
काठमाण्डौं, १० असोज / १ सय ४६ जना सभासद दशैं मनाउनका लागि काठमाडौं बाहिर जान नपाउने भएका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति र संविधान मस्यौदा समितिमा रहेका १ सय ४६ जना सभासद दशैं मनाउनका लागि काठमाण्डौं बाहिर जान नपाउने भएका हुन् ।

दुबै समितिले दशैं बिदाका बेलामा पनि काम गर्नुपर्ने भएकाले ती समितिका सदस्यहरुले घर जान नपाउने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बताउनुभयो । संविधानसभाका अध्यक्ष नेम्वाङले संविधानसभाको बैठक कुनै पनि दिन बस्न सक्ने भन्दै बाँकी सभासदहरुले पनि फुलपाती अघि घर जान नपाउने बताउनुभयो ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानका विवादित विषयमा सहमति जुटाउन असोज १४ गतेसम्मको समय दिइएको छ भने मस्यौदा समितिलाई असोज मसान्तसम्म मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ ।
