गोकुल बानियाँ पोखरा १ कार्तिक । अर्थमन्त्री डा. रामशरण महतले यसै बिर्ष भित्र पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माण कार्य सुरु हुने आश्वासन दिएका छन् ।
प्रक्रियागत रुपमा अघि बढ्दा केहि ढिलाई भएको भएपनि आबश्यक सबै प्रक्रिया पुरा गरी एक बर्ष भित्र निर्माण कार्य सुरु हुने उनले बताए । पोखरा उद्योग बाणिज्य संघले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा अर्थमन्त्री महतले बिमानस्थल निर्माणमा ढुक्क हुन पोखरेलीलाई आग्रह गरेका छन् ।
बिमानस्थल निर्माण लागत बढी भएकोमा आलोचना भैरहेको भन्दै उनले बिधि र प्रक्रियाले अघि बढ्दा ढिलाई हुनु स्वभाबिक भएको बताए । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल सरकारको उच्च प्रथामिकतामा रहेको उनले बताए । पछिल्लो समय बिमानस्थल निर्माणको बाधक भएको भनि आफु प्रति लगाईएको आरोपको खण्डन गर्दै उनले आफैले ७ बर्ष अघि सुरुवाती बजेट छुट्याएको र यसै आर्थिक बर्षमा पनि बजेट बिनियोजन गरिएको स्मरण गराएका छन् । सरकारको आन्तरिक स्रोतबाटै भएपनि बिमानस्थल निर्माणको काम सुरु हुने उनले बताए ।
पोखरामै आएर अर्थमन्त्री महतले एक बर्ष भित्र बिमानस्थल निर्माणको आश्वासन दिएपनि दवाबको लागि काठमाण्डौ जाने पूर्बनिर्धारित कार्यक्रम अनुसार पोखरेलीको टोलि आजै त्यस तर्फ जार्दैछ । अर्थमन्त्रीको अभिब्यक्ति बिश्वासनिय नभएको उनिहरुले बताएका छन् । ३९बर्षदेखिको पोखरेलीको सपना अझैपनि बिधि र प्रक्रियाको बहानामा पछि धकेल्न खोजिएको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले बताए ।
कार्यक्रममा बोल्दै सभासद् समेत रहेका कांग्रेस कास्कीका सभापति यज्ञ बहादुर थापाले बिमानस्थल पोखरेलीको एक मात्र एजेण्ड रहेकाले यहि सरकारले निर्माण कार्य सुरुवात गर्नुपर्नेमा जोड दिएका छन् । आबश्यक रकम बिनियोजन सहित तत्काल निर्माण कार्य सुरु गर्न उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

