नवसाथी बचत तथा ऋण सहकारीको सातौं साधारणसभा

Share:

रञ्जन अधिकारी पोखरा, ४ असोज/ पोखरा ८ सृजनाचोक स्थित नव साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रशिक्षक बालकृष्ण सुवेदीले शेयर सदस्यहरुको भूमिका महत्वपूर्ण रहने भएकाले संस्थाका गतिविधि सम्बन्धमा चासो लिनुपर्नेमा जोड दिए । ‘संस्था कसरी चलेको छ ? वार्षिक कार्यक्रम कसरी लैजाने हो ? कस्ता नीति बनाउने ? हो यसमा शेयर सदस्यले ध्यान दिनुपर्छ ।’ सुवेदीले भने– ‘संस्थाको महत्वपूर्ण सभामै सदस्यहरु उपस्थिति नहुने पाईएको छ । यसको बेफाईदा सदस्यलाई नै हो ।’ उनले लेखा समिति नै संस्थाको मेरुदण्ड भएकाले लेखा समिति निष्क्रिय बन्दा संस्था सफल हुन नसक्ने बताए । युवाहरुको यो संस्थाले युवा जोश र जाँगर अनुसार नै काम गर्न उनले अनुरोध पनि गरे ।

विशेष अतिथि जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष रविरमण तिवारीले शेयर सदस्यको बढ्दो उपस्थिति, अघिल्ला वर्षहरुको तुलनामा मुनाफा वृद्धि र कृषि फर्मप्रतिको चासोले नवसाथी सहकारी निकट भविष्यमै अग्रपंक्तिमा आउनेमा आफू विश्वस्त रहेको बताए । सञ्चार बचत तथा ऋण सहकारीका धनञ्जय पौडेल र कोपिला बचत तथा ऋण सहकारीका श्याम कार्कीले सहकारीले आर्थिक उन्नयनमा योगदान पु¥याएको उल्लेख गरे ।

कार्यक्रमको अध्यक्षता समेत गरेका संस्थाका अध्यक्ष अर्जुनप्रसाद पाण्डेले सीमित सदस्यद्वारा झोलाबाटै कारोबार सुरु गरी कठिन प्रतिष्पर्धासँगै आफ्नो अस्तित्व जोगाउदै संस्था आज यो स्थितिसम्म आएकोमा खुशी प्रकट गर्दै सम्पूर्ण शेयर सदस्य तथा पदाधिकारीलाई धन्यवाद दिए ।

सो अवसरमा प्रवेशिका उत्तीर्ण शेयर सदस्यका छोराछोरी प्रवेश भुजेल, प्रदीप गौतम र ज्योत्स्ना आलेका साथै असल कारोबारी रामकृष्ण केसी र असल ऋणी रामु परियारलाई पनि सम्मान गरिएको थियो । साधारणसभामा सचिव अर्जुन थापाले वार्षिक कार्यक्रमका बारेमा प्रस्तुति राखे भने कोषाध्यक्ष शिवजी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पूँजी एक करोड छ लाख १७ हजार पुगेको जानकारी दिए । लेखा समितिका शंकर थापाले प्रतिवेदन प्रस्तुत गरे ।

अधिवेशनले नयाँ सञ्चालक समितिको अध्यक्षमा अर्जुन बहादुर थापालाई चयन गरेको छ । सचिवमा शिवजी पौडेल, कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने तथा सदस्यहरुमा शंकर थापा, राजविक्रम भुजु श्रेष्ठ, कृष्णजी पौडेल, जानुकादेवी अधिकारी रहेका छन् । लेखा समिति संयोजकमा राजेन्द्र कोईराला तथा सदस्यहरुमा देवराज गिरी र अमृतराज बास्तोलालाई चयन गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: