कास्की स्थित कार्यालयहरुको वार्षिक प्रगति समिक्षा, जनताले कस्तो सेवा पाए ? मनन गर्न प्रजिअद्वारा ध्यानाकर्षण

Share:

रञ्जन अधिकारी पोखरा, १५ साउन / कास्कीका कार्यालयहरुको वार्षिक प्रगति समिक्षा गोष्ठी विहीबारदेखि सुरु भएको छ । जिल्ला विकास समितिको कार्यालय लगायत जिल्लाका विकाससँग सम्बन्धित सरकारी कार्यालयहरु, संस्थान, गैरसकारी संघसंस्थाको प्रगति प्रतिवेदन पेश हुनेछन् । समिक्षा गोष्ठीमा सम्बन्धित कार्यालय, संघसंस्थाबाट प्रस्तुत प्रतिवेदन माथि सहभागीहरुबाट आएका टिप्पणी, जिज्ञासाको जवाफ सम्बन्धित संघसंस्थाका प्रमुख एवं प्रतिनिधिले दिनेछन् ।

विहिबार आर्थिक विकास समिति तथा भौतिक पूर्वाधार विकास समिति अन्तर्गतका करीब १० कार्यालयहरुले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । जनताको हितमा पर्याप्त काम गर्न नसकिरहेको भन्दै सहभागीहरुले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराए । उनीहरुले गैससहरु पनि तालिममात्रै आयोजना गरेर बस्दा सेवाग्राहीले केहि उपलब्धि हासिल गर्न नसकेकाले छानविन गर्न सम्बन्धित कार्यालयको ध्यानाकर्षण जनाउँदै जिल्ला विकास समिति र प्रशासन कार्यालयले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

कृषिसँग सम्बन्धित पाँच कार्यालयको प्रतिवेदन सुनेपछि गोष्ठीमा सहभागी कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले कृषिलाई व्यवसायिक गर्ने भनेर भनिरहेपनि भैरहेका गतिविधिले जनताको जीवन स्तर माथि नउठ्ने दाबी गरे । ‘नीति त छ तर कार्यान्वयनमै समस्या छ । तालिम, सचेतना, अभिमुखीकरणको नाममा फोटो मात्र खिचेर कार्यक्रम सम्पन्न गर्ने परम्परा छ ।’ उनले भने – ‘सरकारी कार्यालयहरुबाट, गैसस संघसंस्थाबाट जनताले कस्तो सेवासुविधा पाए त ? यसबारे मनन गर्नु जरुरी छ ।’

गोष्ठीमा विहिबार जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, कृषि सामाग्री कम्पनी लि., कृषि विकास बैंक, कृषि तथा बागवानी फार्म, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण खानेपानी कार्यालय, पश्चिमाञ्चल सडक डिभिजन कार्यालय नं. २, सिंचाई डिभिजन कार्यालय, खानेपानी संस्थान कास्की, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय लगायतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जिल्ला कृषि विकास कार्यालय, कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोईरालाले कास्कीमा २० लाख १७ हजार हेक्टर जमिनमध्ये ६८ हजार नौ सय ६७ खेती योग्य जमिन रहेपनि ४८ हजार छ सय ३३ हेक्टर जमिनमा मात्रै खेतीपाती भएको जानकारी दिए । गत वर्ष एक सय हेक्टर क्षेत्रफलमा तरकारी खेती विस्तार भएको र १२ सय मेट्रिक टन तरकारी थप उत्पादन भएको जनाउँदै कार्यालयले गरीवि निवारण तथा रोजगारमुलक कार्यक्रम, कृषि जैविक विविधता संरक्षण लगायतका कार्यक्रम सञ्चालन गरेको जनाए । कार्यालय अन्तर्गत १६ ओटा गैससहरु रहेपनि आठ कार्यालयले मात्रै प्रतिवेदन बुझाएको जानकारी समेत उनले गराए ।
जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत शम्भुराज पाण्डेले विभिन्न गैसस संघसंस्थासँग सहकार्य गर्दै कास्कीमा पशु पालन कार्यक्रम, पशु स्वास्थ्य, पशु विकास कार्यक्रम प्रजनन सेवा, आहारा विकास, कृषक तालिम आयोजना गरिएको जनाउँदै आर्थिक अनुदान, पशु तथा बिउ वितरण गरिएको जानकारी दिए । उनले गत वर्ष फछ्यौट हुन बाँकी पेश्की नरहेको, कूल बेरुजु १८ लाख ४१ हजार रहेकोमा यस वर्ष ९५.६ प्रतिशत रकम फछ्यौट भएको जनाए ।

कृषि सामाग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक हरिप्रसाद ढकालले एक हजार मेट्रिक टन क्षमताको गोदाम मात्रै रहेकाले आवश्यक मात्रामा भण्डारणको समस्या रहेको हुँदा चाहिने बेला मलको अभाव हुने गरेको बताए । साल्ट टे«डिङले पनि मलको कारोबार गर्ने भएकाले त्यहाँ पनि सम्पर्क गर्न सकिने उनको भनाई छ ।

कृषि विकास बैंकका शाखा प्रबन्धक सुरेन्द्रकुमार अर्यालले चियाकफी, पशुपालन, कुखुरापालन, माछापालन, खाद्य उत्पादन लगायतका क्षेत्रमा बैंकले ऋण उपलब्ध गराएको जानकारी गराए ।

क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय पोखराका ई. शिवहरि आचार्यले गतवर्ष निर्मलपोखरीमा एक र भरतपोखरीका दुई स्थानमा खानेपानी आयोजना सम्पन्न भएको जनाए । उनले क्षेत्रीय पानी प्रयोगशालामा गएर सशुल्क पानीको परीक्षण गर्न सकिने बताए ।

कृषि अनुसन्धान केन्द्र (बागवानी) मालेपाटनका प्राविधिक अधिकृत सरोज अधिकारीले माटो सुहाउँदो खेती गर्न सुझाए ।

घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नन्दलाल पौडेललेगत आर्थिक वर्ष सात सय ८० उद्योग दर्ता भएको जानकारी गराउँदै हालसम्म उद्योगको संख्या सात हजार २ सय १० ओटा पुगेको जनाए । सात सय ८० उद्योग दर्ता हुँदा तीन हजार बढिले रोजगारी पाएको उनको भनाई छ ।

पश्चिमाञ्चल सिञ्चाई विकास डिभिजन नं. २ की ई. जमुना परियारले कास्कीमा सिंचाई विकासका लागि चार करोड ७५ लाख १३ हजार बजेट विनियोजन भएको जनाईन् । पश्चिमाञ्चल डिभिजन सडक कार्यालय नं. २ का ई. विश्वविजयलाल श्रेष्ठले कास्कीका सडक निर्माण, खानेपानी संस्थानका प्राविधिक अधिकृत दिनेश्वरप्रसाद यादवले खानेपानी सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरे ।

शुक्रबार सामाजिक समिति, बन तथा वातावरण समिति अन्तर्गतका कार्यालय लगायत गैसस संघसंस्थाले वर्षभरी गरेका कामकारबाही बारे जानकारी गराउने कार्यक्रम रहेको जिल्ला विकास समिति कार्यालय, कास्कीका योजना अधिकृत निशानराज गौतमले जनाए । कार्यक्रमको अध्यक्षता कास्कीका निमित्त स्थानीयविकास अधिकारी नारायणप्रसाद श्रेष्ठले गरेका थिए भने ई. कृष्ण आचार्यले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: