पोखरा, १० साउन / नेवारहरुको सांस्कृतिक पर्ब तायमचा नाच नजिकिदै गर्दा नेवाः खल कास्कीले यसको तयारी तिव्र पारेको छ । साथै नेवाः खल कास्कीले पोखराका बिभिन्न टोलमा रहेका नेवार समुदायलाई संगठित गर्दै भातृ संस्था गठन कार्य लाई पनि तिव्रता दिएको छ । यसैबिच नेवा खल कास्की तथा जाल्पादेबि नेवा कचा खलको आयोजनामा नेवा मिसा पुच र ल्याम्म पुच जाल्पादेबी गठन गरिएको छ ।
शनिबार एक कार्यक्रमका बिच गठन गरिएको नेवा मिसा पुच जाल्पादेबीमा उमा श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती चयन गरिएको छ । जसमा अनिता बिजुक्छे उपाध्यक्ष, बिन्ध्येश्वरी श्रेष्ठ सचिब, मोहनमाया श्रेष्ठ सहसचिब तथा सपना ठुसाजु कोषाध्यक्षमा चयन भएका छन् । सदस्यहरुमा कमला जोशी, शान्ती माया श्रेष्ठ, सबिना बिजुक्छे, शान्ती खिचाजु र उषा ताम्राकार रहेका छन् । त्यसैगरि शनिबार नै जाल्पादेबि ल्याम्म पुचको गठन गरिएको छ । ल्याम्म पुचका लागि राजिब खिचाजुको अध्यक्षतामा ७ सदस्यिय कार्यसमिती चयन गरिएको छ । जसमा अनिश श्रेष्ठ उपाध्यक्ष, इरोज श्रेष्ठ सचिब, बिजेन्द्र श्रेष्ठ कोषाध्यक्ष छन् भने सदस्यहरुमा किस्मत ठुसाजु, सुमन श्रेष्ठ, निश्चल बिजुक्छे चयन भएका छन् ।
कार्यक्रममा सन् २०१४ को मिस मेघा मोडल अन्जली बिजुक्छे, मिस नेवा ११३४ रुची श्रेष्ठ, तथा अघिल्लो बर्षको तायमचा नाचमा पुरस्कृत हुन सफल बिजेन्द्र बिजुक्छेलाई सम्मान गरिएको थियो । सो अवसरमा जाल्पादेबी नेवा कचा खलले नेवा खल कास्कीको नया कार्यसमितीलाई स्वागत तथा खादा ओढाएर कार्यकालको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले नेवारी एकताका साथै नेवारी भाषा संस्कृति, तथा सामाजिक परिबर्तनका लागि सम्पुर्ण नेवार समुदाय एक हुनुको बिकल्प नभएको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा नेवा खल कास्कीका महासचिब प्रदिप रञ्जित, तिर्थ श्रेष्ठ गोशली, राजेन्द्र ठुसाजु, संगीता बज्राचार्य, नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदास, मिस नेवा रुची श्रेष्ठ, सृजना बिकास केन्द्रका अध्यक्ष रुद्रनाथ बराल, वडा नम्बर ८ का पुर्व वडाध्यक्ष तथा समाजसेवी बिरेन्द्र नारायण बिजुक्छे, नेवाः खल कास्कीका सल्लाहकार सनकमान बाटाजु लगायतले बोलेका थिए । कार्यक्रम जाल्पादेबी तायमचा समितीका अध्यक्ष कृष्णमान ठुसाजुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
