कोरियामा फेरि दुई नेपाली खेलाडी भागे, मिलेमतो भएको आशंका

Share:

इन्छन (दक्षिण कोरिया), आश्विन ९ । दक्षिण कोरियाको इन्छनमा जारी १७औं एसियाली खेलकुदमा नेपाली खेलाडीहरु भाग्नेक्रम जारी छ । आज उसुका दुई खेलाडीहरु भागेको खुलेको छ ।

उसु खेलाडीहरु सोमवीर तामाङ र निराजन आलेमगर सम्पर्कविहीन भएको नेपाली टोलीको ‘सेफ डे मिसन’ छिमी उर्केन गुरुङले जनाएका छन् । आज नेपाल फर्कने उसु टिमलाई सेफ डे मिसनले बिदाई गर्ने क्रममा मात्र दुई खेलाडी भागेको रहस्य खुलेको हो ।

b112

सेफ डे मिसन गुरुङले खेलाडीहरु मिलेमतोमा भागेको हुनसक्ने बताएका छन् । सोमवीर गत मंगलबारदेखि नै भागेको भए पनि उसु व्यवस्थापक चन्द्र तामाङले कुनै जानकारी नदिइ टिमलाई लिएर नेपाल फर्कदै गरेको खुलेको छ ।

ओलम्पिक टिमले केरकार गर्दै जाँदा तामाङले सोमवीर मंगलबार नै भागेको र निराजन बुधबार भागेको स्वीकारेका थिए । निराजन रिन्जी शेर्पासँग तथा सोमवीर दानवीर महर्जनसँग एउटै कोठामा बस्दै आएका थिए । शेर्पा र महर्जनले भने आफूहरुलाई उनीहरु भागेकोबारे कुनै जानकारी नभएको बताए ।

तर, दुई दिनसम्म पनि कुनै जानकारी नदिइ खेलाडी भगाउन मद्दत गरेको भन्दै ओलम्पिक कमिटीले व्यवस्थापक चन्द्र तामाङलाई नियन्त्रणमा लिए पनि पछि भने कागज गराइ नेपाल फर्कन दिएको थियो । भाग्ने खेलाडीहरुले सुटकेस छाडेर भागेका थिए ।

यसअघि नेपाली सेपाकताक्रो खेलाडी अमन पोडे मंगलबार राति भागेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: