क्षेत्रीय शिल्ड प्राप्त गरेको गण्डकी बोर्डिङमा खुशीयाली साटासाट

Share:

रञ्जन अधिकारी पोखरा, २७ भदौ / राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा गत भदौ २३ गते पश्चिमाञ्चल क्षेत्रबाट उत्कृष्ट हुँदै नगद एक लाख सहित क्षेत्रीय शिल्ड प्राप्त गरेको पोखरा लामाचौर स्थित गण्डकी आवासीय उच्च माविले शुक्रबार खुशीयाली साटासाट कार्यक्रम आयोजना ग¥यो । विद्यालयका विद्यार्थी, अभिभावकका बीच विद्यालयले खुशी साटेको हो ।

सो अवसरमा विद्यालयका प्राचार्य रविप्रसाद बराललाई शिक्षा मन्त्रालयबाट प्राप्त क्षेत्रीय शिल्ड, राष्ट्रिय ध्वजा, नगद तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो भने जिल्ला शिक्षा कार्यालय कास्कीबाट प्राप्त संस्थागत तर्फ सर्वोत्कृष्ट प्रमाणपत्र सहायक प्राचार्य शिवलाल धिताललाई प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थपलियाले यस क्षेत्रमै गौरव गर्न सकिने यो विद्यालय अब राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चम्कनुपर्ने बताए । मुलुकमा हर क्षेत्रमा योग्य जनशक्ति तयार गर्ने यो विद्यालय नमुना विद्यालय रहेको भन्दै उनले विभिन्न जिल्लाका विद्यार्थीहरु पढ्ने वातावरण मिलाएकोमा आभार व्यक्त गरे । ‘चार घण्टा मात्रै हाम्रा देशका राजनीतिक नेताहरु यहाँ आएर बसे भने धेरै सिक्न सक्छन् ।’ उनले भने– ‘यहाँ पढेका विद्यार्थीहरु कुल्ली कवाडी गर्न विदेश पुगेका छैनन् । प्रतिष्ठाका साथ बाँचेका छन् ।’

संस्थागत विद्यालय तर्फ पश्चिमाञ्चलमा प्रवेशिका परीक्षा २०७० मा उत्कृष्ट रहँदै विद्यालयले अठारौं पटक माध्यमिक विद्यालय क्षेत्रीय शिल्ड प्राप्त गर्न सफल रहेको भन्दै प्राचार्य बरालले खुशी व्यक्त गरे । २०६० सालमा भने संस्थागत विद्यालयतर्फ सो विद्यालय मुलुककै उत्कृष्ट निजी विद्यालय बन्दै राष्ट्रिय शिल्ड नै प्राप्त गरेको थियो । गत वर्षको प्रवेशिका परीक्षामा १२५ जनाले सहभागिता जनाएकोमा ८२ जना विशिष्ट, ४१ जना प्रथम र २ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका थिए । परीक्षामा कम्तिमा १२० जना विद्यार्थी सहभागी हुने विद्यालय र सो मध्ये उत्तीर्ण स्तरका आधारमा सरकारले पुरस्कृत  गर्ने गर्दछ ।

शिक्षक अभिभावक संघका अध्यक्ष पुष्पेन्द्र पाण्डे लगायतले कार्यक्रममा बोलेका थिए । सो अवसरमा रोहन मेमोरियल ट्रस्टका लागि फूटबल प्रतियोगिताबाट उठेको ४० हजार एक सय ५७ रुपैंया विद्यार्थीहरुले हस्तान्तरण पनि गरेका थिए । यस्तै, कास्की जिल्ला स्तरीय नेपाली वादविवादमा प्रथम हुने सुशान्त सुवेदी र प्रथम आचार्यलाई नगद सहित पुरस्कृत पनि गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयकी अतिरिक्त क्रियाकलाप प्रमुख शकुन्तला गुरुङले गरेकी थिईन् ।

विद्यालयमा कक्षा ४ देखि १२ सम्म कूल ११ सय ३० जना अध्ययनरत छन् । विभिन्न ४२ जिल्लाबाट दुई सय ५० जना छनौट गरी छात्रवृत्तिमा अध्ययन गरिरहेको प्राचार्य बरालले बताए । विद्यालयले पूर्ण प्रविधियुक्त तरिकाले प्रोजेक्टरबाट पढाई सञ्चालन तथा तीन करोड लागतमा स्वीमिङ पुल निर्माण गर्ने भएको छ । मास्टर लेभलका विभिन्न कक्षा सञ्चालन गर्ने तयारीमा विद्यालय रहेको बरालले जनाए ।

कमेन्ट गर्नुहोस्
Share: