रेम बिक पोखरा, २४ भदौ । हाल नेपालभर प्रदर्शनरत नेपाली फिल्म ‘बिर्खेलाई चिन्छस्’का बिर्खे पात्र अर्थात अभिनेता सुवास थापा फिल्मको व्यापारले गति लिँदै गएपछि मख्ख छन् । आफैँ निर्माता बनेर बनाएको फिल्म ‘बिर्खेलाई चिन्छस्’ दर्शकहरुको रोजाईमा परेको उनले सुनाउँदै हिँड्न थालेका छन् ।
‘आईतबारसम्मको अलनेपाल कलेक्सन ३५ लाख रुपैँया बराबर पुगेको छ ।’ उनले भने–‘अझै हलहरुमा दर्शक अकुपेन्सी बढिरहेको छ ।’ आफ्नो सम्पूर्ण सम्पत्ति फिल्ममा खनाएको बताउने यी बिर्खे फिल्मको व्यापारले पिक अप लिएपछि बल्ल ढुक्क बनेका छन् । भन्छन्–‘नेपालबाट मेरो लगानी रिकभर हुन्छ होला, फिल्मको ओभरसिज राईट बेच्दा मलाई फाईदा हुन्छ होला ।’ पोखराको विग एफएमको चर्चित कार्यक्रम फिल्म डटकममा प्रस्तोता संजोग बस्यालसंग कुराकानीको क्रममा उनले यी सबै बताएका हुन् ।
कार्यक्रमको शिलशिलामा प्रस्तोता संजोगले ‘भनेजस्तो फिल्म नपाएर आफै फिल्म बनाएको ?’ भनेको प्रश्नलाई नकार्दै विर्खेले भने–‘मैले फिल्म नपाएर आफैँ लगानी गरेको होईन, तर आफुले जानेको फिल्डमै व्यापार गरौँ न त भनेर मात्रै फिल्म बनाएको हुँ ।’ उनले आफु प्रमुख पात्र भएर अभिनय गरेको धेरै फिल्महरु प्रदर्शनको लागि तयार रहेको र नयाँ फिल्महरुमा पनि उत्तिकै व्यस्त रहेको सुनाए ।
उनले ‘कोहिनुर’ हेरेर श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाभाव राखेर रुँदै हलबाट निस्केका दर्शक ‘विर्खेलाई चिन्छस्’ हेर्दा हाँसेर हलबाट निस्केको प्रतिक्रिया दिए । ‘हाँस्नु र रुनु जिवनको नियती हो, त्यसैले सँधै रुनु हुँदैन ।’ उनले भने–‘मनोरञ्जनका लागि हाँस्नु पनि पर्छ ।’ दर्शकलाई हँसाउन आफुहरु सफल भएको उनले बताए । फिल्मलाई दर्शकको रोजाईको फिल्म बनाउन निर्देशक अराज केशव र अन्य टिमको उत्तिकै योगदान रहेको उनले बताए ।
फिल्म ‘बिर्खेलाई चिन्छस्’ भदौ २० गते शुक्रबारदेखि हलमा प्रदर्शनरत छ । फिल्म सिंगल थिएटरमा बढि रुचाईएको वितरकले जानकारी दिएका छन् । यद्यपी पछिल्ला दिनहरुमा काठमाण्डौको मल्टिप्लेक्स हलहरुमा पनि दर्शक सँख्या बढ्दै गएको वितरक बताउँछन् ।
