‘जिन्दगी जिऊनका लागि हो, पूरा जीवन बाँच्नुपर्छ’ नेपाल दक्षिण एशियामै बढि आत्महत्या गर्नेमध्ये दोस्रोमा

Share:

रञ्जन अधिकारी पोखरा, २५ भदौ /सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस। ‘आत्महत्या रोकथाम, सम्पूर्ण विश्व एकसाथ’ नाराका साथ बुधबार विश्वभर मनाईएको छ । सन् २००३ बाट आत्महत्या रोकथाम दिवस मनाउन थालिएको हो । पोखरामा पनि केहि संघसंस्थाले यो दिवस मनाएका छन् ।

पोखरा स्थित कोपिला नेपालले आत्महत्या जस्तो आफूले आफैलाई समाप्त पार्ने जघन्य अपराधलाई न्यूनिकरण गर्न पर्चापम्प्लेट वितरण तथा कार्यशाला गोष्ठी आयोजना ग¥यो । नेपाल दक्षिण एशियामै बढि आत्महत्या गर्ने देशमध्ये श्रीलंका पछि दोस्रो स्थानमा रहेको जानकारी गराउँदै यसबारे समयमै रोकथामका पहल नभए आगामी केहि वर्षमै विकराल समस्या लिने सहजकर्ताहरुको भनाई छ । विश्वमा सबैभन्दा बढि आत्महत्या गर्नेमा ग्रीनल्याण्ड पहिलो, दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ । नेपालमा प्रत्येक दिन १५ जनाले आत्महत्या गर्ने गरेको पाईएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७०र०७१ मा ४ हजार ५ सय १० जनाले आत्महत्या गरेका थिए।

गोष्ठीमा सहभागीहरुले जीवन जिऊनकै लागि भएकाले पूरा जीवन बाँच्नुपर्ने बताउँदै सामाजिक कारणले आत्महत्या गर्न उत्प्रेरित बन्ने अवस्था आउन नदिन सजग हुनुपर्नेमा जोड दिए । समाजमा शारीरिक रोगीको तुलनामा मानसिक अस्वस्थता भएकालाई हेर्ने दृष्टिकोण नै नकारात्मक भएकाले पनि उनीहरु आत्महत्या गर्ने सम्मको अवस्था सिर्जना हुने उनीहरुको भनाई छ ।

विश्वमा आत्महत्याको अवस्था विषयमा कार्यपत्र प्रस्तुत गर्दै बिजी हस्पिटल एण्ड रिसर्च सेन्टरका मनोचिकित्सक डा. निर्मल लामिछानेले आत्महत्या गर्नेमा ८७ प्रतिशत मानसिक समस्याबाट गुज्रिएकाहरु रहेको जनाए । हरेक तीन सेकेण्डमा एकजनाले आत्महत्या प्रयास गर्ने र तीमध्ये प्रत्येक ४० सेकेण्डमा एक जनाको मृत्यु हुने गरेको पछिल्लो तथ्यांकले देखाएको जानकारी गराए । विश्वमा हाल वर्षेनी आठ लाख भन्दा बढिले आत्महत्या गर्ने गरेको उनले जनाए । ‘डिप्रेशन हुने मध्ये २० प्रतिशतले मृत्यु रोज्ने गरेको पाईयो । डब्लूएचओ अनुसार आत्महत्या प्रयास गर्ने २० जनामा एक जनाको मृत्यु हुने गरेको छ ।’ उनले भने– ‘पुरुषको तुलनामा आत्महत्या प्रयासमा महिलाको संख्या बढि रहेपनि ज्यान जानेमा पुरुषहरु बढि छन् । १५ देखि २९ उमेर समूहका तथा प्रजननयोग्य उमेरका महिलाहरुले बढि आत्महत्या गर्ने गरेका छन् ।’ डा. लामिछानेले समयमै मानसिक रोगीहरुले उपचार गराउने हो भने सम्भव रहेको बताए ।

कोपिला नेपालकी निर्देशक बिना सिलवालले विश्वभर हुने मृत्यु मध्ये १.८ प्रतिशत मृत्यु आत्महत्याको कारणले हुने गरेको जनाउँदै गएको ४५ वर्षमा विश्वमा आत्महत्या ६० प्रतिशतले बढेको देखिएको जनाईन् । जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांक उदृत गर्दै उनले गएको चार वर्षमा कास्कीमा ६५० जनाको आत्महत्याबाटै ज्यान गएको उल्लेख गरिन् । यसको संख्या बर्षेनी बढ्दो छ ।
पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डा. रामचन्द्र ढकालले शारीरिक सँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने भन्दै कसैले पनि आत्मबल कमजोर नबनाउन सुझाव दिए । उनले केहि अस्पतालमा मानसिक सेवा दिईरहेपनि सरकारी प्रयत्न पर्याप्त नभएको स्वीकार गरे ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रमेशप्रसाद अधिकारीले पछिल्लो समयमा विश्वमै भयावह अवस्था उत्पन्न भएकाले समयमै सही उपचार गर्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा कोपिला नेपालका मनोसामाजिक विभाग प्रमुख लक्ष्मण नाथ, मनोसामाजिक परियोजना संयोजक सुदीप घिमिरे र शहरी सुकुम्बासी गरीवि निवारण पयिोजना प्रमुख सन्तोष दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । विश्वमा युद्ध तथा हिंसात्मक गतिविधि भन्दा आत्महत्याबाट बढि संख्यामा मृत्यु हुने गरेको र अहिलेबाटै समस्या समाधानमा लागेमा २०२० सम्ममा १० प्रतिशतले कमी ल्याउन सक्ने नत्र त्यस बेलासम्म वर्षेनी मृत्यु हुनेको संख्या १५ लाख पुग्ने अवस्था रहेको छ ।

पोखरा नर्सिङ क्याम्पसकी शिला मैनालीले मानसिक रोगीहरुलाई समाजले सकारात्मक दृष्टिले हेर्नुपर्ने, उदासियन हुने अवस्थाबाटै उपचार गराउन सकियो भने ठूलो समस्या ननिम्तिने बताउँदै आफू आफ्नै लागि जिउनुपर्ने, अरुका लागि जिउन नहुने बताईन् ।

कास्की नेत्रहीन संघका रविन्द्र खनालले नेपालमा ३० लाख बढि अपांग रहेकामा ५० प्रतिशत जन्मपछि भएको र उनीहरु बढि मानसिक अस्वस्थ रहने भएकाले परामशंको खाँचो रहेको बताए ।

गोष्ठीमा आत्महत्या रोकथामका लागि राज्यको स्पष्ट नीति तथा कार्यक्रम पनि आउनुपर्नेमा जोड दिईएको छ । मानसिक रोग सम्बन्धी सुविधासम्पन्न अस्पताल निर्माण, परामर्श केन्द्र स्थापना र परामर्श दाताको क्षमता अभिवृद्धिमा जोड, सामाजिक चेतना, खुल्ला विषादी बेचबिखन गर्न रोक लगाउनुपर्नेमा सहभागीहरुले ध्यानाकर्षण गराएका छन् । सामाजिक अपहेलनको डर, पारिवारिक असहयोग, जनचेतनाको कमी, अन्धविश्वास लगायतका कारण मानसिक रोगीले उपचार गराएका हुँदैनन् । आत्महत्या कुनै पनि समस्याको समाधान हुन नसक्ने भएकाले समस्यासँग डटेर सामना गर्ने वा आत्महत्याको बदला अर्को बाटो पहिल्याउन सक्यो भने अकालमा जीवन जाने अवस्था आउँदैन । आत्महत्या रोकथाममा हरेक व्यक्तिको समर्थन र ऐक्येवद्धता रहेको जनाउन बुधबार राति ठीक आठ बजे घरको झ्यालमा मैनबत्ती बाल्ने कार्यक्रम पनि थियो ।

कमेन्ट गर्नुहोस्
Share: