रञ्जन अधिकारी, पोखरा १२ साउन / राज्यको उचित नीतिको अभावले जीवनपयोगी प्राबिधिक शिक्षामा आम विद्यार्थीको पहुँच पुग्न नसकेको पोखरामा आयोजित कार्यक्रममा औंल्याईएको छ । प्राविधिक शिक्षा अध्यापन गराउने जिम्मा पाएको सिटिईभिटीको भूमिका नै प्रभावकारी हुन नसक्दा प्राविधिक शिक्षा लिएर पनि हजारौं जनशक्ति बेरोजगार रहनुपरेको तीतो यथार्थ हामीसामु रहेको वक्ताहरुले बताए ।
अनेरास्ववियु (क्रान्तिकारी) सिटिईभिटि तमुवान संगठन समितिले आईतबार आयोजना गरेको ‘प्राबिधिक शिक्षा, आम विद्यार्थीको पहँुच’ बिषयक अन्तक्रिर्या कार्यक्रममा सहभागीहरुले नेपालको शिक्षा प्रणाली नै जीवनमुखी हुन नसकेकाले व्यवहारिक शिक्षामा जोड दिए । उनीहरुले अध्ययनपछि राम्राले भन्दा हाम्राले जागिर पाउने अवस्था रहेकाले प्राविधिक शिक्षा लिएर पनि कति विद्यार्थीहरु बेरोजगार रहनुपरेको भन्दै चिन्ता व्यक्त गरे ।
फिस्टेल नर्सिङ क्याम्पसमा तेस्रो बर्षमा अध्ययनरत छात्रा सुष्मा आचार्यले आठ–नौ लाख खर्चेर नर्सिङ पढेर जागिर खाने क्रममा भोलेण्टियर काम गर्न पनि सोर्सफोर्स लगाउनुपर्ने बाध्यता रहेको भन्दै सात हजार जागिरका लागि सरकारी र प्राईभेट क्याम्पस भन्दै भेदभाव हुने गरेको बताईन् । अस्पतालले समेत राम्रा भन्दा संचालकका नातेदार, आफन्तलाई स्टाफ नर्स लिने गरेको जनाउँदै उनले नेपालमा नर्सिङ शिक्षा नै खतरामा परेको औंल्याईन् ।
अनेरास्ववियु (क्रान्तिकारी) सिटिईभिटि तमुवान समिति संयोजक मणि न्यौपानेले सिटीईभिटीका नेतृत्व पंक्ति, पोखराका नर्सिङ पढाई हुने छ वटा क्याम्पसलाई नै चुनौति दिँदै नयाँबजारमा संचालित मार्गदर्शन एकेडेमी जस्ता मोटो रकम लिँदै विद्यार्थी किनबेच गर्ने शैक्षिक माफियाहरु फस्टाउनु मुलुककै दुर्भाग्य भएको बताए । नर्सिङ लगायतको तयारी कक्षा सञ्चालनका नाममा मार्गदर्शन एकेडेमीले पोखराका क्याम्पसहरुबाट मोटो रकम लिँदै विद्यार्थी पठाउन बार्गेनिङ गर्ने, हजारौं विद्यार्थीहरुलाई नाम निकाल्ने भन्दै एक हजारको फाराम १० हजारसम्म ठगेर विभिन्न शहर पठाउने गरेको प्रमाण उनले सरोकारवाला पक्षका बीच सार्वजनिक गरे ।
मार्गदर्शन एकेडेमीबाटै १८ विद्यार्थी लिन फाराम भर्नका लागि १८ हजार बुझाएको बिल सार्वजनिक भएपछि त्यसबारे प्रस्टीकरण दिँदै पद्य नर्सिङ होम नर्सिङ क्याम्पसकी प्रिन्सिपल ईन्दु थापाले बिल काट्ने सन्दर्भमा गल्ती भएपनि क्याम्पसले अन्य गलत काम नगरेको स्पष्ट पारिन् । उनले विद्यार्थी र क्याम्पसको बीचमा रहेर खानेहरुलाई कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराईन् ।
फिस्टेल नर्सिङ क्याम्पसकी प्रिन्सिपल जिता बरालले संस्कार नै दोषी भएकाले नेपालमा हरेक क्षेत्रमा समस्या आएको भन्दै मुहान नै धमिलो भएकाले बिग्रिएको प्रणाली सुधार्नुपर्नेमा जोड दिईन् । नेपालमा अहिले पचास हजार चार सय ७० नर्स उत्पादन भएपनि कति बेरोजगार रहनुपरेको उल्लेख गर्दै उनले नर्सिङ शिक्षाको भविष्य नै संकटमा परेकोमा चिन्ता व्यक्त गरिन् ।
उत्कृष्ट पठनपाठनका कारण फिस्टेल नर्सिङ पोखराकै पहिलो नम्बरमा रहेको दाबी गर्दै उनले मार्गदर्शन एकेडेमीका पुरन श्रेष्ठको निकट र टाढाका आधारमा बन्ने सूचि मान्नु नपर्ने प्रष्ट पारिन् । ‘हजारौं छात्राहरुलाई पोखराका विभिन्न क्याम्पसमा नाम निकाल्दिन्छु भन्दै तयारी कक्षाका नाममा बार्गेनिङ गर्दै पैसा लिएर सपिङ कम्प्लेक्स बनाईसकेको अवस्था छ ।’ उनले भनिन् – ‘कम अंक आएका छात्राहरुलाई बिराटनगर, नेपालगञ्ज, वीरगञ्ज गए नाम निस्कन्छ भन्दै मोटो रकम कुम्ल्याउने गरेको वर्षौ भईसक्यो । यस्ता माफिया विरुद्ध विद्यार्थी संगठन लाग्नुपर्छ ।’
कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले प्राविधिक शिक्षको आवश्यकता बोध गरेर २०२८ सालमा सरकार अग्रसर भएपनि योजना एक दशकमै तुहिनु विडम्वनापूर्ण भन्दै समस्या कहाँ छ त्यसलाई खोतलेर सुधार गर्दै जानुपर्ने बताए ।
उच्च माध्यमिक शिक्षा परिषद् पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख रमेश अधिकारीले राज्यले केहि गर्न खोजेपनि गर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रको योगदानलाई भुल्न नहुने बताए ।
हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले पढेर गरी खाने सीप चाहिने र यसका लागि प्राविधिक शिक्षा आवश्यक रहेको जनाउँदै सरकारले लगानी गर्न तयार हुनुपर्नेमा जोड दिए ।
एनप्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले शिक्षाको पद्धती व्यवहारमुखी, जीवनमुखी हुनुपर्नेमा हाम्रो शिक्षा प्रणाली पुस्तकमुखी भएको चर्चा गरे । उनले नेताहरु पार्टीको ह्विपमा चल्ने गरेकाले राष्ट्रिय हितको एजेण्डा कहिल्यै प्राथमिकतामा नपरेको भन्दै दुःख व्यक्त गरे ।
फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका सचिव चन्द्रकान्त पौडेलले प्राविधिक शिक्षा सुधार र राज्यको नीति निर्माणमा विद्यार्थीहरु एकजुट भएर जानुपर्नेमा विद्यार्थी संगठनहरु नै आफ्नै स्वार्थमा अल्झनु विडम्वनापूर्ण रहेको बताए ।
नेकपा–माओवादी कास्कीकी सेक्रेटरी सावित्री दुरा आस्थाले पहुँच आवश्यकता भएपनि यससँगै गुणस्तरलाई ध्यान दिनुपर्नेमा जोड दिँदै नेपालको शिक्षा प्रणाली नै सुधार्नुपर्ने आवश्यकता औंल्याईन् ।
पीटीएचएमए, क्याम्पस प्रमुख डा. दीपक सुवेदीले प्राविधिक शिक्षा दिने क्रममा नाफा मात्रै खाएको नबुझ्न आग्रह गरे ।
अनेरास्ववियु सिटिईभिटिका केन्द्रीय सचिवालय सदस्य कमल न्यौपानेले सिटिईभिटि मापदण्ड अनुसार नचलेको बताए। प्राविधिक शिक्षा पछिल्लो समय नीजिकरणतिर गएपछि सर्वसाधारणको पहुँच भन्दा माथि रहेको उनको भनाई थियो ।यस्तै, केन्द्रिय सदस्य ईश्वरी अधिकारीले सरल र सहज पहुँच नभएकाले प्राविधिक शिक्षा धनीहरुले मात्र लिने बिषय जस्तो बनेको बताए ।
नेवि संघ कास्कीका नेता भानु ढकालले देश विधिको शासनमा चल्न नसक्दा सबै ठाउँमा समस्या देखिएको जनाउँदै विद्यार्थीका राजनीतिक संगठन समेत चुकिरहेको स्वीकार गरे ।
अनेरास्ववियू कास्कीका अध्यक्ष अर्जुन अधिकारीले विद्यालय तहदेखि नै प्राविधिक शिक्षा दिनुपर्नेमा उच्च मावि र विश्वविद्यालय तहमा पढाई सञ्चालन भएको उल्लेख गर्दै विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षा नीति हुनुपर्नेमा जोड दिए ।
अखिल छैठौंका केन्द्रिय सचिवालय सदस्य गणेश अधिकारीले राज्य पुर्नसंरचनाको चरणमा रहँदा शिक्षाको पुनसंरचनाबारे पनि बहस अनिवार्य भन्दै धनीका लागि मात्रै होईन गरीबको पहुँच पुग्नुपर्नेमा जोड दिए ।
