रहेनन् हरियो डाडामाथि हलो जोत्ने साथि धर्मराज थापा

Share:

काठमाण्डौ २८ असोज । जनकवि केशरी धर्मराज थापाको आज बिहान निधन भएको छ । राजधानीमा उपचार गराइरनु भएका थापाको ९२ वर्षको उमेरमा स्वयम्भुस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

श्रद्धाञ्जलीका थापाको पार्थिव शरीर प्रज्ञाभवन कमलादीमा राखिनेछ । वि सं १९८१ साउन १ गते पिता हर्कबहादुर र माता मनमायाका सुपुत्रका रूपमा कास्की जिल्लाको बाटुलेचौरमा उनको जन्म भएको थियो। उनको बाल्यकालको नाम भुवनबहादुर हो। मध्यम परीक्षामा प्रथम गरेका थापाले लोकसाहित्यमा जीवन बिताएका छन्। उनको  प्रजातन्त्रको काफल पाक्यो बरी लै, हरियोडाँडा माथि, हाम्रो तेन्जिङ शेर्पाले, आज मादल बजेको किन, गाउँबेसी दुनियाँ, धुरुधुरु नरोऊ आमा,घर सम्झी रोएको होला लगायतका गीत चर्चित छन् ।

dharmaraj_thapa

थापाले २०१३ सालमा राजा महेन्द्रबाट जनकवि केसरीको उपाधि पाएका थिए । २००८ सालमा कर्मचारीलाइ उक्साएर हड्ताल गरेबापत गोर्खापत्रको मुखियाबाट खोसुवामा परेका थापा डा केआइ सिंहको बिद्रोहमा समर्थन गरेकोमा ३० दिन जेलपरेपछि त्यसपछिको एक वर्ष भारतका देहरादुन, आसाम, दार्जिलङ, सिक्किम लगायतका ठाउँमा लोक भाका गुञ्जाएका थिए ।

उनका कृतिहरूलाई मौलिक, लेखन र गायन गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ। मौलिक लेखनमा गीतकार र कविका रूपमा विशेष गरी चिनिएका उनको सङ्कलन र सम्पादनको क्षेत्रमा चाहिँ लोकभाका, लोकध्वनि र लोकसाहित्य हो।

उनले मङ्गली कुसुम नामक ग्रन्थको लागि २०२५ सालमा पद्य विधामा मदन पुरस्कार पाएका थिए । त्यस्तै श्रव्य पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरेवापत २०५७ सालमा जगदम्बाश्री पुरस्कार प्राप्त गरेका थिए ।

त्यसबाहेक २०२५ को इन्द्रराज्य लक्ष्मी पुरस्कार, २०१३ र २०३१ मा शुभ राज्याभिषेक पदक, २०४१मा लोक साहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदक आदि सम्मानबाट पनि उनि सम्मानित भएका थिए । थापाका रत्न जुनेली, वनचरो, पहाडी संगीत, कालीको लहर, विलौना, कोसेली लगायतका कृति प्रकाशित छन् । प्रख्यात गायिका ज्ञानु राणा उनकै छोरी हुन्।

कमेन्ट गर्नुहोस्
Share: