
बिग न्युज पोखरा, ३१ साउन /पोखराको प्रदर्शनी केन्द्रमा शनिबारदेखि जननी तीज विशेष पश्चिमाञ्चल हस्तकला व्यापार मेला २०७१ सुरु भएको छ । कास्की पोखरा हस्तकला संघ र रेडियो जननी ९०.६ को संयुक्त आयोजनामा ‘उद्यमशिलतामा सँगसँगै अगाडी बढौं’ भन्ने मूल नाराका साथ आयोजित मेला भदौ ८ गतेसम्म चल्नेछ । मेलाको कास्कीका चार सभासद्हरु रविन्द्र अधिकारी, शारदा पौडेल, बृन्दा राना र तेज कुमारी पौडेलले संयुक्त रुपमा उद्घाटन गरे ।
कांग्रेस सभासद शारदा पौडेलले अब बन्ने संविधान सबैलाई मान्ने हुने संविधान बन्ने बताईन् । संविधानमा महिला, दलित, जनजाति, अपाङ्ग सबैलाई समेटिने उनको भनाई थियो । तीजलाई भड्किलो रुपमा नभई विस्तारित रुपमा सरल तरिकाले मनाउन पौडेलले जोड दिईन् ।
काँग्रेसकै सभासद् बृन्दा राना मगरले उद्यमशीलताले रोजगारीको अवसर प्रदान गरेको बताउदै आगामी दिनमा उत्पादन गरेका हस्तकलाका सामाग्रीको एकै ठाउँमा बजार व्यवस्थापन हुन जरुरी रहेकोमा जोड दिईन् ।
एमाओवादी सभासद् तेज कुमारी पौडेलले महिला मुद्धाका सवालमा महिला सभासद्हरु एकताबद्ध भएर अगाडि बढेको बताईन् । आफ्नो हक अधिकार स्थापनाका लागि महिलाहरु आन्दोलनका लागि तयार रहेको पनि उनले बताईन् । सभासद् अधिकारी भने उद्घाटन पछि कार्यव्यस्तताका कारण सम्बोधन नै नगरी कार्यक्रमबाट बाहिरिएका थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले हस्तकलाको प्रवद्र्धनका लागि मेला महोत्सवले टेवा पुग्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय अध्यक्ष आनन्दराज मुल्मीले महिला उत्थानका लागि कास्कीबाट गएका सभासद्हरुले मुख्य भूमिका खेल्नु पर्नेमा जोड दिए । पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले तीजको अवसरमा नाच्ने गाउने मात्र नभइ महिलाहरुलाई सीप सिक्ने अवसरका रुपमा मेला प्रभावकारी हुने बताए ।
मेला मुल समारोह समितिका संयोजक हिरा भट्टराईको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीव बहादुर कोइराला, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरि, वरिष्ठ लोक तथा दोहोरी गायक प्रजापति पराजुली, गुरुङ्ग केबलका निर्देशक बम बहादुर गुरुङ्ग, पोखरा सिटी रेवानका अध्यक्ष केपी शर्मा उपाध्याय, महिला समन्वय समिति वडा नं १३ का अध्यक्ष सत्य खनाल, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख बसन्त लामा, बानका उपाध्यक्ष रमेश पौडेल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष माधव पराजुली लगायतले मेलाको सफलताको शुभकामना दिएका थिए । रेडियो जननीका उपाध्यक्ष डा. गोमा तुलाचनले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गरेका थिए । मेलामा स्वस्तिक हस्तकलाले आÇनो पहिलो ग्राहक एसओएस हर्मन माइनर स्कुल गण्डकीमा कक्षा २ मा अध्ययनरत जिया रेग्मीलाई सभासद बृन्दा रानाबाट माला लगाएर सम्मान गरिएको थियो ।
मेलाका प्रचारप्रसार संयोजक विमला भण्डारीका अनुसार मेलामा आइतबार देखि विभिन्न सांस्कृतिक कार्यक्रम सँगै खुल्ला तिज, गृहिणी एकल नृत्य, टपरी गाँस्ने, पानी पिउने, घैँटो फुटाउने, रस्साकस्सी, मुर्तिकला प्रतियोगिता सञ्चालन हुनेछन् । यसै गरि मेलाको थप आर्कषणमा चल्ने देवताको प्रर्दशनी, दर खाने कार्यक्रम, राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारको प्रस्तुती, चमेनागृह तथा हाँस्य कलाकारहरुका मनोरन्जनात्मक कार्यक्रमहरु समाबेश गरिएको छ ।
मेलामा कृषिमेला, सूचना तथा प्रविधिहरुको प्रर्दशनी, विभिन्न सरकारी तथा गै¥ह सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रर्दशनी लगायत दैनिक उपभोग्य बस्तु, घरायसी सरसामान, लत्ताकपडा, तिज केन्द्रित श्रृंगारका सामाग्रीहरुका प्रदर्शनी एवं बिक्री वितरणका लागि राखिएको छ । १५० वटा स्टल रहेको मेलामा हस्तकलाका ७०, कृषिका २५, रेष्टुरेन्टका १०, सूचना प्रविधिका १०, फ्लोरिकल्चरका ६ र बाँकी साधारण स्टल रहेका छन् । मेलाको १ लाख ५० हजार देखि २ लाख सम्म दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
Photo: Ranjan Adhikari

