आश गुरुङ
गुरुङ जातिको उद्गमस्थल मानिने लमजुङमा यो समुदायको बाक्लो बसोवास छ । हिमाली काख र स्वच्छ हावापानी रुचाउने गुरुङ समुदायको मौलिक कला र संस्कृतिले धेरै पर्यटक पनि आकर्षित गरेको छ । पहिले रोदीमार्फत सामुहिक एकतामा बाँधिएका गुरुङ समुदाय हिजोआज युवा समूह, आमा समूह र बाबा समूह मार्फत गाउँ विकास गर्न र चिनाउन जुटेका छन् । उनीहरुकै सक्रियतामा लमजुङका गुरुङ गाउँहरु ग्रामीण पर्यटकीय क्षेत्र बनेका छन् ।
सार्क राष्ट्रकै नमुना गाउँ घलेगाउँ, एउटै गाविस एउटै गाउँको रुपमा परिचित भुजुङ र गुरुङ जातिको उद्गमथलो घनपोखरा ग्रामीण पर्यटनमा अगाडि छन् । यी गाउँबाट शुरु भएको सामुहिक एकताको सिको गर्दै जिल्लाका अरु गुरुङ गाउँमा पनि पर्यटन समिति मार्फत पर्यटन प्रवर्द्धनका कामहरु भइरहेका छन् । सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा घलेगाउँबाट लमजुङमा ग्रामीण पर्यटनको शुरुवात भएको मानिन्छ । २०५७ सालमा पहिलोपटक महोत्सव गर्न सफल घलेगाउँबाट शुरु भएको ग्रामीण पर्यटनको अवधारणा अरु गाउँहरुसम्म पुगेको छ । भुजुङ, पसगाउँ, सिउरुङ, खासुर, घनपोखरा, हिलेटक्सार, राइनासमोहोरियाकोट हुँदै तार्कू, पुरानकोट, गाउँशहर, ताघ्रिङ, इलमपोखरी, नाल्मा लगायतका गाउँमा विकास भएको ग्रामीण पर्यटकीय अवधारणा घलेगाउँकै देन हो ।
विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गाउँ हुन्, तर, सबै पर्यटकीय गाउँहरु गुरुङ गाउँ भने हैनन् । गुरुङ जातिको आदिमथलो क्होलः सोँथरबाट बसाई सर्ने क्रममा गुरुङहरु लमजुङको घनपोखरा र भुजुङको सिमाना विजोँ आएर बसेको बताइन्छ । त्यसपछि घनपोखराको फूल्बू च्होमा आएका गुरुङ जाति सुरक्षा, आर्थिक र अरु ब्यवहारिक कारणले ठाउँठाउँमा गएर बस्न बाध्य भएको गुरुङ इतिहासविदहरु बताउँछन् । अहिले गुरुङहरु पूर्व मेचीदेखि पश्चिम कालीसम्म मात्रै नभई विश्वका औद्योगिक मुलुकहरुमा समेत छन् ।
घनपोखराको नाल, दशथरमा पर्ने घलेगाउँ अहिले विश्वमै चर्चित छ । घलेगाउँ २ पटक सार्क राष्ट्रको नमुना गाउँको रुपमा घोषणा भइसकेको छ । समुन्द्री सतहबाट २ हजार १ सय मिटरको उचाइमा रहेको घलेगाउँमा १ सय १५ घर छन् । उनीहरुले पहिलोपटक २०५६ सालदेखि ग्रामीण पर्यटनको अवधारणा भित्र्याएर २०५७ सालदेखि महोत्सव मनाउन थालेका हुन् । घलेगाउँका वासिन्दाले गएको बैशाख अन्तिम हप्ता १५ औं घलेगाउँ महोत्सव मनाए ।
अहिले घलेगाउँमा आन्तरिक तथा बाह्य पर्यटकको चाप छ । ग्रामीण पर्यटनबाट नै स्थानीयवासिन्दाले अहिले बार्षिक लाखौँ रुपैयाँ कमाउने घलेगाउँ ग्रामीण पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष प्रेम घले वताउँछन् । घलेगाउँमा अहिले ३२ घरमा होमस्टे रहेको छ । पर्यटन ब्यवसाय सफल बन्दै गएपछि विदेश गएका युवाहरु पनि गाउँमै फर्कन थालेका छन् । प्रचारप्रसारकै कारण घलेगाउँ गुरुङ चलचित्रको छायांकनस्थल समेत बनेको छ ।
लमजुङको सबैभन्दा उच्च क्षेत्रमा रहेको घनपोखरा गाउँ घलेगाउँबाट नजिकै पर्छ । यस्तै, सदरमुकाम नजिकै रहेको खासुरमा पनि २०५८ सालदेखि ग्रामीण पर्यटनको अवधारणा भित्रिएको हो । त्यसयता केही सेलाएको खासुर फेरि पर्यटन प्रवद्र्धनमा जुटेको छ । एउटा गाविस एउटै गाउँले परिचित भुजुङमा ४ सय भन्दा बढी घरधुरी छन् । समुन्द्री सतहबाट १६ सय ५० मिटरको उचाईमा रहेको भुजुङका २० घरमा होमस्टे राखिएका छन् भने आधा दर्जन होटल छन् । समयसमयमा स्थानीयले गर्ने मेला महोत्सवले भुजुङको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ । चियाखेती विस्तार भएपछि पर्यटकहरु झन् भुजुङ जान रुचाउँछन् ।
भुजुङमा २०५६ सालदेखि चौविसै घण्टा विजुलीको झिलिमिली छ । स्थानीय आमा समूह, पर्यटन समिति, युवा क्वल, रीतिथिति समिति, साथै छुट्टाछुट्टै संस्कृतिका समूहरु गाउँको कला संस्कृति जगेर्नादेखि लिएर गाउँघरको सरसफाइ र विकास निर्माणमा जुटेका छन् । यहाँ तीनवटा रोपवे समेत छ । भुजुङबाट कास्कीका गुरुङ गाउँहरु ताङतिङ र सिक्लेस जान सकिने भएकाले पर्यटकहरु दुबैतर्फ ओहोर दोहार गर्छन् ।
लमजुङको सिउरुङ गाउँ, मनास्लु हिमालको काखमा छ, जहाँबाट मर्स्याङ्दी नदीको नागबेली मनमोहक तरिकाले देख्न सकिन्छ । समुन्द्री सतहदेखि १८ सय ५४ मिटरको उचाइमा रहेको सिउरुङमा स्थानीय वासिन्दाले २०६२ सालदेखि महोत्सव गर्दै आएका छन् । उनीहरुले यसवर्षको जेठ १५ देखि १७ गतेसम्म आठौं सिउरुङ महोत्सव मनाए । महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको पर्यटन ब्यवस्थापन समितिका सचिव उमरबहादुर गुरुङ बताउनुहुन्छ । यहाँका १५ घरमा होम स्टे सञ्चालन गरिएको छ । समूहमा आउने पर्यटकलाई स्थानीय आमा समूहले सामुदायिक भवनमा राख्ने गर्छन् । गुम्बा, भ्यू टावर र निर्माण हुन लागेको गुरुङ संग्रहालयले पनि सिउरुङमा थप पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ।
सिउरुङ नजिकैको हर्सिङडाँडा पनि पछिल्लो समय पर्यटन गन्तब्य बनेको छ ।
पसगाउँ, खासुर, तार्कु, गाउँशहर काउलेपानी, ताघ्रिङ, बाग्लुङपानी, राइनास मोहोरियाकोट, तातोपानी कुण्ड, पुरानकोट, नाल्मा, गिलुङ, करापू, भाचोक पनि पर्यटकले रुचाउने ठाउँहरु हुन् । यी ठाउँहरुमा पूर्वाधारको विकास भइरहेका छन् । स्थानीय होटलमा तातो र चिसोपानीले नुहाउने ब्यवस्था, भ्यू प्वाइन्ट लगायत छन् भने होमस्टेको पनि राम्रो ब्यवस्था छ । विश्वविख्यात अन्नपूर्ण पदमार्गमा जाने विदेशी तथा स्वदेशी पर्यटकहरु यी ठाउँहरुमा जाने गरेका छन् भने यसै ठाउँलाई गन्तब्य बनाएर पर्यटकहरु आउने क्रम पनि बढेको छ । ग्रामीण पर्यटनले ती क्षेत्रका वासिन्दाको जनजीवनमा समेत सकरात्मक परिवर्तन आएको छ ।
जिल्लास्तरमा गरिने महोत्सवले पनि ग्रामीण पर्यटनमा फाइदा पुगेको छ । २०६१ सालमा पहिलो पटक तमू महोत्सव भयो त्यसपछि २०६८ सालमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव पनि भयो । लमजुङ महोत्सव लगायतले पनि ग्रामीण पर्यटन प्रवर्द्धनमा ठूलै टेवा मिलेको छ । जिल्ला विकास समितिले लमजुङको आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने नीति लिएको छ । यसका लागि जिविसकै नेतृत्वमा छुट्टै पर्यटन समिति बनेको छ । यसले बर्षेनी पर्यटकीय क्षेत्रका लागि बजेट पनि विनियोजन गर्दै आएको छ ।
लमजुङका ग्रामीण क्षेत्रमा पर्यटन विकास गर्न विदेश रहेका जिल्लावासीको पनि ठूलो योगदान छ । उनीहरुले आफु रहेको देशमा आफ्नो गाउँको प्रचार प्रसार गर्दै आएका छन् । स्थानीय स्तरमा बढेको अर्गानिक उत्पादनले पनि पर्यटक आकर्षित गरेको छ ।
यहाँका गुरुङ वस्ती वरपर पाइने भीरमौरीले पनि पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको छ । गुरुङ जातिको उत्पत्तिसंगै भीरमौरीको उत्पत्ति भएको गुरुङ पुरोहितहरु बताउँछन् । गुरुङ जातिको पौराणिक ‘खार्ब पे’ कथामा गुरुङ र भीरमौरीको साइनो र सम्बन्धका बारेमा ब्याख्या गरिएको पाइन्छ । भुजुङ, घनपोखरा, खुदी, ताघ्रिङ, भुलभुले, पसगाउँ, दुधपोखरी लगायत भीर पहराहरुमा भीरमौरीहरु प्रशस्तै पाइन्छन् । झण्डै १५ सयदेखि २५ सय मिटरको उचाईका पहराहरुमा भीरमौरीले घार बनाएको हुन्छ ।
गुरुङ जातिको परम्परा र इतिहाससंग साइनो भएका भीरमौरीहरु गुरुङहरुको वसोवास क्षेत्रमा नै पाइन्छ । भीरमौरी पाइने भीरको नाम पनि गुरुङ भाषामा नै छन् । भीरमौरीले पर्यटन प्रवद्र्धन गर्नुका साथै गुरुङ गाउँहरुलाई विश्वमा चिनाएको द ब्रेभ वीरलाल हनिहन्टर बृत्तचित्रका नायक वीरलाल गुरुङ बताउनुहुन्छ ।
ग्रामीण पर्यटन प्रवर्द्धनमा ठोस सरकारी नीति नभएपनि स्थानीय वासिन्दाको सक्रियताका कारण लमजुङमा ग्रामीण पर्यटन थेगिएको छ । गुरुङ समुदायमा रोधी र अरु सामाजिक गतिविधि हेर्न आउने वरपरका मानिसहरुबाट शुरु भएको ग्रामीण पर्यटन अहिले विदेशी पर्यटक आकर्षित गर्ने अवस्थासम्म पुगेको छ । ग्रामीण पर्यटन प्रवर्द्धन गर्न स्थानीय वासिन्दाको प्रयासमा सरकारले पनि सहयोग गर्नुपर्ने बेला आएको छ ।
Source: ujyaaloonline.com






