
१३ असोज | आर्यन सिग्देललाई भिन्न लुक्स दिएर निर्माण भएको फिल्म ‘नाईके’ अन्ततः मंसिर १९ मा प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी ‘ब्ल्याक स्याडो प्रोडक्शन’ले प्रदर्शन मितिलाई पुष्टी गरेको हो । यसअघि असोज ३ मा प्रदर्शनमा आउने भनिएपनि प्राविधिक कारणले फिल्मको प्रदर्शनलाई पछाडि धकेल्नु परेको निर्माण कम्पनीले जनाएको छ ।
‘प्राविधिक रुपमा फिल्मलाई उत्कृष्ट बनाउनका लागि केहि समय बढि लाग्यो ।’ फिल्मका निर्देशक नेत्र गुरुङले भने–‘नाईके अब दर्शकहरुको लागि एउटा प्याकेज खुराक बनेको छ ।’ सबैखाले दर्शकले नाईके हेरेर मनोरञ्जन लिन सक्ने उनले बताए ।
चाडवाडको बेलामा फिल्महरुको अस्वस्थ जुधाई पनि रिलिज डेट सर्नुको अर्को कारण भएको निर्माण कम्पनीले जनाएको छ । नाईकेमा आर्यन सिग्देलसँगै रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की, विजयराज सेन्चुरी, सारिका केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।
नाईकेलाई अर्जुन तिवारीले खिचेका हुन् । पोखरा आसपासमै सुटिङ भएको यो फिल्ममा चारवटा गीत समावेश छन् । ताराप्रकाश लिम्बु, योगेश काजी बिसी र रमण गायकको संगीत रहेको गीतहरुमा कोरियोग्राफि भने रोहन नेपालीको छ । फिल्ममा सानुकुमार द्वन्द निर्देशन गरेका छन् । राजिव श्रेष्ठको निर्माण संयोजनमा बनेको फिल्ममा विष्णु हमाल कार्यकारी निर्माता हुन् । जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीको समेत फिल्ममा लगानी रहेको छ । फिल्मको लागि ७० लाख रुपैँया खर्च भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

