डलरबादी संघसंस्था र राजनीतिक अतिबादबाट मुक्त हुनुहोस्ः क्षेत्रीय प्रशासक

Share:

रञ्जन अधिकारी पोखरा, २७ भदौ / पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले हरियो रकम खेलाउने र दलिय उत्प्रेरणाबाट गठन हुने संघसंस्थाले कहिल्यै समुदाय स्तरमा गतिलो काम गर्न नसक्ने बताएका छन् । शब्दजालमा भुलाएर आफ्ना अभिष्ट चाहना पूरा गर्ने मनसायले खुलेका संघसंस्थाहरुबाट जोगिन उनले सुझाव समेत दिएका छन् ।

अपांगताको क्षेत्रमा कार्यरत समुदायमा आधारित पुनस्र्थापना सेवा (सीबीआरएस) पोखराको शुक्रबार २० औं वार्षिक साधारणसभामा क्षेत्रीय प्रशासक थपलियाले अपांगता भएका व्यक्तिहरु शब्दमा रुमल्लिएर होईन, आफ्ना अधिकारका लागि अघि सर्नुपर्ने बताए । ‘अपांगता भएका व्यक्तिहरु प्रयोग गरिने शब्दमा भुलिरहेका छन् । भिन्न क्षमता भन्नुपर्ने रटानमा छन् । शब्दका जञ्जरमा भुलाएर हरियो रकममा खेल्ने अतिवादी संघसंस्थाहरुले भलो गर्दैनन् ।’ उनले भने – ‘दलिय अभिप्रेरणाबाट संघसंस्था पनि खुलिरहेका छन् । आफ्ना अधिकारका लागि विभाजित भएर होईन, एक भएर अघि बढ्नुस् ।’

संघसंस्थामा शहरका ठूलाबडा, टाठाबाठाले मात्र नेतृत्व लिने तर सोहि क्षेत्रका व्यक्तिहरु भने छायाँमा पर्ने गरेको जनाउँदै उनले यसो हुँदा ग्रामीण तथा टाढाका सेवाग्राहीसम्म पुग्न नसक्ने भएकाले यसरी एलाईट क्याप्चरको खतरा बढ्दै गएको उल्लेख गरे । अपांगता भएका व्यक्तिहरुले परिचयपत्र पनि सहज ढंगले नपाएको गुनासो आएपछि उनले गाविस सचिवहरुलाई आफ्नो क्षेत्रको तथ्यांक लगत राख्न निर्देशन दिए । ‘जाबो परिचय पत्र लिन त १० ठाउँमा भौतारिनुपर्ने अवथा छ । राज्यको काम राज्यले गर्नुपर्छ ।’ उनले थपे – ‘यहाँ गाविस सचिवहरुलाई पनि देखेको छु । तपाईंहरुलाई आफ्नो क्षेत्रमा कति अपांगहरु छन् त्यति पनि थाहा छैन ? आफूले गर्नुपर्ने कामहरु गर्नुस् ।’

अपांगता भएका व्यक्तिहरुको आवागनमामा सहजताका लागि अब बन्ने सबै संरचनाहरु अपांगमैत्री बन्नुपर्ने उनको भनाई छ । क्षेत्रीय प्रशासक थपलियाले पोखरा उपमहानगरपालिका कार्यालयलाई समेत आफूले अब बन्ने भवन तथा सडकहरु अपांगमैत्री बनाउनका लागि आग्रह गरिसकेको भन्दै लिखित पत्र नै तयार हुँदै गरेको जानकारी गराए ।

सम्पन्न परिवारमा समेत अपांग भएका व्यक्तिहरुलाई परिवारले हेर्ने दृष्टिकोण फरक रहेको पाएको बताउँदै त्यस्ता घरका सदस्यहरुलाई उनले मानसिक रुपमा दरिद्र प्राणीको संज्ञा दिए । ‘घरपरिवारले नै नकारात्मक दृष्टिले हेर्छ भने समाजले राम्रो दृष्टिले हेरोस् भनेर त्यो परिवारले अपेक्षा गर्न मिल्दैन ।’ उनले भने– ‘ति परिवारले उनीहरुको अधिकार भन्दै भत्ताका लागि गुहार्दा आफ्ना कर्तव्य समेत पूरा भएको छ कि छैन । सोच्नुपर्छ ।’

उनले अपांगहरुलाई स्वाभिमानी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै विचरा भनेर सम्बोधन होईन उनीहरुलाई अवसर दिनुपर्ने बताए । सिबीआरएस जस्ता पारदर्शी हिसाबले चलेका संघसंस्थाले वितरणमुखी पद्धतीलाई करी रोजगारमुखी बनाउने भनेर उत्पादनशील हिसाबले सोच्नुपर्ने बेला आएको उनको सुझाव छ ।

कार्यक्रममा कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले अपांगता भएका व्यक्तिहरुलाई सम्मानपूर्वक हेर्नुपर्ने बताउँदै उनीहरुलाई शिक्षा प्रदान गर्न सकियो भने हिनताबोध मानेर बस्नुपर्ने अवस्थाबाट माथि आउने बताए । प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले जोकोहि जुनसुकै बेला अपांग हुनसक्ने सम्भावना भएकाले उनीहरुप्रति हेर्ने दृष्टिकोण सबैको सकारात्मक हुनुपर्ने बताए ।

महिला तथा बालबालिका कार्यालय कास्कीका प्रतिनिधि बेलकुमारी गुरुङले कार्यालयबाट हालसम्म २३ सय ४८ जनाले अपांग परिचयपत्र लिएको र लिनेहरुमा महिला ९५९ तथा पुरुष १३८९ रहेको जानकारी दिँदै महिलाहरु अझै आफ्नो अधिकारका लागि आउन नसकेको बताईन् । कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक रामचन्द्र पौडेल, एनजिओ फेडेरेशन, कास्कीकी सचिव ईन्दिरा पौडेल, महिला तथा बालबालिका कार्यालय स्याङ्जाकी प्रतिनिधि प्रभा क्षेत्री, संस्थाका कानुनी सल्लाहकार कृष्णबहादुर थापा, पत्रकार रुद्र श्रीषमगर, कार्यक्रम व्यवस्थापक कृष्ण लामिछाने, अपांगता भएका व्यक्तिका तर्फबाट सरला दासले पनि बोलेका थिए ।

संस्थाका अध्यक्ष पुरन कुँवरको अध्यक्षतामा भएको साधारणसभामा महासचिव विजय प्रधानले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष चेतबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा अपांग नवविवाहित पाँच जोडीलाई सम्मान पनि गरिएको थियो । अपांगता भएका पुरुषसहरुसँग बिहे गरेका सबलाङ्ग व्यक्तिहरुलाई कदर गर्दै संस्थाले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा  साजन सुनार, चीरञ्जीवि सुवेदी, गीता पोखरेल, सुनिता परियार र राजेन्द्र रानाभाटका दम्पती रहेका छन् ।

उपाध्यक्ष आशा गौतमले स्वागत तथा सामाजिक समावेशिकरण व्यवस्थापक विदुर कोईरालाले संचालन गरेको कार्यक्रममा सुरेश गौलीले गीत प्रस्तुत गरेका थिए भने सुदर्शन गौली, महिमा गुरुङ, प्रशंसा गुरुङ, सुमित्रा जलारी, सरीता सुवेदी र रमेश सुनारले नाटक प्रस्तुत गरे ।

कमेन्ट गर्नुहोस्
Share: