुनै पनि संस्थामा मात्र होइन संचारमा समेत लगानी गर्नेहरुका लागि मुहतोड जवाफ हुन् महेश भण्डारी । आफ्नो मात्रै नभै, सिंगो बिग एफ एमको मात्रै नभै सिंगो पश्चिमाञ्चललाई नै राष्ट्रिय अन्तराष्ट्रियस्तरमै (बिग आइकन संस्करण ५औँ सम्म आइपुग्दा) परिचित गराउँदै सिंगो पोखरालाई नै गीत संगीतको संभावित राजधानी बनाउन प्रयासरत पात्र हुन् महेश भण्डारी ।

पोखरा १४ मझेरीपाटनमा पीता कृष्णबहादुर भण्डारी र माता विष्णुमाया भण्डारीको कोखबाट जन्मेका १० सन्तानमध्ये नवौँ सुपुत्र महेश भण्डारी सानैदेखि संचार कर्म र गीत संगीत क्षेत्रमा रुचि राख्ने स्वभावका थिए । बुबा कृष्णबहादुर मझेरीपाटनका किसान थिए । किसान परिवारमा जन्म लिएपनि आफ्ना सबै दाजुहरु पढाईमा अब्बल थिए । आफ्ना बुबाको प्रेरणा र दाजुहरुको हौसलाका कारण सानैबाट मेहेनती स्वभावका महेश आफ्नो रुचीलाई पछ्याउँदै क्याम्पस पढाई सकेपछि पोखरामा एफएमहरु खुल्ने लहरसँगै आफ्नो सपना पुरा गर्न अन्नपूर्ण एफ एममा आबद्ध भए । उनको त्यो अन्तरमनको संचारकर्मी बन्ने चाहना दिन प्रतिदिन वृद्धि हुँदै अग्रगतिमा लम्कँदै गयो ।

यो यात्र त्यही मात्रै सीमित भएन । संचारकर्मी मात्र होइन संचार गृह नै संचालन गर्ने उनमा एउटा जोश जाँगर आयो । सम्पत्ती आर्जन गर्न भन्दा पनि संचार क्षेत्रमा नौलो प्रस्तुती, सृजनात्मक र रचनात्मक कार्यक्रमको उत्पादनमार्फत् सृजनशील स्वभाव र कुशल व्यवास्थपकीय क्षमताका कारण उनी संचारकर्मी मात्रै होइन संचार उद्यमी बन्न सफल भए जसले गर्दा उनीभित्र रहेको गीत संगीतमार्फत् पश्चिमाञ्चल क्षेत्रलाई चिनाउन बिग आइकनको संस्करण ५ औँको आयोजना गर्न सफल भए । यसै अवसरमा हाम्रा संवाददाता शिवराज वस्ताकोटी (शीवदाई) ले उनको अन्तरमनको चाहना साथै बिग एफ एमकै जगबाट निर्मित र सिर्जित बिग आइकन २०१४ को सेरोफेरोमा रहेर गरेको कुराकानीको सार संक्षेप प्रस्तुत गरेका छौँ । सम्पादक ।

तपाईँ पहिला महेश भण्डारी कि बिग एफ. एम. को संचालक ?

अत्यन्तै कठीन प्रश्न सोध्नु भयो यहाँले । महेश भण्डारी कसैको छोरा, कसैको पिता, कसैको पती हो । तर बिग एफ एमसँग जोडिएको महेश भण्डारी सबैको सम्पत्ती हो । मलाई प्रिय लाग्ने परिचय चाहिँ पछिल्लो हो । यसैमा मलाई आनन्द लाग्छ, समाज, संचार र संगीतलाई माया गरेर यसरी नै अगाडी बढ्न पाई रहुँ जस्तो लाग्छ ।

तपाईँ संचार उद्यमी कि संचारकर्मी ? एउटा शब्द रोज्नु पर्दा के भन्नु हुन्छ ?

म सुरुमा संचारकर्मी हुँ । सुरुमा आँफै अरुको एफ एममा पार्टटाइम, फुलटाईम हुँदै काम गरेर सबै खालको अनुभव हाँसिल गर्दै अब रेडियोमा केही गर्नु पर्छ, फरक गर्नु पर्छ भन्ने सोच राखेर एफ एममा गलानी गरेको उद्यमी हुँ । म संचारकर्मी नभएको भए रेडियोको संचालक बन्ने सपना र योजना बनाउने थिइनँ । त्यसैले म आँफूलाई संचारकर्मी भन्न रुचाउँछु । अझै पनि म रेडियोमा न्यूज पढ्छु, कार्यक्रम संचालन गर्छु, अन्तरवार्ता लिन्छु र रिपोर्ट बनाउँछु ।

एउटा संचारकर्मी वा संचार उद्यमी भएर पनि गीत संगीतमा बढी चासो लिएको देखिएको छ । कारण के हो ?

बिग एफ एमलाई स्थापनाकालदेखि नै केही नयाँ योजना र बाटोमा अगाडि बढाउने क्रममा हामीले टपक्क टिपेको बिषय गीत संगीत हो । रेडियो परम्परागत तरिकाले चलाएर चल्दैन भन्ने हामीलाई महशुस भयो । पोखरा मुलतः सांगितिक नगरी हो । अलिमिया, धर्मराज थापा, झलकमान गन्धर्व र हरिदेवी कोइरालाजस्ता कालजयी गीतसंगीतका साधकहरु जन्मेको थलो हो पोखरा । कर्णदास, विवेक श्रेष्ठ र दुर्गा परियार जस्ता युवा गायक गायिकाहरुको जन्मथलो पनि पोखरा नै हो । यहाँको संगीतलाई यहीँकै संचारले संरक्षण र माया गर्नुपर्छ भनेर नै हामीले बिग आइकनको परिकल्पना गरेका हौँ । नयाँ प्रतिभालाई मञ्च दिएर व्यवसायिकता भन्दा पनि सामाजिक उत्तरदायित्वलाई इमान्दारीताका साथ निर्वाह गरेर हामीले हाम्रो वार्षिउत्सव मनाउँछौ । बिग आइकन हाम्रो कालेण्डरको कार्यक्रम हो जुन अहिले सारा पश्चिमाञ्चलबासीको आफ्नै कायृक्रम बनेको छ ।

बिग एफ. एम. कसरी पश्चिमाञ्चलकै नम्बर वान भयो ? के यो तपाईहरुको आफ्नै दाबी हो ?

बिग एफ एम पश्चिाञ्चलको नम्बर वान एफ एम हो भन्ने कुरामा कुनै शंका छैन । पश्चिामाञ्चलका प्रिय स्रोताहरुले केही नयाँ र सृजनात्मक कार्यक्रम र प्रस्तुतीको प्रतिक्षा गरिरहनु भएको थियो । उहाँहरुको त्यो चाहनालाई बिग एफ एमले पुरा गरिदियो, अझै गरिरहेको छ र त्यसैले त स्थापनाको छोटो समयमा नै बिग एफ एम लोकप्रिय बन्यो । बिग आइकनको लोकप्रियता सँग बिग एफ एमको लोकप्रियता जोडिन्छ । देश विदेशमा समेत लोकप्रिय रहेको बिग आइकन हामीले आयोजना गर्ने सबैभन्दा ठूलो भोलुमको कार्यक्रम हो भने हामी वर्षमा अन्य १ दर्जनभन्दा धेरै रेडियो मेगाशो एवम् इभेन्ट संचालन गर्छौ जहाँ लाखौँ स्रोताले फोन, एसएमएसबाट प्रत्यक्षः सहभागित जनाउने गर्नु हुन्छ । पोखरामा पहिलो पटक आयोजना भएको ‘बहत् शैक्षिक मेला इक्यान इडुकेसन फेयर’ को समेत हामी प्रीजेन्टर भएर सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिसकेका छौँ । हाम्रो अनलाईन सेवा देशभरकै सबैभन्दा राम्रा अनलाइन सेवा मध्येको एक हो जहाँ लगअन गरेर पूर्व मेचीदेखि पश्चिम कालीमा फैलेका हाम्रा स्रोताले हामीलाई सुन्ने गर्नु हुन्छ । सात समुन्द्र पारीबाट हाम्रो अनलाईन सुनेर स्काईप र फोनमार्फत दिनमा ५ सयभन्दा बढी स्रोताले हाम्रा कार्यक्रममा प्रत्यक्ष सहभागीता जनाउनु हुन्छ । हाम्रो सुन्ने कभरेज एरिया सबैभन्दा ठूलो छ । धादिङ, चितवन, नवलपरासी, स्यांजा, बाग्लुङ र पर्वतबाट समेत रेडियोको एफ एम व्याण्डमा हामीलाई सुन्ने स्रोताहरु हुनुहुन्छ जस्ले हाम्रो कभरेज सबैभन्दा बृहत् भएको पुष्टी गर्छ । संविधानसभाको चुनावमा होस् या पश्चिमाञ्चलका कुनै पनि घटना र कार्यक्रम नै किन नहोस् हाम्रो पहुँच र प्रसारणमा त्यसलाई हामीले नपारेका कुनै रेकर्ड छैन । हाम्रा कार्यक्रममा विविधता र मौलिकता छ । हामी काठमाडौँ या अन्य जिल्लाका कुनै पनि प्रसारणलाई रिले या हुक गदैनौँ । यो हाम्रो स्थापनाकालदखिकै पोलिसी हो । ‘एउटा कथा यस्तो पनि’ भन्ने रेडियो नाटकको श्रृंखला पश्चिामाञ्चलको आकाशीय तरंगमा प्रसारित भएको सबैभन्दा लामो र लोकप्रिय रेडियो कार्यक्रम हो । हाम्रो लोकप्रिय कार्यक्रम ‘आजिजा’ लाई एसी नेल्सनको रिपोर्टले पश्चिाञ्चलको सबैभन्दा चर्चित कार्यक्रम भनेर कोट गरेको छ । त्यही कार्यक्रमलाई हामीले ईभेन्ट बनाएर अहिले हरेक दशैमा ‘महाआजिजा’ संचालन गरिरहेका छौँ । दशैँमा दश दिनसम्म चल्ने यो कार्यक्रममा सहभागी भएर स्रोताले २५ हजार सम्मको नगद पुरस्कार जित्न सक्छन् । त्यसैले अब बिग एफ एम स्रोताको संख्या, सहभागीताको हिसाबले, हाम्रो टेक्नीकल र कार्यक्रमको गुणस्तरको हिसाबले र हामीले महिनैपिच्छे आयोजना गर्ने ईभेन्टको लोकप्रियताको हिसाबले हामी लिडर हौँ । जसरी पोखरा मुलुकको सबैभन्दा सुन्दर नगरी हो त्यसरी नै बिग एफ एम पश्चिमाञ्चलको नम्बर वान एफ एम हो । पोखराको सुन्दरतामा जसरी कसैको शंका छैन, हाम्रो मन बचन र कर्ममा पनि कसैको शंका छैन ।

अब कुरा गरौँ बिग आइकनकै । यो भन्दा आगाडिका बिग आइकनका विजेताहरुको स्थिती के छ ?

बिग आइकनका प्रतिस्पर्धीहरुले देशव्यापी पहिचान बनाउनेदेखि गायनमा निरन्तर कदम बढाइरहेका छन् । पहिलो विग आइकन २०१० का विजेता गगन पुनको पहिलो एल्बम ‘रिदम’ लोकप्रिय रह्यो । भर्खरै हङकङबासी नेपालीको निम्तोमा १ महिने हङकङ साँगितिक यात्रा पुरा गरी नेपाल फर्केका गगनको आवाज र संगीतमा रहेको ‘यो पहिलो पहिलो भेट चिनजान गरौँ कि’ बोलको गित र हङकङमै सुटिङ र रिलिज गरिएको म्युजिक भिडियो यतिखेर देश विदेशमा नेपालीहरुमाझ चर्चित छ । दोश्रो बिग आईकन २०११ का विजेता सुमन गौतमको आवाजमा रहेका ‘हेर्दै मलाई’, ‘मर्न त मर्छु म’ लगायतका गीतहरु यतिखेर रक्÷पप प्रेमी स्रोतामाझ चर्चित छन् र उनी भारतको विभिन्न स्थानमा २ हप्ते लामो सांगितिक यात्रा पुरा गरी भर्खरै नेपाल फर्केका छन् । उनी बिग आइकन बनेको पहिलो महिनामा नै महानायक राजेश हमाल अभिनित चलचित्र ‘रक्षा’ को शीर्ष गीत गाउनको लागि अनुबन्धित भएका थिए । उनी अहिले पोखरा र आसपासमा हुने मेला महोत्सव र सांगितीक कार्यक्रमहरुमा आफ्नो रक गायनमार्फत स्टेज तताउनमा माहिर मानिन्छन् र पोखराको एक प्रतिष्ठीत बारमा राम्रो सेवा र सुविधा लिई व्यवसायिक गायनलाई अगाडि बढाइरहेका छन् । गत वर्ष की विजेता मुस्कान रानाभाट अहिले दोश्रो एल्बमको तयारीमा छिन् । बिग आइकन भएबापत् दि ब्रिटिस कलेज काठमाडौँले उनलाई प्रदान गरेको पुरस्कार एवम् अफरमा उनी सांगितीक यात्राको लागि बेलायत जाँदैछिन् ।

अन्तमा भन्नु केही छ कि ?
एउटा उत्साही रेडियो जुन सकरात्मक सोचका साथ अगाडि बढेको छ त्यो रेडियोले स्रोताको मन जहिले पनि जित्छ र समाजलाई जुरुक्क उचाल्छ । संसार बदल्नु छ तर त्यसको सुरुवात आँफैबाट गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । राजनीति र नेतालाई दोष लगाएर बस्नु भन्दा आफ्नो कर्ममा निरन्तर लागेर संस्था र समाज गर्न सकिन्छ । यस्को प्रमाणको रुपमा बिग आइकनलाई लिन सकिन्छ । सबै अडिसन र प्रस्तुतीहरुलाई रेडियो बाट मात्रै प्रशारण गरेर पनि स्रोताहरुको मन जित्ने कार्यक्रम गर्न सकिन्छ, नयाँ प्रतिभालाई मञ्च दिएर उनीहरुको भविष्य द्रष्टा बन्न सकिन्छ भन्ने प्रमाण हो यो । हाम्रो असल र कुशल कार्यमा सहयोग र समभाव राख्नुहुने सम्पूर्ण विज्ञपान दाता, प्रायोजक, स्रोता, सम्पूर्ण संचारकर्मी र शुभेच्छुकहरुलाई म सादुवाद व्यक्त गर्न चाहन्छु । सराङकोट साप्तहिकलाई धन्यवाद दिन चाहन्छु ।

कमेन्ट गर्नुहोस्
Share: