उपभोक्ता हकहित संरक्षणमा व्यवसायीलाई जिम्मेवार बनाउन पोउवा संघलाई सुझाव

Share:

रञ्जन अधिकारी  पोखरा, २९ असोज / पोखरा उद्योग वाणिज्य संघले उपभोक्तामुखी व्यवसायिक वातावरण निर्माण गर्न भूमिका खेल्नुपर्नेमा यहाँस्थित विभिन्न संघसंस्थाको सुझाव छ । उपभोक्ता हकहित संरक्षणमा व्यवसायीलाई जिम्मेवार बनाउन पनि आग्रह गरिएको छ । संघको ३० औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पोखराका विभिन्न संघसंस्थासँग सहकार्य गर्दै जाने अभिप्रायका साथ बुधबार राखेको छलफल कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिले संघ पोखराकै जेठो संस्था भएकाले सोहि अनुसार परिपक्व भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघले यहाँका सबै व्यवसायलाई समेट्नुपर्ने, पोखराको विकासमा अग्रसर हुनुपर्ने, सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुपर्ने उनीहरुको सुझाव छ । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले व्यवसायी र उपभोक्ता एकै सिक्काका दुई पाटा भएकाले बजारलाई उपभोक्तामुखी बनाएर सुसभ्य र सुसंस्कृत बनाउन संघले काम गर्नुपर्ने बताए । उनले व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय नीतिनियममा रहेर गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए ।

सिद्धार्थ क्लबका अध्यक्ष दीपेन्द्र मर्सानीले संघले अहिलेसम्म धेरै क्षेत्रमा काम गरेजस्तो देखिएपनि प्रभावकारी नभएको भन्दै अगुवाई नै गरेर अघि बढ्न सुझाव दिए । ‘औद्योगिक व्यापार मेला बर्सेनी आयोजना भएपनि रमाईलो मेला भन्दा फरक छैन । बालश्रम न्यूनिकरण कार्यक्रम संचालन गरेपनि काम प्रभावकारी छैन ।’ उनले भने– ‘संघ पछि लागेर होईन, अघिल्लो पंक्तिमा रहेर नेतृत्व लिन सक्नुपर्छ । चाकडी चाप्लुसीमा लाग्ने होईन ।’

ईन्सेक पोखराका संयोजक शिव खकुरेलले नियमित बजार अनुगमानका लागि नागरिक समाजसँग सहकार्य समन्वय गर्नुपर्नेमा जोड दिँदै उपभोक्ता हकहित संरक्षणमा व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने बताए । उनले पोखराको यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्यका लागि संघले प्रभावकारी भूमिका खेल्न पनि जोड दिए ।

कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले सिण्डिकेट अवैधानिक रहेको तर यातायात क्षेत्रमा थप समस्या सिर्जना हुन सिण्डिकेट नै लगाईएको स्वीकार गरे । उनले पोखरा उद्योग वाणिज्य संघले सिण्डिकेट अन्त्यका लागि केहि गर्नै नसक्ने उल्लेख गरे ।

हिसान कास्कीका निवर्तमान अध्यक्ष रमाकान्त बरालले निजी विद्यालयहरुले कर तिर्दै आएको तर संघमा आबद्ध नभएको भन्दै संघ पूरानो ढाँचा अनुसार अघि बढिरहेकाले उपभोक्ता र व्यवसायी बीचको खाडल पुर्ने गरी काम गर्न आग्रह गरे ।

गण्डकी धौलागिरी सार्वजनिक यातायात समन्वय समितिका संयोजक बसन्त प्रधानले सबैलाई समेटेर अघि बढ्न सुझाव दिए । नेपाल रेडक्रस सोसाईटी कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले सामाजिक कामहरुलाई पनि निरन्तरता दिन आग्रह गरे ।

युनाईटेड क्लब पोखराका अध्यक्ष हिमालय बख्रेलले पोखराको थप पर्यटन स्थल बनाउने ध्येयका साथ चिडियाखाना निर्माणमा जुटेको र अहिलेसम्म ६ लाख रकम जम्मा गरिसकेकाले प्राप्त २२ सय रोपनी जग्गामा व्यवस्थित चिडियाखाना निर्माणमा पोखरा उद्योग वाणिज्य संघले पनि चासो दिनुपर्ने भन्दै ध्यानाकर्षण जनाए । उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सशक्त आन्दोलन चर्काउनुपर्नेमा जोड दिए ।

सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष राजेश भण्डारी, सामुदायिक सेवा केन्द्र बगरकी अध्यक्ष जीवन अधिकारी, उपभोक्ता मञ्च कास्कीका सदस्य मिलनप्रसाद तिवारी, पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्मा, डाईनामिक सÇटटेकका रामचन्द्र पौडेल लगायतले बोलेका थिए ।

संघका अध्यक्ष बिन्दुकुमार थापाले आगामी कार्तिक १ गते कास्कीका ११ जना सभासद्सहित काठमाण्डौं डेलिगेशन जाने र २ गते प्रधानमन्त्री, अर्थमन्त्री र पर्यटनमन्त्रीसँग विमानस्थल निर्माणका विषयमा छलफल कार्यक्रम रहेको जानकारी दिँदै गम्भीर नभए काठमाण्डौबाटै आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाए ।

संघको मंगलबार सम्पन्न बैठकले उद्योगी व्यवसायीको समस्या समाधानका लागि महासचिव रविन्सन प्रजुको संयोजकत्वमा हेल्प डेस्क स्थापना गरिएको, वेबसाईट निर्माण र चार सदस्य मनोनयन गरी कार्यसमितिलाई पूर्णता दिएको अध्यक्ष थापाले जनाए । बुधबारको कार्यक्रममा मनोनित चार सदस्यहरु बलराम आचार्य, अमितराज मुल्मी, सोम थापा र मोहनबाबु खड्कालाई अध्यक्ष थापाले सपथ खुवाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: