
गोकुल बानियाँ
पोखरा ११ असोज । पहिरोका कारण बिगत एक महिनादेखि बन्द रहेको बिश्व शान्ति स्तुपा आजदेखि खुल्ला भएको छ । पहिरो रोकथामको लागि कुनै काम सुरु नभएपनि बिश्व पर्यटन दिबसको अबसर पारी स्तुपा प्रबेशमा लगाईएको रोक हटाईएको स्तुपा सञ्चालक समितिले जनाएको छ । गत भदौ ९ गते झरेको पहिरोले स्तुपा जोखिममा परेको भन्दै प्रबेशमा रोक लगाईएको थियो । पर्यटकिय सिजन सुरु भएकाले रोकथामको काम सुरु नहुदै खुलाउन बाध्य भएको बिश्व शान्ति स्तुपा सञ्चालक समितिका अध्यक्ष प्रकाशमान गुभाजुले जानकारी दिए ।
स्तुपा खुल्ला गरिएपनि त्यहा जाने पर्यटकको लागि जोखिम भने कायमै छ । पहिरो झरेको स्थान वरपर सामान्य बार लगाईएको छ । पहिरो गएको स्थानलाई त्रिपाल ओढाएर राखिएको छ । जोखिम युक्त क्षेत्र भएकाले अबलोकनको लागि खुल्ला गर्दा सुरक्षित बनाउन प्रहरीको सहयोग मागेपनि नपाएको र दुई निजी सुरक्षाकर्मी र गाउललेलाई खटाएर स्तुपा खुलाईएको गुभाजुले बताए ।
एकैपटक धेरै मानिस स्तुपा उक्लदा जोखिम हुने डरले एक पटकमा १० जनाले मात्रै स्तुपा अबलोकन गर्न पाउनेछन् । पहिलो समुह फर्केपछि मात्रै अन्य मानिसहरुलाई १०/१० जनाको दरले प्रबेश दिईने समितिले जनाएको छ । स्तुपा मर्मतको लागि सरकारले उपलब्ध गराउने भनेको ३० लाख रुपैया प्राप्त नभएको र स्थानिय स्तरमा सहयोग संकलनको काम भैरहेको गुभाजुले बताए । स्तुपा सञ्चालक समिति र पोखरा पर्यटन परिषद्ले स्तुपा संरक्षणको लागि सहयोग जुटाउन छुट्टा छुट्टै सहयोग कोषको स्थापना गरेका छन् । सरकारी निकायले संरक्षणमा ध्यान नदिएको पर्यटन ब्यबशायीले गुनासो गरेका छन् ।
जिल्ला पर्यटन बिकास समितिका अध्यक्ष समेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले पानी पर्ने क्रम नरोकिएकोले संरक्षणको लागि काम सुरु हुन नसकेको बताए । बर्षातको क्रम रोकिएर जमिन सुख्खा भएपछि मात्रै योजना अनुसार काम सुरु हुने उनले बताएका छन् । स्तुपाको संरक्षण र पहिरो रोकथामको लागि प्रारम्भिक रुपमा ३० लाख रुपैया लागत अनुमान गरिएको थियो ।
जपानद्धारा निर्मित बिश्व शान्ति स्तुपा नेपालकै पहिलो हो । एक सय १५ फिट अग्लो र ३ सय ४४ बर्गफिट गोलाईको स्तुपामा नेपाल सहित जापान, श्रीलङका र थाईल्याण्डका चारओटा मूर्तिहरु चार दिशामा राखिएका छन् । बिसं २०४९ सालमा निर्माण सुरु भई २०५६ सालदेखि सञ्चालनमा आएको स्तुपाको लागि सरकारले २१ रोपनी जग्गा भोगचलनको लागि दिएको छ ।

