
रञ्जन अधिकारी पोखरा, ९ भदौ / पोखराका चार कलाकारले बनाएका चित्रहरुको सामूहिक प्रदर्शनी सोमबारदेखि सुरु भएको छ । महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालरीमा भदौ १३ गतेसम्म चल्ने सो प्रदर्शनीमा कलाकारहरु क्षेत्रलाल कायस्थ, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ र बुद्धि गुरुङका चित्रहरु राखिएका छन् ।
‘संस्कृति र प्रकृति’ शीर्षकमा बनाईएका ४७ चित्रहरु प्रदर्शनीमा राखिएका छन् । कायस्थका १३, लोकप्रसाद गुरुङका १३ र श्रेष्ठका १२ र बुद्धि गुरुङका नौ ओटा चित्रहरु छन् । कोलाज (अ ग्रुप अफ पोखरेली आर्टिस्ट) समूहले आयोजना गरेको प्रदर्शनी पूर्वान्ह ११ बजेदेखि अपरान्ह ५ बजेसम्म खुल्ला रहने आयोजकले जनाएको छ । कला पारखीहरुले चित्रहरुको खरीद समेत गर्न सक्नेछन् ।
प्रदर्शनीको शुभारम्भ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले गरेका हुन् । भट्टराईले प्रकृतिमा रम्दै हरेकले आफ्नै तरिकाले आनन्द लिएपनि कलाकारले लिने आनन्दले चित्र मार्फत देश विदेशमा प्रचारप्रसार हुने बताए । विभिन्न जातजाति, भाषा, धर्मले विविधतायुक्त मुलुकमा संस्कृतिलाई समेत कलामा उतार्न सके पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाई छ ।
‘हामीले होटल, घरका बैठक रुमहरुमा समेत चित्रहरु राख्यौं भने पर्यटकमार्फत प्रसारप्रसार हुँदा व्यवसायिक हिसाबले अघि बढ्न सक्छौं’ भट्टराईले भने– ‘पञ्चासे, पुनहिल, लोमान्थाङ जस्ता ठाउँहरुमा पुगी प्रकृतिलाई उतार्नका लागि मैले सक्दो सहयोग गर्नेछु । कलाको सम्बद्र्धनका लागि फेस्टिबल नै आयोजना गरौं ।’
कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले कोलाज ग्रुप स्थापना गरी यस्ता कार्यक्रमहरु आयोजना हुनु खुशीको कुरा भएको बताउँदै संस्था, समूह बृद्धि भए कला क्षेत्रकै विकास हुने बताए ।
कार्यक्रममा कलाकारहरु क्षेत्रलाल कायस्थ, लोकप्रसाद गुरुङ, गोपाल श्रेष्ठ र बुद्धि गुरुङले आफूहरुले यहाँका वातावरण, प्रकृतिका साथै हाम्रा रहनसहन, संस्कृतिलाई चित्रमा उतारेको जनाउँदै पोखरेलीले चित्रहरु मन पराईदिने आशा व्यक्त गरे । यसअघि कायस्थले पोखरा, काठमाण्डौं र चेन्नईमा गरी नौ पटक एकल प्रदर्शनी गरिसकेका छन् । बुद्धि गुरुङले पनि पोखरा, काठमाण्डौं र दक्षिण कोरिया गरी नौ पटक नै एकल प्रदर्शनी गरेका छन् । लोक प्रसादले सन् १९९९ र २००० मा एकल प्रदर्शनी गरेका थिए भने गोपाल श्रेष्ठले पनि दक्षिण कोरिया सहित विभिन्न स्थानमा एकल प्रदर्शनी आयोजना गरिसकेका छन् । कार्यक्रमको सञ्चालन हेमकान्ति गुरुङले गरेकी थिईन् ।
File Photo
