शरणार्थी विद्यार्थीलाई घुम्ती पुस्तकालय सेवा

Share:

भदौ २४, पोखरा । हेमजास्थित तिब्बती शरणार्थी बालबालिकाका लागि खुलेको माउन्ट कैलाश निमाविमा हिमालयन बुद्ध फाउन्डेशन (एचविएफ) पोखराको अगुवाइमा मंगलबार एक कार्यक्रमका बिच बाल घुम्ती पुस्तकालय सेवा प्रदान गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरूलाई करिब ३ सय पुस्तक हस्तान्तरण गरिएको थियो भने गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई स्टेशनरी सामग्री उपहार दिइएको थियो । उक्त विद्यालयमा १ सय १६ विद्यार्थीहरू अध्ययनरत छन् ।

घुम्ती पुस्तकालयको मुख्य सहयोगकर्ता बुद्ध फाउन्डेशन जापानका युको यामागुचीले प्रमुख अतिथिको मन्तव्य दिँदै छोराभन्दा पनि छोरीहरूले अतिरिक्त अध्ययन गरी स्वतन्त्रताको आत्मविश्वास बढाउनु पर्नेमा जोड दिइन् ।

गरिब र सिमान्तकृत बालबालिकाहरू विश्वस्तरका पाठ्यसामग्रीबाट बञ्चित भएको सन्दर्भमा तिनीहरूमा अध्ययन गर्ने बानीको विकास गर्नकालागि बाल घुम्ती पुस्तकालय स्थापना गरिएको एचविएफका अध्यक्ष तेज कुमार गुरुङले बताए । उनको फाउन्डेशनले कास्की जिल्लाका १ सय ६१ सामुदायिक विद्यालयमा यस्तै सेवा प्रदान गरिसकेको तथा केही विद्यालयहरूको भौतिक पूर्वाधारका लागि आर्थिक सहयोग गरेको जानकारी पनि दिए ।

कार्यक्रममा बोल्दै ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष गनेस पौडेलले स्कुले जीवनबाटै अतिरिक्त पुस्तकप्रतिको मोह बृद्धि गर्नका लागि शिक्षक र अभिभावकले उत्प्रेरणा दिनुपर्ने बताए । रिडर्स सोसाइटीले उक्त विद्यालयमा बाल पाठक समूह गठन गर्ने तयारी गरेको जानकारी पनि दिए ।

 

कमेन्ट गर्नुहोस्
Share: