लाईसेन्सका लागि ट्रायल दशैंपछि मात्रै, सेवाग्राही मर्कामा

Share:

रञ्जन अधिकारी पोखरा, ८ असोज / कास्की भरतपोखरीकी बासना लामिछाने सवारी अनुमति पत्र (लाईसेन्स) का लागि लिखित परीक्षा दिन काठमाण्डौंबाट मंगलबार हतारिएर पोखरा आईन् । तर, बुधबार बिहानै ७ बजे यातायात व्यवस्था कार्यालय गण्डकी पुग्दा लिखित परीक्षा नै नभएको जानकारी पाएपछि निराश बनिन् । ‘पहिला पनि लिखितमा फेल भएपछि परीक्षा दिनै रातारात काठमाण्डौंबाट आएँ ।’ उनले भनिन् – ‘बिहान ७ बजेबाट परीक्षा हुन्छ भनेको हुँदैन पो भने ।’ फागुनमा ट्रायल पास गरिसकेकी जोमसोमकी किष्टन गुरुङले लाईसेन्स नै हात पार्न सकेकी छैनन् । जतिपटक आउँदा पनि कार्यब्यस्तताको बहाना निकालेर कर्मचारीले रित्तो हात फर्काएको उनको गुनासो थियो । ‘कार्यालयमा आफ्नो चिनजानका मान्छे हुने र पैसा खुवाएर हो भने भित्रैबाट काम हुन्छ ।’, ‘ड्राईभिङ प्रशिक्षणका व्यवसायीहरुलाई मोटो रकम दिए आफै गरिदिन्छन् ।’ ‘तर लाईन बस्ने सोझासाझाको काम ढिलै हुन्छ ।’ भन्ने गुनासो गर्ने पनि कार्यालय परिसरमा प्रशस्त भेटिए ।

yatyat-gandaki-pokhara

सोमबारसम्म दर्खास्त लिँदा बुधबार परीक्षा हुने जनाईएपनि मंगलबार एक्कासी सूचना निकालेर सर्वसाधारणालाई मर्कामा पारेको उनीहरुको गुनासो छ । मंगलबार लिखित परीक्षाका लागि मिति तोक्ने कार्यालयको योजना थियो तर लिखित परीक्षा दशैं पछि मात्रै हुने भन्दै स्थगित ग¥यो । बासना जस्तै कति सर्वसाधारण टाढाबाट पोखरा आएर पनि फर्कनुपरेको छ । लिखित परीक्षा दिन नपाएपछि आठ सय भन्दा बढि प्रभावित भएको यातायात प्रशिक्षण दिने व्यवसायीहरुको छ ।

तर, पूरानो ट्रायल लिनै बाँकी रहेकाले यातायात विभागबाटै नयाँलाई अनुमति नदिँदा रोक्नुपरेको कार्यालयका लाईसेन्स फाँटका अधिकृत बालकृष्ण सुवेदीले जानकारी दिए । ‘पहिले थालेका काम नसकेसम्म यातायात व्यवस्था विभागले नयाँ सुरु नगर्न निर्देशन दियो । पूरानो ट्रायल लिन बाँकी रहेकाले अहिले २६ र २७ गते तोकेका छौं ।’ सुवेदीले भने– ‘मंगलबार ३ बजे नै सूचना निकालेर स्थगित गरेका हौं ।’

तर, हालै पोखरा आएका सवारी चालक अनुमति पत्र विभाग प्रमुख लक्ष्मणविक्रम थापाले भने कर्मचारी अभावले नै मंगलबार लिखित परीक्षाको मिति तोक्न नसकिएको जानकारी दिए । उनले अब दशैंपछि मात्रै परीक्षा र ट्रायल हुने स्पष्ट पारे ।

पहिला सवारी दर्ता, नविकरण र अनुमति पत्रको काम एउटै कार्यालयबाट हु“दै आएकोमा मन्त्रालयले यातायात व्यवस्था कार्यालयबाट सवारी अनुमति पत्र शाखालाई नया“ आर्थिक वर्Èस“गै अलग बनाउने निर्णय गरेको हो । काठमाण्डौंमा मोटरसाईकल समेत छुट्टै गरी तीन कार्यालय रहेकोमा गण्डकी सहित लुम्बिनी, कोशी र नारायणीमा यस आर्थिक वर्षदेखि अलग बनाएको हो । निर्णय बमोजिम पोखरामा यातायात व्यवस्था र सवारी चालक अनुमति पत्रका अलग÷अलग कार्यालय प्रमुख पनि विभागले खटाइसकेको छ । दुवै कार्यालय प्रमुखमा उपसचिव स्तरको दरबन्दी छ । अनुमति पत्र प्रमुखका रुपमा गृह मन्त्रालय अन्तर्गत इलाका प्रशासनमा कार्यरत थापा भदौ २६ गते पोखरा आएका हुन् । नयाँ कार्यालयमा सबै नयाँ दरबन्दी कायम गरिएको छ ।

‘नयाँ कार्यालय स्थापना भएपछि २६ जनाको दरबन्दी रहेकोमा चार जनामात्रै आएका छन् । एक अधिकृत, दुई सुब्बा र एक खरिदार मात्रै हाजिर छ ।’ थापाले भने– ‘पुराना कर्मचारी यातायात व्यवस्थामै रहने भयो । अहिले दशैं भएकाले परीक्षा मिति तोक्न सकेनौं ।’ उनले परीक्षा मिती नै नतोकेको दाबी गर्दै सेवाग्राहीले कार्यालयकै कारण सास्ती भोगेको भन्ने गुनासोको खण्डन गरे ।

प्रमुख थापाले दुई कार्यालय भएपछि भवनको स्वामित्वका विषयमा भएको हानथापको चर्चाको खण्डन गरे । सवारी विभागतर्फ गृहमन्त्रालयमै कार्यरत उपसचिव भरत पौडेल प्रमुख छन् । कार्यालय दुईटा भएपछि जग्गा अभावका कारण एउटा कार्यालय सनुपर्ने हुन्छ तर सकेसम्म आफैं रहने जोडबलमा दुई हाकिम लागिपरेको कर्मचारीहरु नै बताउँछन् ।

नया“ स्थापना हुने कार्यालयले आफैले नया“ व्यवस्था गर्नुपर्ने सामान्य नियम रहेपनि अनुमति पत्रका शाखाका प्रमुख थापाले अहिलेकै कार्यालयमा आफू रहनका लागि सेटिङ मिलाउने प्रयास गरेको समाचार सार्वजनिक भएपछि उनले यसलाई ठाडै नकारे । ‘कुन कार्यालय कहाँ रहने, को कहाँ बस्ने भन्ने माथिबाट निर्णय नै भएको छैन । सब भ्रामक कुरा हुन् ।’ थापाले भने– ‘हामी गृहमन्त्रालय देखि नै संगै चिया खाने साथी हौं । मिलेर नै बसेका छौं ।’

हालै यातायात व्यवस्था कार्यालय गण्डकी प्रमुखका रुपमा आएका पौडेल पहिलाकै प्रमुख बसेको कोठामा बसेका छन् भने थापा शाखा अधिकृत बाबुराम लामिछानेको कक्षमा नेमप्लेट राखेर बसेका छन् । ट्रायलका लागि स्थल र ट्राफिक बत्ती लगायत संरचना भएको र चार पांग्रे सवारी साधनको लाइसेन्सको लागि ट्रायल स्थल बन्दै रहेकाले पनि सवारी चालक अनुमति पत्रको कार्यालय अहिलेकै स्थानमा राख्नुपर्नेमा उनको जोड रहेको बताईन्छ । कार्यालय कहाँ रहने ? विभागले स्पष्ट नगरेपछि काम पनि प्रभावित भएको कर्मचारीहरुले पनि गुनासो गरेका छन् ।

मोटरसाईकल÷स्कुटरको लाईसेन्स वितरण गरिँदै आएपनि नयाँ प्रणाली लागू भएपछि गत वैशाख देखि नै चारपाङ्ग्रे सवारीको लाईसेन्स वितरण रोकिएको छ । स्थानीय स्तरबाट लाइसेन्स वितरण नहु“दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । प्रयोगात्मक परीÔाका लागि आवश्यक पूर्वाधार बनाउन पर्याप्त जग्गा, बजेट अभाव भन्दै काम ढिलो हुँदा हजारौं सेवाग्राही मर्कामा परेको ड्राईभिङ स्कूल सघं गण्डकी अध्यक्ष तुलबहादुर ठकुरी बताउँछन् । ‘चार पाङ्ग्रे सवारीको लाईसेन्स रोकिएको अवस्था छ । सीप सिकेर पनि अनुमति पत्र नपाउँदा बेरोजगार भएर बस्नुपर्ने अवस्था छ । यो राज्यकै लाचारीपन हो ।’ उनले भने– ‘हामी व्यवसायीसँगै आम जनता मर्कामा परेका छन् ।’

कमेन्ट गर्नुहोस्
Share: