सरुभक्तले पोखरामा नाटकघर बनाउन पहल गर्लान त ?

Share:

२१ भदौ | सरुभक्त नाम नेपाली साहित्यमा चिनिएको नाम हो । पोखराका स्थानिय यी साहित्यकारको कलम साहित्यको धेरै विधामा चलेका छन् । आफ्नो लेखनमा शून्यवादलाई स्थापित गराईसकेका यी साहित्यकार यतिबेला नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती बनेका छन् । यसअघि सरुभक्त नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्मा थिए । जुन कुराले समग्र नेपाली संगीत र नाट्य क्षेत्रको लागि आशा गर्ने विषय बनेको छ ।

खासगरि संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा सरुभक्त कुलपति हुँदा सबैभन्दा बढि आशा पोखराले गर्ने कुरामा कुनै दुईमत रहँदैन । कारण, मोफसल भनिँदै आएको पोखरामै रहेर साहित्यमा कलम चलाउँदै आएका सरुभक्त संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति बनेका छन् । कुलपति बन्नकै लागि उनले काठमाण्डौँमा कहिल्यै बसेनन् । एउटा अर्थमा भन्दा मोफसलबाट यतिबेला पोखराले बाजी मारेको छ ।

पोखराले संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपतिको रुपमा सरुभक्तको नियुक्तीसंगै आशा गर्ने कुरा धेरै छन् । पोखरा नाट्य गतिविधीमा धेरै अगाडि थियो कुनैबेला । यीनै सरुभक्त सहित पोखराका अन्य नाटककारहरुको सक्रियताले पोखराको रंगमञ्च नेपालमै उदाहरणीय बनेको थियो । तर पछि आएर पोखराको रंगमञ्च पुरै थला प¥यो । करिब एक दशक पोखरामा रंगमञ्चसम्बन्धि कुनै क्रियाकलाप समेत भएनन् भन्दा फरक नपर्ला । यस्तो अवस्थामा पोखरेली नाटकका एक धरोहर सरुभक्तलाई पनि पक्कै पोलेको हुनुपर्छ । अब अहिले उनी एउटा स्थानमा पुगिसकेका छन्, पोखराको नाट्य गतिविधिलाई अगाडि बढाउन उनले पहल गर्न जरुरी छ ।

शुन्यबादी रंगमञ्चको घोषणा गरि विज्ञान नाट्य लेखन जस्तो प्रवृत्ति नाटकमा प्रवेश गराउने सरुभक्तले पोखराको रंगमञ्चको लागि के योगदान गर्लान त ? पोखरेली रंगकर्मी यसैको आशामा छन् । करिब एक दशकपछि सुस्ताएको पोखराको रंगमञ्चलाई पुनः ब्यूँताउन खोजेको संस्था ‘यूथ क्रियशन थिएटर’ यसमा अझै बढि आशाबादी देखिएको छ । संस्थाले भनेअनुसार पोखरामा रंगमञ्चलाई गतिशिल बनाउने हो भने तत्काल एउटा नाटक घरको आवश्यकता छ । के सरुभक्तले आफ्नो पहलमा पोखरामा एउटा नाटकघर बनाउने कुरालाई प्राथमिकता देलान त ?

सरुभक्त पनि पोखरामा नाटक घरको आवश्यकता भएको स्विकार्छन् । हाल पोखरामा नाटक मञ्चन गरिहाले पनि पोखरा उद्योग वाणिज्य संघको हल या पोखरा सभागृहको हलमा गर्नुपर्ने बाध्यता छ । नाटकमा जानकारहरुका अनुसार नाटकको लागि यी दुवै हल एकदम अनुपयुक्त छन् । केहि समय अगाडि पोखरामा मञ्चन भएको ‘अर्को ओरालो’ हेर्न आईपुगेका सरुभक्तले भनेका थिए–‘पोखरामा नाटक घरको आवश्यकता खड्एिको कुरा पक्का हो ।’ सरुभक्तले भन्दै आएको नाटक घरको कुरालाई मुर्त रुप दिन उनको भुमिका नहुने भन्ने कुरामा शंका गरिहाल्नुपर्ने अवस्था पनि छैन ।

शायद सरुभक्त आफ्नो कार्यकालमा सम्पूर्ण नेपालसंगै पोखराको रंगमञ्चको विकासका लागि पहल गर्नेछन् । यो कुरामा पोखरेली रंगकर्मीहरुले आशा भन्दा बढि विश्वास गर्नुपर्छ । र, सरुभक्तले पनि पोखरामा नाटकघर बनाउने आफ्नो र सम्पूर्ण पोखरेलीको सपना साकार पार्नका लागि काम गर्नुपर्ने देखिन्छ । कुलपति सरुभक्तलाई सतत् शुभकामना ।

कमेन्ट गर्नुहोस्
Share: