
रञ्जन अधिकारी पोखरा, २४ असोज / नेपालमा लागूपद्धार्थ प्रयोगकर्ताको संख्या दिनदिनै बढिरहेकाले यसको समयमै नियन्त्रण गर्न अभियान नै सञ्चालन गर्ने अभियानमा पूर्व प्रहरीहरु जुटेका छन् । नेपाल पूर्व प्रहरी संगठन कास्कीले जिल्लामा लागूपद्धार्थ प्रयोग विरुद्धको अभियानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीसँग सहकार्य गरी अभियान थाल्ने तयारी गरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । त्यसको लागि उचित बजेट उपलब्ध गराउन सरकारी निकायलाई ध्यानाकर्षण गराएका छन् ।
नेपाल पूर्व प्रहरी संगठनका महासचिव पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्तराज कुँवरले नेपालमा डेढ लाख संख्यामा छाड्नै नसक्ने अवस्थाका लागूपद्धार्थ प्रयोगकर्ताहरु रहेको र थप एक लाख ८५ हजार जना दुव्र्यसनमा फसेको बताए । पोखरामा लागूपद्धार्थ प्रयोगबाट युवालाई जोगाउन सकिएन भने बस्नै नसकिने अवस्था समेत आउने भन्दै उनले सबै जुटेर अभियान सफल पार्नुपर्ने बताए । ‘ब्राजिलमा यस्तो स्थिति पनि आयो कि लागूपद्धार्थ दुव्र्यसनीले बस्ती नै छाडेर सबै भाग्नुप¥यो ।’ उनले थपे– ‘सुटरलाई नै पैसा तिरेर उनीहरुलाई मार्न लगाईयो र प्रहरी प्रशासन चुप लागेर बस्नुपर्ने अवस्था उत्पन्न भयो ।’ उनले यस्तो अवस्था आउन नदिन बेलैमा सचेत हुनुपर्ने बताए ।
लागूपद्धार्थ रोकथाम, उपचार तथा पुर्नस्थापनाका क्षेत्रमा कार्यरत नार्कोनन् नेपालका राष्ट्रिय निर्देशक समेत रहेका पूर्व एसएसपी कुँवरले लागूपद्धार्थ प्रयोग रोक्न पाँच कामहरु गर्नुपर्ने पनि सुझाए । लागूऔषधबाट जोगाउने, प्रयोग गर्नेको पहिचान गर्ने, प्रयोगकर्तालाई उपचार गर्ने, पुर्नस्थापितलाई पुनः कुलतमा फस्नबाट रोक्ने र ओसारपसार तथा विक्रिवितरण गर्न रोक्नुपर्ने उनको सुझाव छ । पूर्व प्रहरी संगठनले यही पाँच कामका लागि अभियान संचालन गर्ने कुँवरको भनाई छ ।
लागूपद्धार्थ प्रयोगकर्ताहरु असाधारण भएको भन्दै उनले यसको रोकथामका लागि घरघरमा लागूपद्धार्थबारे शिक्षा, विद्यालयमा ड्रग्स विरुद्ध क्लब गठन, गाविसमा दबाब समूह गठन गर्नुपर्नेमा जोड दिए । उनले लागूपद्धार्थ विरुद्ध कार्यक्रमका लागि सरकारले निश्चित प्रतिशतमै बजेट छुट्याउनुपर्ने माग गरे ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जिल्लामा लागूपद्धार्थ प्रयोग विरुद्ध विभिन्न संघसंस्थासँगको सहकार्यमा १५ दिने अभियान सम्पन्न गरेको जनाउँदै लागूपद्धार्थ प्रयोग विरुद्धको सबै अभियानमा आफ्नो संगठनको साथ रहने उल्लेख गरे । ‘हामी अभियान कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरेर अघि बढ्छौं ।’ उनले भने । पूर्व प्रहरी संगठन कास्कीका अध्यक्ष एकनारायण शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
लागू औषध प्रयोगकर्ता पत्ता लगाउने युरिन किट मेशिनको पोखरामा प्रर्दशन गरिएको छ । नेपाल पूर्व प्रहरी संगठनका महासचिव बसन्तराज कुँवरले तीन जना लागूऔषध प्रयोगकर्ताको मुत्र परीक्षण गरी यहाँका पत्रकार र कास्कीका प्रहरी अधिकारीहरुलाई प्रविधि प्रयोगबारे जानकारी गराए ।
लागूऔषध प्रयोगकर्ताले कुन प्रकारको लागूऔषध प्रयोग गरेको छ भन्ने पत्ता लगाउने मेशिनको बारेमा जानकारी गराएका थिए । ‘मल्टि ड्रग स्क्रिन टेष्ट डिप कार्ड’ नामक प्रविधिले पाँच प्रकारका लागूऔषधहरु ब्राउन सुगर, उत्तेजित बनाउने ड्रग्स, कोकिन, गाँजा र नर्फिन प्रयोग गरेनगरेको जानकारी दिनेछ । यी पाँच प्रकारका लागूऔषधबारे जानकारी दिन पाँच रंगका बक्स रहने सो किट पिशावमा डेढ मिनेट डुबाएमा दुई धर्का देखिए प्रयोग नगरेको र जुन बक्समा एक धर्का देखिन्छ त्यही लागूऔषध प्रयोग गरेको थाहा हुने कुँवरले जनाए ।
अमेरिकामा बनेको यो मेसिन हाल नार्कोनन् नेपालसँग मात्र रहेको छ । यसलाई किनेर हरेक अभिभावकले आफ्ना छोराछोरी कुलतमा फसेको छ कि छैन पिशाव जाँच गरेर थाहा पाउन सकिने भएकाले उपयोगी बन्ने अपेक्षा गरिएको छ । कुँवरले प्रयोगकर्ताले ढाँटेपनि मेशिनले कस्तोप्रकारको प्रयोगकर्ता हो भनेर पत्ता लगाउने भएपछि प्रहरीलाई अनुसन्धान गर्न सजिलो हुने बताए । पूर्व प्रहरी संगठन कास्कीका अध्यक्ष एकनारायण शर्माले कास्की प्रहरी प्रमुख एसपी बसन्तकुमार लामालाई युरिन किट हस्तान्तरण गरेका थिए ।

