रञ्जन अधिकारी पोखरा, १ भाद्र / नेवा खलः कास्कीको आव्हान र भीमसेन टोल सुधार समिति भीमसेन टोलको आयोजनामा भएको तायःमचाः नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव आईतबार सकिएको छ । शनिबार भएको तायःमचा नृत्य प्रतियोगितामा मालेपाटन तायमचा समिती बिजयी भएको छ । आईतबार गाईजात्रा महोत्सव भएको हो । शुक्रबार भारी वर्षाका कारण प्रभाविभ भएको कार्यक्रम आईतबारका लागि सारिएको थियो ।
पोखराका बिभिन्न १९ टोलबीच भएको प्रतिस्पर्धामा अन्य १८ टोलीलाई पछि पार्दै मालेपाटनको तायमचा नाच बिजयी बन्यो । बिजयी टोलीले १५ हजार, शिल्ड तथा एउटा खसी प्राप्त गरेको छ । दोस्रो भएको तेर्सापट्टीले १० हजार तथा बोका पुरस्कार प्राप्त गरेको छ । यस्तै, मोहोरियो तायमचा समिति तेस्रो भएको छ । मोहोरियाटोलले पाँच हजार रुपैया र एउटा भाले पुरस्कार प्राप्त गरेको छ । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, भिमसेनटोल सुधार समितीका अध्यक्ष सुरेश बजिमय लगायतले पुरस्कार वितरण गरेका थिए ।
तायमचा नृत्य प्रतियोगितामा भैरबटोल र बागबजारको तायमचाले सान्त्वना स्थान ओगटेको छ । यसैगरि गौडामुख भद्रकालीको समुहले उत्कृष्ट जोकर, बगालेटोलले उत्कृष्ट बाद्यबादन, बागबजारले उत्कृष्ट श्रृङ्गार र तेर्सापट्टीले उत्कृष्ट ख्यालीको उपाधी पाउन सफल भएका छन् । सान्त्वना हुने दुई टिमलाई जनही दुई हजार पाँच सय प्रदान गरिएको छ भने उत्कृष्ट बाद्यबादन, उत्कृष्ट श्रृङ्गार, उत्कृष्ट जोकर, ख्याली बजाउनेलाई एक हजार प्रदान गरिएको छ । टाढाबाट प्रतियोगितामा सहभागि हुने टिम लामाचौरलाई प्रोत्साहन स्वरुप दुई हजार प्रदान गरिएको छ । प्रतियोगिताको निर्णायकमा बिम्बकबि प्राज्ञ रमेश श्रेष्ठ, संस्कृतिकर्मी तिर्थमान प्रधानाङ्ग, अष्टमान प्रधानाङ्ग, आनन्द श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, सुवर्ण बज्राचार्य, कल्याणी श्रेष्ठ, सुबिन्द्र श्रेष्ठ रहेका थिए ।
यसअघि, कार्यक्रमको उद्घाटन गर्दै पुनराबेदन अदालत पोखराका मुख्य न्यायधिश बिश्वम्भर श्रेष्ठले प्रतियोगितात्मक रुपमा तायमचा नृत्यको आयोजना गर्नाले संस्कृति सदैब जीवित रहनेमा जोड दिएका । कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, नेवा खल कास्कीका उपाध्यक्ष तिर्थ श्रेष्ठ, आदिबासी जनजाती महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ति, जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरिक्षक बसन्त कुमार लामाले बोलेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरिक्षक बसन्त कुमार लामालाई समाजमा रहेका बिकृति बिसंगतीलाई हटाउन उल्लेखनिय भुमिका खेलेको भन्दै भिमसेन टोल सुधार समितीले सम्मान गरेको थियो । उनलाई बाग्लुङ बसपार्क क्षेत्रमा संचालित यौन व्यवसाय हटाएकोमा सम्मान गरिएको हो । कार्यक्रम भिमसेन टोल सुधार समितीका अध्यक्ष सुरेश बजिमयको अध्यक्षतामा भएको थियो ।
दुई दिने महोत्सवमा फुड फेष्टीवल, नेवारी संस्कृति झल्काउने नृत्य, बासुरी वादन, लाखे नाच, घोडा नाच, चौरी नाच, जनजाती नाच तथा यूवाहरुलाई आकर्षित गर्न पोखरेली व्याण्ड डिमर्चाको प्रस्तुति, मौलीक धुन प्रस्तुत गरिएको थियो ।
