
पोखरा, १४ असोज। संगम एफसी बी ले पोखरामा सञ्चालित चौथो मेरो नेपाल कप खुल्ला सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को उपाधि जित्न सफल भएको छ। बडा दसैँको अवसर पारेर मेरो नेपाल युवा क्लब पोखरा–१४ मझेरीपाटनको आयोजनामा रामेश्वरी उमाविको खेलमैदानमा म·लबार भएको फाइनलमा सत्य युवा क्लब बाझापाटनलाई १–० ले पराजित गर्दै संगम एफसी बी ले सो उपाधि जित्न सफल भएको हो। पहिलो हाफको पाँच मिनेटमै कुमार गुरुङले गरेको एकमात्र गोलले नै संगम एफसीलाई उपाधि हकदार बनायो।
दोस्रो हाफको १९ मिनेटमा संगमका टीम क्याप्टेन किरण गुरुङ ‘चाइना’ ले डबल एलो (रेड) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बाँकी समय संगम छ खेलाडीमा सीमित हुन पुग्यो। अत्यन्तै प्रतिस्पर्धात्मक बाँकी खेलमा सत्यले गोल गर्ने अवसर बारम्बार पाए पनि त्यसमा संगमका गोलकिपर तेन्जिन नाम्गेल बाधक बने र खेल अन्तत संगमले जित्यो। उपाधिसहित संगमले नगद ८८ हजार आठ सय ८८, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा सीमित सत्य युवा क्लबले नगद ५५ हजार पाँच सय ५५ मा चित्त बुझायो।
फाइनल खेलको म्यान अफ दी म्याच संगम एफसी बी का गोलकिपर तेन्जिन नाम्गेल घोषित भए। प्रतियोगितामा सत्य युवा क्लबका कृष्ण कुँवर बेस्ट डिफेण्डर, सत्यकै अजित प्रजापति बेस्ट गोलकिपर, संगम एफसी बी का कुमार गुरुङ बेस्ट स्ट्राइकर र संगममै टंक गुरुङ बेस्ट प्लयेर घोषित भए।सर्वाधिक सात गोल गरेका सत्यका सुशील लामा हाइस्कोरर घोषित भए। यस्तै ढोरफिर्दी एफसी तनहुँले बेस्ट ड्रेस तथा रत्नासेवा समाज कसेरीले फेयर प्ले अवार्ड पायो। फाइनल खेल रेफ्रीद्वय सुशील केसी र सन्तोष श्रेष्ठले खेलाएका थिए।
प्रतियोगितामा विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि सभासद् यज्ञबहादुर थापा, पोखरा उप–महानगरपालिकाका पूर्व मेयर भीमसेन थापा, मेरो नेपाल युवा क्लबका पूर्व अध्यक्ष बटुकृष्ण कुँवर, मुख्य प्रायोजक कि·्स इन्स्टिच्युटका प्रबन्ध निर्देशक सन्तोष शाही, क्लबका पूर्व अधयक्ष एवं विग एफएमका अध्यक्ष महेश भण्डारी, क्लबका अध्यक्ष हरि जिसीलगायतले पुरस्कार वितरण गरेका थिए। सो अवसरमा सभासद् थापाले विगतमा खेलको नियम नजान्दा संविधानसभाले संविधान दिन नसकेको भन्दै नेताहरूले खेलाडीबाट नियम सिक्नुपर्ने बताए।
कार्यक्रममा पोखरा उप–महानगरपालिकाका पूर्व मेयर भीमसेन थापा, विग एफएमका अध्यक्ष महेश भण्डारी, क्लबका पूर्व अध्यक्ष बटुकृष्ण कुँवर, समाजसेवी रोमबहादुर कार्की, टोल विकास संस्था समन्वय समिति पोखरा–१४ का अध्यक्ष पार्वती ढु·ानालगायले मन्तव्य राखेका थिए।
मेरो नेपाल युवा क्लबका अध्यक्ष हरि जिसीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं क्लबका सचिव दिवस कुँवरले स्वागत मन्तव्य र लक्ष्मण कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रमका सूर्योदय कला केन्द्रका कलाकारले नृत्य प्रस्तुत गरेको प्रचार–प्रसार उपसमितिका संयोजक पृथ्वी कुँवरले जानकारी दिए।
यसअघि बिहान भएको पहिलो सेमिफाइनल खेलमा सत्य युवा क्लब बाझपाटनले रत्नासेवा समाज कसेरीलाई टाइब्रेकरमा ३–१ ले पराजित गरेको थियो। निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएको थियो। दोस्रो खेलमा संगम एफसी बी ले आयोजक मेरो नेपाल युवा क्लबलाई ३–१ ले पराजित गरेको थियो सो खेलमा संगमका कुमार गुरुङले दुई तथा टंक गुरुङले एक गोल गरेका थिए भने मेरो नेपालका लागि चिश्छल तुलाचनले सान्त्वना गोल फर्काएका थिए। असोज ८ गतेदेखि सञ्चालित सो प्रतियोगितामा ५२ टीमको सहभागिता रहेको थियो।

