काठमाडौं, भदौ १८ – उपाधिको दावेदार मानिएको थ्री स्टार क्लव पनि एन्फा कप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवसँग १–० ले हार्दै थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको हो ।
विजेता एपिएफ भने प्रतियोगितामा सेमिफाइनलमा पुगेको छ । एफिएफलाई जिताउन खेलको इन्जुरी समयमा रञ्जन विष्टले गोल गरे । खेल सकिएको सिठ्ठी बज्नु केही सेकेण्डअघि मात्र विष्टले गोल गरे । पहिलो हाफमा आक्रमक खेलेका दुवै टिमले दोश्रो हाफमा भने प्रदर्शनलाई निरन्तरता दिन सकेनन् ।
३३ औं मिनेटमा एपिएफका राजेन्द्र रावलले थ्री स्टारका किपर किरण चेम्जोङलाई बिट गर्दै बल अगाडी बढाए पनि त्यसलाई पोष्टमा छिराउन सकेनन् । प्रतियोगिताको अर्को दावेदार मनाङ मर्स्याङ्दी क्लव पनि झापा फुटबल क्लवसँग हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
