
पोखरा १४ असोज । पोखरा उपत्यका नगर बिकास समितिका अध्यक्ष समेत रहेका नेपाली काँग्रेस कास्कीका उपसभापति बिष्णु बास्तोला पक्राउ परेका छन् । आफ्नै कार्यलयका कर्मचारीमाथि हातपातको अभियागमा उनि पक्राउ परेका हुन् ।
पोखरा उपत्यका नगरबिकास समितिका लेखा अधिकृत दयामोहन आचार्यलाई कुटपिट गरेको उजुरीका आधारमा बास्तोलालाई मंगलवार दिउसो प्रहरीले नियन्त्रणमा लिएको हो । दिउसो ३ बजेदेखि प्रहरी नियन्त्रणमा रहेका बास्तोलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।
सोमवार दिउसो कार्यालय समयमा कार्यकक्षमै हातपात गर्दा आफुले लगाएको कपडा च्यातिएको र अपशब्द प्रयोग गरेको भन्दै आचार्यले जिल्ला प्रशासन कार्यालय कास्कीमा निबेदन दिएका थिए ।
आचार्यले सुरक्षा मागसहित उजुरी गरेपछि कास्कीको हेम्जाबाट बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियमविपरीतको चेक काट्न अस्वीकार गरेपछि आफुमाथि कुटपिट भएको आचार्यले बताए । तर बास्तोलाले आफुले कुटपिट नगरेको दाबि गरेका छन् ।
दुबै पक्षलाई राखेर सहमतिको प्रयास भएपनि सफल नभएकाले उनलाई हिरासतमा राखिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पोखरा—८ सिमलचौरस्थित विश्वेश्वर शिव पञ्चाङ्ग मन्दिरका लागि ५१ हजार रुपैयाँ र अर्को एक आमा समूहलाई ५१ हजार रुपैयाँ भुत्तानी दिन अध्यक्ष बास्तोलाले चेक काट्न भनेका थिए ।
तर मन्त्रालयको स्वीकृतबिना अनुदानका लागि चेक काटन् नमिल्ने भन्दै चेक काट्न अस्विकार गरेका लेखा अधिकृतलाई उनले हातपात गरेको उजुरीमा उल्लेख छ ।
बास्तोलाले आफुखुसी स्विकृति दिई चेक काट्न दवाब दिएको आचार्यले बताए । नगर विकास समिति ऐन २०४५ को १३ क मा नेपाल मन्त्रालयको स्वीकृत बेगर अनुदान रकम भुत्तानी नदिन उल्लेख गरिएको छ ।

