
काठमाडौं, असोज ३ – विश्व फुटबलको वरियतामा नेपाल १७ स्थान तल झरेको छ । विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ वरियता क्रममा नेपाल १७ स्थान झर्दै १ सय ८३ औं स्थानमा आएको छ । नेपाल यसअघि १ सय ६६ औं स्थानमा थियो ।
नेपाल एसियाडको फुटबलमा पहिलो खेलमा इराकसँग ४–० तथा दोस्रो खेलमा कुबेतसँंग ५–० गोल अन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा असोज ५ गते आइतबार जापानसँग खेल्नेछ ।
११ स्थान तल झरेपनि अफगानिस्तान दक्षिण एसियामा अघि
दक्षिण एसियाली राष्ट्रहरुमा अफगानिस्तान शीर्ष स्थानमा कायम छ । तर वरियता क्रममा भने अफगानिस्तानपनि पहिले भन्दा ११ स्थान तल झरेर १ सय ३५ औं स्थानमा आएको छ ।
यस्तै माल्दिभ्स १ सय ४५ औं स्थानमा कायमै छ भने भारत ८ स्थान तल झर्दै १ सय ५८ औं स्थानमा पुगेको छ । पाकिस्तान ११ स्थान तल झर्दै १ सय ७५ औं स्थानमा आइपुग्दा श्रीलंका दुई स्थानमा माथि उक्लिएर १ सय ७६ औं स्थानमा पुगेको छ । बंगलादेश ११ स्थान तल झरेर १ सय ८१ औं नम्बरमा आइपुग्दा भुटान २ सय ८ औं स्थानमा कायमै छ ।
जर्मनी शीर्ष स्थानमा कायमै
विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा कायमै छ । अर्जेन्टिना दोस्रो स्थानमा छ भने कोलम्बिया नेदरल्याण्डलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । नेदरल्याण्ड चौँथो र वेल्जियम पाँचौं स्थानमा छ । ब्राजिल एक स्थानमाथि उक्लिएर छैटौं स्थानमा आएको छ भने उरुग्वे एक स्थान तल झरेर सातौं तथा स्पेन आठौं नम्बरमा छ ।

