
रञ्जन अधिकारी पोखरा, १ भाद्र / पोखरा ८ स्थित माफ पाम परिवारले श्रीकृष्णजन्माष्टमीको अवसरमा आईतबार राति सांस्कृतिक कार्यक्रम सहित विशेष पूजा समारोह सम्पन्न गरेको छ । स्थानीय युवाहरुको सक्रियतामा गत वर्ष स्थापित सो परिवारले आफ्नो धर्म संस्कारलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष दीपक थापामगरले बताए ।
कार्यक्रमको शुभारम्भ स्थानीय समाजसेवी माधव सुवेदीले गरेका थिए । उनले युवाहरु यसरी आफ्नो संस्कृति संरक्षणमा लागिपरेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा महिला उत्थान न्यूरोड आमा समूहकी अध्यक्ष तारा केसी, आतिथिहरु राजिव श्रेष्ठ, मानबहादुर गुरुङ लगायतले बोलेका थिए ।
सो अवसरमा परिवारका सल्लाहकार तथा कार्यसमिति पदाधिकारी, सदस्यलाई सम्मान पनि गरिएको सचिव विमस गुरुङले जानकारी दिए । परिवारका अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक खेम थापाले गरेका थिए ।
राति १२ बजेसम्म भएको विविध सांस्कृतिक कार्यक्रममा स्थानीय बालबालिका तथा किशोर किशोरीले नृत्य, गीत प्रस्तुत गरेका थिए भने एक्स क्लुसिभ ग्रुप लगायतका समूहले बि बोईङ नृत्य देखाएको उपाध्यक्ष जीवन जिसीले बताए ।
