
रञ्जन अधिकारी पोखरा, २७ असोज/ सुन्दर नगरी भनेर चिनिएको पोखरा विस्तारै कुरुप बन्दै गएको यथार्थलाई हामी नर्कान सक्दैनौं । पोखरालाई चर्चा गर्दा धेरै अघि फर्कनु नै पर्दैन । पोखरा दश वर्ष अघि जस्तो पनि छैन । प्रमुख कारण भनेकै अव्यवस्थित बसोबास हो ।
प्रकृतिको बरदान मिलेको पोखरालाई जस्तो पायौं, आउँदो पुस्तालाई पनि उस्तै नासो हस्तान्तरण गर्नुपर्नेमा पोखरेलीको अहिलेको भूमिका कस्तो छ ? काठमाण्डौंको स्वयम्भू परिसरबाट राजधानी चिहाउँदा ईट्टा थुप्रिएको जस्तो देखिने घरहरुसँग विदेशका शहरहरु तुलना गर्दा पोखरा पनि काठमाण्डौं जस्तो बन्न नदिन कस्तो पहल गरिएको छ ? बेलैमा नसोचे कुरुप पोखरा हेर्न धेरै समय लाग्नेछैन । अहिले कृषियोग्य खेती जमिनलाई प्लट बनाएर उत्पादनशून्य बनाएर छाडेका छौं । तीब्र शहरीकरणसँगै मापदण्ड विपरितका भवनहरु ठडिएका छन् । पोखराको शान नै हिमाल हो, त्यही हिमाललाई छेक्ने गरी तलौं तलाका घरहरु बनेका छन् । अव्यवस्थित बस्ती निर्माण, मापदण्ड विपरितका संरचनाले पोखरा अस्तब्यस्त बनेको छ । राज्य गम्भीर नभएपछि मापदण्ड लागू गर्ने निकाय निस्क्रिय बन्दा पैसा भएपछि आÇनो घर त हो, मनखुशी निर्माण गरिएको छ ।
Photo Source : Google
वि.सं. २०३१ सालमै पोखराको भौतिक विकास योजना तयार भएको थियो । त्यसै योजनालाई टेकेर पोखरामा विभिन्न मापदण्ड बनाउने, नीति निर्माण गर्ने गरेको बताउँछन् शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कास्कीका निमित्त प्रमुख ई. किसानसिंह गुरुङ । प्रत्येक दश वर्षमा योजना पुनरावलोकन गर्ने क्रममा हालसालै विभागले पोखरा उपत्यकाको दीर्घकालीन योजनाको पुनरावलोकन गरी दीर्घकालीन योजना तर्जुमा २०७० मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गर्ने तयारीमा रहेको छ । उनका अनुसार यो योजनामा पूर्वाधार विकास, सामाजिक, आर्थिक, पर्यटन लगायतका क्षेत्रमा विभाजन गरि सिफारिस गरिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, रिङरोड, बसपार्क व्यवस्थापन लगायतका अव्यवस्थित शहरलाई नियन्त्रण गर्न विशेष योजना तयार गरिएको छ । ‘पोखरा निकट भविष्यमै महानगरपालिका बन्ने भएकाले अव्यवस्थित पोखरालाई झनै अव्यवस्थित हुन नदिन ग्रेटर पोखराको अवधारणा अहिले नै सोच्नुपर्ने भएको छ ।’ उनले भने– ‘पोखरा र लेखनाथको समग्र पर्यटन विकास अवधारणा पनि योजनामा समेटिएको छ ।’
३० वर्ष अघिको योजनाको मापदण्ड नै व्यवहारिक नभएको बताउँछन् शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय कास्कीका ईन्जिनियर सुरेन्द्रप्रसाद सिग्देल । ‘धेरै स्थानमा एकतला, दुई तलाको मात्र नक्शा पास हुने नियम छ । पोखराकै बैदाममा एक तला भन्दा घर बनाउन पाईंदैन ।’ उनले भने–‘सडक मापदण्ड अनुसार २६ फिट ६ ईन्च सडक हुनुपर्नेमा बाटो ६ फिट देखि ८, १० फिटसम्म छ । कम्तिमा २० फिट बाटो राख भनेर आग्रह गर्दा पनि नापी विभागले आफूखुशी स्वीकृति दिएर यो प्रचलन आयो ।’ उनले नगरपालिकामा प्राविधिक आफैं राख्ने, आफैं ईञ्जिनियर, आफै नक्सा बनाउने, आफैं पास गर्ने भएकाले पनि स्थिति भयाभह बनेको गुनासो गरे । ‘वृहत्तर मास्ष्टर प्लान हुनुपर्छ । पोखरामा कति जनसंख्या छ, कस्तो घर बनाउने, कति तला बनाउने ? नगरपालिका के हेरेको छ ?’ उनले प्रश्न गरे ।
विश्व बसोबास दिवस पोखरामा पनि मनाईयो
विभागले विश्व बसोबास दिवसको अवसरमा सोमबार एक अन्तक्र्रिया कार्यक्रम आयोजना ग¥यो । अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यूएन हेबिटाट) ले सन् १९८६ देखि यो दिवस मनाउँदै आएको छ । असोज २० गते मनाउनुपर्नेमा नेपालमा महान चाड बडादशैंको बिदा परेकाले दोस्रो सोमबार नेपालभर ‘अव्यवस्थित बस्तीका आवाजहरु’ नाराका साथ मनाईएको छ ।

कार्यक्रममा वक्ताहरुले पोखरामा आवास तथा भौतिक संरचना मापदण्ड अनुरुप निर्माण नहुँदा र योजना कार्यान्वयन हुन नसक्दा बसोबास अव्यवस्थित बनेको बताए । प्रमुख अतिथि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी यमप्रसाद सुवेदीले योजना विनाको वस्ती विकासले नै समस्या सृजना गरेको बताए । हेटौंडा र सुर्खेतमा योजनाहरु व्यवस्थित बन्दै गएको उदाहरण दिँदै उनले पोखरा जस्तो सुन्दर नगर कुरुप बन्न नहुने बताए । ‘अव्यवस्थित ठाउँमा विभिन्न घटना दुर्घटना भएमा उद्धार कार्य समेत हुन सक्दैन ।’ उनले भने– ‘सम्बन्धित निकायको ध्यान पुग्नुपर्छ नै, नागरिकले पनि आफ्नै लागि सोचेर संरचना निर्माण गर्न जरुरी छ ।’ रौतहटबाट सरुवा भएर सोमबार मात्रै कास्कीमा सहायक प्रजिअको पदभार ग्रहण गरेको जानकारी समेत उनले दिए ।
सुकुम्बासी समस्या समाधान आयोग, कास्कीका अध्यक्ष मानबहादुर जिसीले पोखरा उपमहानगरपालिका कार्यालय र पोखरा उपत्यका नगर विकास समितिको बेमेलले विकास निर्माण तथा योजना कार्यान्वयन हुने काम प्रभावित भएको बताए । ‘मिलेर जानुपर्नेमा दुई संस्थाबीच समन्वय नै छैन । स्वामित्व नगरविकास समितिलाई छ । काम नगरपालिकाले गर्ने गर्छ ।’ जिसिले भने– ‘नगर विकास समिति किन खारेज नगर्ने त ? यो पाराले पोखरा दश वर्षमै कुरुप शहर बन्नेछ ।’
एमाले कास्कीका निवर्तमान अध्यक्ष समेत रहेका उनले प्राकृतिक सुन्दरतामा कुरुपता थप्ने काम बस्तीले गरेको भन्दै घरहरु राम्रा छन् तर व्यवस्थित नभएको बताए । ‘हाम्रो पोखरा राम्रो पोखरा भनिँदै आएकोमा यो पहिचान नै हराउने खतरा छ ।’ उनले भने ‘बिग्रने बिग्रिसक्यो, बाँकी रहेकोलाई व्यवस्थापन गर्न नसके पोखरा अब पोखरा रहँदैन ।’ उनले व्यक्ति हित भन्दा पोखरा हितलाई ध्यानमा राखेर यहाँका सुकुम्बासी समस्या समाधान गर्नुपर्ने बताए । कार्यक्रममा निर्माण व्यवसायी समिति पोखराका अध्यक्ष भिमबहादुर शाही, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, लुमन्ती आवास योजनाका फिल्ड कोर्डिनेटर सन्तोष जिसी, विभागका शाखा अधिकृत प्रेमप्रसाद ढकाल, ई. सूर्यप्रसाद बराल, भरत भुषाल लगायतले बोलेका थिए ।
नगरपालिका, नगर विकास समिति र जिविसद्वारा बसोबास दिवस विशेष कार्यक्रमलाई बेवास्ता
पोखराको विकास निर्माण, संरचना विकास जिम्मा बोकेको पोखरा उपमहानगरपालिका कार्यालय, पोखरा उपत्यका नगर विकास समिति, जिल्ला विकास समिति कास्कीका प्रतिनिधि नै कार्यक्रममा उपस्थित भएनन् । विभागले वर्षमा एक दिन विश्व बसोबास दिवसको अवसरमा पोखराको अस्तब्यस्त बसोबासका बारेमा राखेको छलफलमा यी तीन संस्थाका एक जना प्रतिनिधि समेत कार्यक्रममा उपस्थित नहुनुले पोखराको विकासमा नगरपालिका, नगर विकास समिति र जिल्ला विकास समिति कति प्रतिबद्ध छन् ? भनेर प्रमाणित हुने कार्यक्रममा सहभागीले सार्वजनिक रुपमै असन्तुष्टि जनाए ।
विभागका निमित्त प्रमुख ई. किसानसिंह गुरुङले आफूले तीनपटकसम्म जानकारी गराएपनि कार्यक्रममा उपस्थित नभएको भन्दै दुःखेसो पोखे । ‘विकास निर्माणसँग सम्बन्धित तथा योजना कार्यान्वयन गराउने तीन निकायहरु नै उपस्थित भएनन् । आफैं मूल्यांकन गर्नुस्, अरु के भनुँ ?’ गुरुङको दुखेसो थियो ।
पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले पोखरालाई बनाउने जिम्मा लिएको नगरपालिका र नगर विकास समितिका प्रमुख नै एक घण्टाको कार्यक्रममा समेत उपस्थित नभएकोमा दुःख व्यक्त गरे । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विष्णुप्रसाद बाँस्तोला र कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारी हुन् ।

