कसले भन्छ कुकुरको काम पनि छैन, फुर्सद पनि छैन !

367
0
Share:

प्रहरीलाई यसरी सघाइरहेको छ कुकुरले

कसैलाई तुच्छ गाली गर्नुपर्यो भने धेरैले भन्दैछन्–तँलाई कुकुर १ कुकुर भनेको तुच्छ, काम नलाग्ने जनावर हो भन्ने ढंगले यसरी गाली गर्ने गरिन्छ । अझ कुकुरलाई हेलाँ गर्ने खालका बिभिन्न उखान टुक्का पनि छन् ।

जस्तैः कुकुरको काम पनि छैन, फुर्सद पनि छैन । कुकुरलाई घिउ नपचेको । कुकुरलाई सुनकै थालमा भात खान दिएपनि त्यसलाई घोप्ट्याएर भुईंमै खान्छ । कुकुरले आगो ल्याओस् न फुकोस् । कुकुरले कपास छरोस् न धोती लाओस् । कुकुरले टोके पनि खराब, चाटे पनि खराब । कुकुरले दाईं हुने भए गोरु केलाई चाहियो ?

तर अर्को उखान पनि छ, कुकुरको पनि दिन आउँछ । त्यसैले हरेक वर्ष कुकुरको दिन आउँछ । भुस्याहा कुकुरले पनि तिहारमा माला लाउन पाउँछ । तर केही अवगुण भएपनि कुकुर मान्छेका लागि निकै काम दिने र बफादार प्राणी हो । घरको रेखदेख, साथ सहयोगदेखि धेरै काममा कुकुरको सहायता लिइन्छ । अझ प्रहरी अनुसन्धानमा त कुकुरले निकै सहयोग पुर्याउँदै आएको छ । प्रहरीले सितिमिति पत्ता लगाउन नसकेको अपराधी कुकुरले फेला पारिदिन्छ ।

कुकुरको प्रयोगबाट प्रहरीले सफलता पाएका केही घटना:

10760385_1183893241997468051_n

प्रहरीले कुकुरको माध्यमबाट ठूलाठूला आपराधिक घटनाको सफलतापूर्वक अध्ययन गर्दै आएको छ । प्रहरीका अनुसार कुकुरको प्रयोगबाट प्रहरीले सफलता पाएका केही घटना यस्ता छन्।
८ २०४० सालमा दोलखा चरिकोटको मकैबारीमा आफ्नै काकाकाकी र बहिनीलाई सुतिरहेको अवस्थामा खुकुरी प्रहारबाट हत्या गरी फरार अभियुक्त शोभा श्रेष्ठलाई कुकुरद्वारा पक्राउ ।
८ २०५३ फागुनमा काठमाडौंको बुढानिलकण्ठमा एक ६० वर्षिया बृद्धालाई घाँटी थिचेर हत्या गरी फरार भएका अभियुक्तलाई कुकुरद्वारा पक्राउ ।
८ २०५४ साल असारमा सिन्धुपाल्चोक घुस्कन १ का अजोध्या तिमिल्सिना सहित ३ जनालाई सुतिरहेको अवस्थामा खुकुरीले घाँटी रेटी हत्या गरेको मुद्दामा कुकुरले संकेत गरेको व्यक्तिले अपराध स्वीकार गरेको ।
८ २०६४ मंसिरमा अमेरिकाका भूतपूर्व राष्ट्रपति जिमी कार्टरको सवारी चलाउने कार्गेड गाडीमा कुकुरद्वारा स्नेफिङ्ग गराउँदा हतियार फेला परेको ।
८ २०६४ अशोजमा माओवादी कार्यकर्ताको अपहरमा परी हत्या गरिएका पत्रकार बीरेन्द्र शाहको शव बाराको डुमरवाना ७ टागिया बस्तीको पूर्वी जंगजमा छ भन्ने शंकाको आधारमा उक्त स्थानमा कुकुरद्वारा खोजी कार्य गराउँदा पत्रकार शाहलाई हत्या गरि शव गाडिएको स्थानलाई २०६४ कात्तिक २३ गते कुकुरद्वारा पत्ता लगाइएको ।
८ २०६२ पुसमा पोखरा रंगशालाको गेटमा विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी जमिन मुनी लुकाई बिष्फोट गराउन विद्युत्तीय तारको माध्यमद्वारा तयारी हालतमा राखिएको झण्डै २० केजी विष्फोटक पदार्थ लुकाएको स्थानलाई कुकुरले पहिचान गरी ठूलो मानवीय क्षति हुनबाट बचाएको ।
८ २०६५ पुसमा काठमाडौं ठमेलस्थित भिया होटल, बिन्दाबासिनी गेष्ट हाउस, सुप्रिम गेष्ट आउस र होटल पटलामा कुकुरद्वारा खोजी गराउँदा केही परिमाणमा लागुऔषध फेला परेको ।
८ २०५८ पुसमा सुनसरी पाँचकन्या गाविस ३ का पृथ्वीबहादुर थापा र जसबहादुर राईको हत्यामा संलग्न फरार अभियुक्तलाई कुकुरद्वारा पक्राउ ।
नेपाल प्रहरीका अनुसार २०६४ मंसिर महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने यात्रुको सुरक्षा तथा गैरकानुनी मालसामान ओसारपसार कार्यलाई निरुत्साहित तथा नियन्त्रण गर्नको लागि २४ सै घण्टा कुकुरसेवा उपलव्ध गराईको छ।

प्रहरीमा कुकुरको साथ

नेपाल प्रहरीमा कुकुर सेवा विक्रम संवत २०२६ सालदेखि शुरु भएको हो । त्यसबेला केही प्रहरी अधिकृतहरुलाई मलेसियामा कुकुर तालिमको लागि पठाई त्यहीँबाटै ४ वटा तालिमप्राप्त कुकुर ल्याई कुकुर सेवाको थालनी गरिएको छ ।

प्रहरीका अनुसार विक्रम संवत २०४७ सालपछि केन्द्रीय कुकुर तालिम स्कूल र पाँचै विकास क्षेत्रमा क्षेत्रीय कुकुर शाखाको स्थापना गरिएको छ । अहिले प्रहरीसँग अनुसन्धानको लागि चार दर्जनभन्दा धेरै कुकुर छन् ।

केन्द्रीय प्रहरी कुकुर तालिम स्कूलमा ४१, पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा पोखरामा ५ र पूर्व क्षेत्रीय प्रहरी कार्यालय कुकुर शाखा धरानमा ४ वटा कुकुर रहेका प्रहरीले जनाएको छ । कुकुर तालिम स्कूलमा असल जातका कुकुर उत्पादन तथा उत्पादित कुकुरलाई आवश्यक तालिम दिने काम गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: