काबुलको बाहिरी भागमा रहेको पागमानमा भएको क्रूर आक्रमणपछि मुलुकभर उक्त आक्रमणप्रति विरोध जनाइएको थियो भने धेरै अफगान नागरिकले उनीहरूलाई झुन्ड्याउनुपर्ने माग गरेका थिए । पूर्व राष्ट्रपति हमिद करजईले गत साता पदमुक्त हुनुभन्दा केही समय अगाडि उक्त मृत्युदण्डको आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।
उपमहान्यायाधीवक्ता रहमातुल्लाह नाजारीले पागमान घटना तथा अन्य अर्को ठूलो अपराधमा दोषी प्रमाणित भएका छ पुरुषलाई आझै अपरान्ह मृत्युदण्ड दिइएको बताउनुभयो ।
यस विषयमा राष्ट्रपति गनीको कार्यालयबाट कुनै पनि टिप्पणी आएको छैन । उहाँ अगस्त २९ मा शासनमा पुग्नुभएपछि उक्त मृत्युदण्ड नरोक्न उहाँमाथि बलियो सार्वजनिक दबाब परेको थियो ।
महान्यायाधीवक्ताको कार्यालयका प्रमुख कर्मचारी अत्ता मोहमद नुरीले उक्त कुरालाई पुष्टि गर्नुभयो। यी व्यक्तिहरूलाई काबुल नजिकै पुल–ए–चर्की कारागारमा मृत्युदण्ड दिइएको बताइएको छ ।
काबुलमा रहनुभएका युरोपेली महासङ्घका राजदूत फ्रान्ज माइकल मेलबिनले यी व्यक्तिहरूलाइ झुण्ड्याएर मृत्युदण्ड दिइएकामा कडा आलोचना गर्नुभयो र राष्ट्रपति गनीले यसमा हस्तक्षेप नगरेको भनी प्रश्न उठाउनुभयो ।
अगस्त महिनामा यी सशस्त्र समूहका सदस्यले प्रहरीको पोसाक लगाइ पागमानमा विवाहको भोजमा सरिक भई फर्किएका गाडीहरूको समूहलाई रोकेका थिए।
यसपछि उनीहरूले पुरुषलाई बाँधी कम्तीमा चार महिलालाई बलात्कार गरी उनीहरूको गहना लुटेका लिए ।
अदालतको प्रक्रिया केही घण्टासम्म मात्र चलेको, दोषीलाई यातना दिएर साबिती लिइएको र तत्कालीन राष्ट्रपति करजईले उनीहरूलाई मृत्युदण्ड दिनुपर्छ भनी माग गरेको विषयलाई लिएर अदालती कारवाहीमा प्रश्न गरिएको थियो ।
यी व्यक्तिहरूलाई मृत्युदण्ड दिनुपूर्व संयुक्त राष्ट्र सङ्घको मानवअधिकारका लागि उच्च आयोगले राष्ट्रपति गनीलाई यस अदालती प्रक्रियामा ‘उचित प्रक्रिया’ का पक्षमा गम्भीर प्रश्न उठेकाले यसलाई पुनः अदालतमा पठाइदिन आग्रह गरेको थियो ।
एमनेस्टीले यस सुनुवाइमा प्रतिरक्षाका वकिलहरूलाई निकै छिटो काम गर्नुपरेको र निकै कम समय प्राप्त भएको बताएको छ । यस घटनामा यी व्यक्तिलाई पक्राउ गर्ने र उनीहरूलाई मृत्युदण्ड दिने कार्यबीच प्रारम्भिक अदालतमा केबल नौ दिनको समय रहेको देखिएको थियो ।
एमनेस्टीले यस सुनुवाइमा असंगतपना, यातनाको दाबीमा अनुसन्धान नभएको र राजनीतिक हस्तक्षेप भएको जस्तो देखिएको उल्लेख गरेको छ । यस संस्थाले राष्ट्रपति करजई आफैँले सर्वोच्च अदालतलाई यी व्यक्तिलाई मृत्युदण्ड दिन आग्रह गर्नुभएको पनि उल्लेख गरेको छ ।
यी व्यक्तिलाई दोषी फेला पारिएको थियो भने उनीहरूलाई निर्णय सुनाउँदा त्यसको राष्ट्रिय रूपमा टेलिभिजनमा प्रसारण गरिएको थियो । अदालतबाहिर उनीहरूलाई मृत्युदण्ड दिनुपर्छ भनी भेला आयोजना भएका थिए ।
इजलासमा काबुल प्रहरी प्रमुख जाहिर जाहिरले यी व्यक्तिलाई झुन्ड्याउनुपर्छ भनी माग गर्दा इजलासभित्रै उहाँको प्रशंसा भएको थियो ।तल्लो तहको अदालतको निर्णयलाई पुनरावेदन अदालत तथा सर्वोच्च अदालतले छिटै समर्थन गरेका थिए ।
ह्युमन राइट्स वाचका फेलिम किनले उचित प्रक्रियालाइ डरलाग्दो रूपले उल्लङ्घन गरेकाले पागमान घटनाको सुनुवाइमा अन्यायको प्रक्रियालाई अझै बल मिलेको उल्लेख गरेका छन् ।
यस संस्थाले यस मुद्दामा दोषी पहिचान गर्न प्रत्यक्षदर्शीको लाइन लागेको र निकै थोरै प्रमाणका साथ सुनुवाइ आरम्भ भएको उल्लेख गरेको छ ।
अफगानिस्तानमा सन् २००१ मा तालिवान शासन पतन भएपछि सुधारका कार्य भए पनि अगस्त २३ को बिहान भएको यस हिंसाले अफगानिस्तानमा महिलाले भोगेको हिंसालाई प्रदर्शन गर्ने बताइएको छ ।
अफगानिस्तानमा अर्बौँ अमेरिकी डलरको अन्तर्राष्ट्रिय विकास प्रयासमा महिलालाई केन्द्रमा राखिए पनि उनीहरूले नियमित रूपमा भेदभाव, दुव्र्यवहार र हिंसा भोग्ने गरेको बताइएको छ ।
तालिवानको पालामा सुन्नी इस्लामी कानुनको समयमा महिलालाई पूर्ण रूपमा ढाकिने बुर्का लगाउन बाध्य बनाइन्थ्यो, उनीहरूलाई नोकरी गर्न प्रतिबन्ध लगाइएको थियो र पुरुष संरक्षक नलिइकन घरबाहिर जान प्रतिबन्ध लगाइएको थियो ।
उक्त सामूहिक बलात्कारको विरोधमा व्यापक सार्वजनिक प्रदर्शन भएका थिए । यस्तै अवस्था आमसञ्चार र इन्टरनेटमा पनि देखिएका थिए । सन् २०१२ मा भारतको नयाँ दिल्लीमा एक बसमा एक छात्रामाथि आक्रमण भएपछि यस्तै अवस्था देखिएको थियो । रासस÷एएफपी
