
पोखरा, २२ असोज । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि थप दवाबका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
विमानस्थल निर्माणको प्रक्रियाले गति नलिएको र सरकारी मन्त्रालय बीच सहकार्यको अभाव खट्किरहेको अवस्थामा बिबिध दवाबमुलक कार्यक्रमहरु तय गर्ने उद्देश्यले सरोकार समितिका संयोजक बिन्दु कुमार थापाको अध्यक्षतामा जिल्लाका मुख्य राजनैतिकपार्टी प्रमूखहरु, पोखरा स्थित सम्पुर्ण संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, उद्योगीव्यवसायीहरु एवं पत्रकारहरुको बृहत भेला एवं बैठकले आन्दोलनमा जाने निश्कर्ष निकालेको हो ।
भेलाको निर्णय अनुसार असोज अन्तिम साता सम्ममा सरोकार समितिको नेतृत्वमा कास्की जिल्लाका मुख्य राजनैतिक पार्टीका प्रमुखहरुको अनिवार्य सहभागितामा एक प्रतिनिधिमण्डल काठमाण्डौ जाने र सो प्रतिनिधि मण्डलले पर्यटनमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्री र मुख्य राजनैतिक दलका प्रमुखहरु मोहन बैद्य, पुष्पकमल दाहाल, के.पि. शर्मा ओली र शुसिल कोइराला संग भेटघाट गरि विमानस्थलको यथाशिघ्र निर्माणका लागि पहलगर्ने निर्णय गरेको छ ।
साथै उक्त भेटघाट पश्चात पनि सो प्रतिनिधीमण्डललाई विमानस्थल निर्माण कार्य तत्काल शुरु हुने सुनिश्चितता नलागेमा काठमाण्डौमानै पत्रकार भेटघाट कार्यक्रम आयोजनागरि आन्दोलनका कार्यक्रमहरु घोषणागर्ने निर्णय गरेको छ । यसरी संचालन गरिने आन्दोलन निर्णयक आन्दोलन हुने सरोकार समितिको दाबि रहेको छ ।
एमाले नेता भिम आचार्य पर्यटन मन्त्री भएका बेला गत जेठ १ गते पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माणको लागि ठेकेदार कम्पनीसंग निर्माण सम्झौतामा हस्ताक्षर भएको थियो । बिमानस्थल निर्माणको जिम्मा पाएको चिनिया ठेकेदार कम्पनी सिएएमसी र नेपाल नागरिक उड्ययन प्राधिकरण बिच २१ करोड ६० लाख डलर अर्थात् करिब २१ अर्ब रुपैयाँमा निर्माण सम्झौता भएको हो ।
ठेक्का प्रक्रिया सुरु भएर पनि अबरुद्ध बनेको झण्डै २ बर्षपछि गत चैत्र २४ गते सरकारले चिनिया कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । यसअघि सरकारले साढे १६ करोड डलर लागत अनुमान गरेर अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेकामा सबैभन्दा कम चाइना सीएएमसीले साढे ३० करोड डलरको प्रस्ताव गरेपछि विमानस्थल बनाउने÷ नबनाउने विषयमा निकै विवाद भएको थियो ।
पोखरेलीको निरन्तर आन्दोलन र दवाबपछि पुनराबलोकन मुल्यमा निर्माण सम्झौता भएपनि फेरि किचलो सुरु भएपछि पोखरेली आक्रोसित बनेका छन् । बिमानस्थल निर्माणको लागि दवाब दिन गत बर्षको असोज देखि दशैतिहार नभनी झण्डै ३ महिना रिले अनसन बसेका पोखरेलील पोखराबाट झण्डै ५ सय गाडि लगेर सिंहदरवार घेराउ समेत गरेका थिए ।
ठेकेदार कम्पनीसंग निर्माण सम्झौतासँगै चिनियाँ एक्जिम बैंकसँगको ऋण सहयोगमा हस्ताक्षर गर्ने काम मात्रै बाकी रहेको थियो । यसका लागि एक्जिम बैंकले साढे १४ करोड डलर ऋण दिन तयार भएको छ । प्राधिकरणले सन् २०१२ फेब्रुअरी ९ मा ईपीसी मोडलमा विमानस्थल निर्माणका लागि पहिलोपटक बोलपत्र आह्वान गरेको थियो । यसमा २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडा धावनमार्ग, एरोब्रिजयुक्त जहाजबाट सोझै टर्मिनल पुगिने भवन तथा कार्गो भवन निर्माण गरिने उल्लेख छ ।
ठेकेदार कम्पनीसंगको निर्माण सम्झौतासंगै छिट्टै अधिग्रहण गरिएको जग्गाको मुआब्जा बितरणको काम सुरु गर्ने गरी बर्तमान अर्थमनत्री रामशरण महतको बजेट भाषणमा आबश्यक जग्गा अधिग्रहणको काम सुरु गरिने उल्लेख छ । तर निर्णय भईसकेको काम अहिले आएर रोकिनुमा अर्थमन्त्री महतकै चलखेल रहेको कतिपयले आरोप लगाएका छन् । कतिपयले भने भिम आचार्य पर्यटन मन्त्रीबाट हट्नुमा पोखरा क्षेत्रिय बिमानस्थल निर्माण कार्यको टुङ्गो लगाउनुलाईनै कारण मानेका छन् । बिमानस्थल निर्माणको लागि २०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
