
रञ्जन अधिकारी पोखरा, १६ भदौ / कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान), कास्कीले आÇनो छैटौं वार्षिकोत्सव समारोह सोमबार पोखरामा सम्पन्न गरेको छ । संस्थाका नवनिर्वाचित अध्यक्ष गुणानीधि पाण्डेले केक काटेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि क्यानका केन्द्रिय संस्थापक अध्यक्ष बिमलकुमार शर्माले पोखरालाई साईबर सिटीका रुपमा विकास गर्नुपर्ने बताए । ‘प्राकृतिक स्रोतले पूर्ण पर्यटकीय शहर पोखराको अर्को परिचय साईबर सिटी पनि रहन सक्नेछ ।’ शर्माले भने – ‘सूचना केन्द्रको स्थापना, सÇटवयर निर्माण लगायतमा ध्यान दिनुपर्ने हुन्छ ।’ उनले केन्द्रको सक्रिय शाखा नै पोखरा भएको भन्दै संस्था गठनको औचित्य प्रष्ट हुने गरी काम गर्न पनि आग्रह गरे । क्यानका क्षेत्रीय सदस्य विष्णु बज्राचार्यले अनलाईन परीक्षा प्रणाली सूरु गरेकोमा खुशी व्यक्त गर्दै अब क्यान केन्द्रमा महासंघको अवधारणा अनुसार अघि बढ्नुपर्ने बताए ।
प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले अबको शिक्षा प्रणाली कम्प्युटरमै निर्भर रहने भन्दै शिक्षा क्षेत्र र क्यान परिपूरक भएकाले समन्वय गर्दै अघि बढ्नुपर्ने बताए । पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले आईटी क्षेत्रमा महिला सहभागिता बढि भएपनि नेतृत्व तहमा महिलाको संख्या न्युन भएकाले ध्यान दिन आग्रह गरे ।
लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारीले मानवीय सूचाकंकमा कास्की जिल्ला अग्रणी स्थानमा रहेको जनाउँदै क्यानले पोखरा बाहिर पनि कार्यक्षेत्र विस्तार गर्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले सामाजिक उत्तरदायित्व समेत बहन गर्दै अघि बढेकोमा खुशी व्यक्त गर्दै पर्याप्त श्रोत, साधनको अभावमा आईटी क्षेत्र सोचेनुरुप विकास हुन नसकेको बताए । लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले क्यान ईन्फोटेक मेला होस् या लेखनाथ महोत्सवमा सहभागिता जनाएर होस् क्यानले सूचना प्रविधिको क्षेत्रमा गरेको योगदानको सह्राहना गरे ।
यसैबीच, क्यान कास्कीले आफूसँग आबद्ध कम्प्युटर इन्स्टिच्यूटमा कम्प्युटर कोर्स पूरा गर्ने विद्यार्थीको अनलाइन परीक्षा लिई प्रमाणपत्र दिने व्यवस्था सुरु गरेको छ । यो प्रमाणपत्रको स्तरीयता रहने र जुनसुकै क्षेत्रमा सहजै स्विकार हुने उसको दाबी छ । वार्षिकोत्सवको अवसरमा आदर्श सफ्टवेयर एजुकेशन, बगरका विद्यार्थी रवी गुरुङलाई अनलाइन परीक्षाको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । यसअघि, इन्स्टिच्यूटहरुले आफ्नै नाममा विद्यार्थीहरुलाई पूरा गरेको कोर्स अनुसार प्रमाणपत्र वितरण गर्दै आएका थिए । अब भने आफूखुशी लिनेहरुलाई असहज भएको छ ।
कार्यक्रमको अध्यक्षता समेत गरेका संस्थाका अध्यक्ष गुणानीधि पाण्डेले क्यान ईन्फोटक मेलालाई निरन्तरता दिँदै आफ्नो कार्यकालमा गर्ने विभिन्न कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने निवर्तमान अध्यक्ष चण्डिप्रसाद अर्यालले आफ्नो कार्यकालमा सम्पन्न विभिन्न कार्यक्रमका संयोजकलाई मायाको चिनो प्रदान गरेका थिए । नयाँ सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण पनि गरिएको थियो । त्यस्तै, यसै साता अमेरिका जान लागेका क्यान कास्कीका निवर्तमान महासचिव अच्यूत खनियाँलाई सो अवसरमा विदाइ गरियो ।
संस्थाका प्रथम उपाध्यक्ष एवं वार्षिकोत्सव समारोह संयोजक चिन्तामणि बास्तोलाले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव विश्वास भण्डारीले गरेका थिए । यसअघि, वार्षिकोत्सवकै अवसरमा आईतबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका थिए ।
