पोखरा, २६ भदौ / नेपालले अर्को वर्ष हुने यू- १७ विश्वकप फुटबल खेल्ने सपना चकनाचुर भएको छ । एफसी यू-१६ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा उत्तर कोरियासँग ४-१ गोल अन्तरले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालला अघिल्लो चरण प्रवेशका लागि बराबरी चाहिएको थियो । तर, पहिलो हाफमा खाएको चार गोलका कारण नेपाल पराजित हुन पुग्यो ।
थाइल्याण्डमा भएको खेलमा नेपालको कमजोर रक्षापंतिको फाइदा उठाउँदै उत्तर कोरियाले पहिलो हाफमा नै चारै गोल गर्न भ्यायो । नेपालले चौथो मिनेटमा नै गोल खाएको थियो । १२ औं मिनेटमा नेपालका कप्तान विमल घर्तीमगर वान भर्सेज वानमा गोल गर्न चुके । १५ औं मिनेटका कोरियामा हाङ क्वाङको प्रहार पोलमा लग्दा नेपाल दोस्रो गोल खानबाट बच्यो । तर, २३ औं मिनेटमा अमित तामाङको गल्तीको फाइदा उठाउँदै कोरियाले अग्रता दोब्बर पार्यो ।खेलको २६ औं मिनेटमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत दिए । तर, लगतै कोरियाका हान क्वाङले गोल गर्दै कोरिलाई ३-१ को अग्रता दिलाए । हिलो हाफको अन्तिम मिनेटमा नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै कोरियाले गोल थप्यो । नेपाली गोलरक्षक अघि बढेको मौकामा कोरियका खेलाडीले हेड गोल गर्दै पहिलो हाफमा ४-१ को अग्रता दिलाए । दोस्रो हाफको ४९ औं मिनेटमा विमल फेरि वान भर्सेज वानमा चुके । ८४ औं मिनेटमा वान भर्सेज वानमा नेपालका गोलरक्षकले बचाए ।
नेपालले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानलाई १-१ मा रोकेको थियो भने कुवेतलाई २-१ ले हराएको थियो । उत्तर कोरियाले भने उज्वेकिस्तानलाई ३-२ ले पराजित गरेको थियो भने कुवेतलाई ३-० ले हराएको थियो ।
कोरिया र उज्वेकिस्तान भने नकआउट चरणमा पुगेका छन् । उज्वेकिस्तानले कुवेतलाई ४-२ ले पराजित गरेको छ । थाइल्याण्डमा जारी एफसी यू-१६ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने टोलीले अर्को वर्ष हुने यू-१७ विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन् ।

