गोकुल बानियाँ
पोखरा ३१ असोज । मनाङ ,मुस्ताङ र म्याग्दीको हिमपहिरोमा फसेका मध्य अहिलेसम्म तीन सय २२ जनाको जिबितै उद्धार गरिएको छ । हिउमा फसेका मध्य मनाङबाट एक सय ११, मुस्ताङबाट एक सय ९७ र म्याग्दीबाट १४ जनाको जिबितै उद्धार गरिएको क्षेत्रिय प्रशासन कार्यालय पोखराले जनाएको छ । शुक्रवार मनाङबाट ५२ जना र मुस्ताङबाट ३१ बिदेशी र १६ नेपाली सहित ४७ जनाको उद्धार गरिएको पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले जानकारी दिए ।
कार्यालयको तथ्याङ्क अनुसार बिहिवार सम्म मनाङबाट ६४ , मनाङबाट एक सय ४५ र म्याग्दीमा १४ जनाको उद्धार गरिएको थियो । घाईते मध्य ४ जनाको पोखरामा र अन्यको काठमाण्डौका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
हिमपात र हिउपहिरोमा पुरिएर अहिलेसम्म ३० जनाको मृत्यु भएको थपलियाले बताएका छन् । अहिलेसम्म प्राप्त तथ्याङ्क अनुसार मुस्ताङमा १४, मनाङमा ११ र म्याग्दीमा ५ जनाको शब भेटिएको छ ।
मृतक मध्य चार क्यानेडियन, ईजरायली चार , पोल्याडका चार , भारतिय चार, स्विडेनी दुई, जापनिज एक र एक नेपालीको मात्रै सनाखत भएको पश्चिमाञ्चल क्षेत्रिय प्रशासन कार्यालय पोखराले जनाएको छ । म्याग्दी र मुस्ताङमा अब खोजी र उद्धारको काम सकिन लागेको भएपनि मनाङमा भने शनिवार पनि उद्धार टोली परिचालित हुने थपलियाले बताएका छन् । उनका अनुसार मनाङको नार र फु क्षेत्रमा शबहरु देखिएपनि प्रतिकुल मौषमको कारण उद्धार गर्न सकिएको छैन ।
अहिलेसम्म हराएका र मृत्यु भएकाको एकिन तथ्याङ्क आउन नसकेको र शनिवार वा आईतवार सम्ममा खोजी तथा उद्धारको काम सकेर एकिन बिबरण सार्बजनिक हुने उनले बताए । प्रभाबित र संभाबित क्षेत्रमा शुक्रवार पनि दिनभर नेपाली सेना, शसस्त्र प्रहरी, नेपाली सेना तथा पर्बतारोहण संग सम्बन्धित संघसंस्थाका प्रतिनिधि खोजी र उद्धारमा खटिएका थिए ।
यसैबिच अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले प्रभाबित क्षेत्रमा तत्कालको लागि जान रोक लगाएको छ । अकस्मातको हिमपातले ठुलो मानविय क्षति भएपछि अन्नपूर्ण क्षेत्रमा जादा लिनुपर्ने प्रबेश अनुमति पदयात्री सुचना ब्यबस्थापन प्रणाली टिम्स कार्ड बितरण समेत बन्द गरिएको छ । पुरै अन्नपूर्ण पदयात्रा क्षेत्रमा प्रतिबन्ध नलगाईएको र प्रभाबित क्षेत्रमा जान भने तत्कालको लागि रोक लगाईएको एक्यापले जनाएको छ ।

